• १५ पुस २०८१, सोमबार

बसपार्क निर्माण अलपत्र

सार्वजनिक जग्गा व्यापारीको कब्जामा

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, असोज १ गते । सल्यानको शारदा नगरपालिका–१, श्रीनगर बजारमा अत्याधुनिक सुविधासहितको बसपार्क बनाउने २०७६ सालदेखिको योजनाले अझै मूर्त रूप पाउन सकेको छैन। शारदा नगरपालिकाले सुविधासम्पन्न बसपार्क बनाउने योजना अघि सारेको थियो। सल्यानको मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित श्रीनगर बजारमा व्यवस्थित बसपार्क बनाउने शारदा नगरपालिकाको योजना कार्यान्वयन हुन नसकी योजनामै सीमित भएको छ। यसबाट जनघनत्व र सवारीसाधनको चाप बढ्दै गए पनि बसपार्क नहुँदा अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम बढाएको जनगुनासो छ। पालिकाले बसपार्कका लागि ५९ करोड रुपियाँको डीपीआर पनि बनाइयो। बसपार्क निर्माणका लागि केही बजेटसमेत विनियोजन गरिएको छ। तर, दुई वर्ष बितिसक्दासमेत नगरपालिकाले व्यवस्थित बसपार्क बनाउन सकेको छैन।

व्यवस्थित बसपार्क नहुँदा बजारको सौन्दर्य हराउँदै गएको स्थानीय मोहन नेपालीले बताउनुभयो। उहाँका अनुसार सार्वजनिक जग्गामा रहेको बसपार्कमा जथाभावी घरटहरा पनि निर्माण भइरहेको देखिएको छ। सार्वजनिक जग्गामा रहेको बसपार्क अव्यवस्थित छ। बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा मनपरी बस्ती पनि विस्तार भइरहेको देखिएको छ। नगरपालिकाले बसपार्क क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गर्दै १५ दिनभित्र त्यस क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएका सबै संरचना हटाउन सूचना जारी गरेको थियो। उक्त सूचनामा संरचना हटाउन अटेर गरेको पाइएमा नगरपालिका आफैँले आफ्नै स्रोतसाधनको प्रयोग गरेर सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउने गरी सूचना निकालेको थियो।

बसपार्क आसपासको क्षेत्रमा करिब ८७ रोपनी जग्गा सार्वजनिक रहेको छ। तर, नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण रोकेर व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्न पहल थालेको लामो समय भइसक्दासमेत कामले पूर्णता पाउन सकेको छैन। नगरपालिकाले व्यवस्थित बसपार्क निर्माण गर्ने भनेर आश्वासन मात्रै बाँडेको र काम गर्न नसकेको स्थानीयको गुनासो छ। स्थानीय व्यापारी पुष्कर बस्नेतले सार्वजनिक जग्गा मिचेर घर बनाउने काम भइरहेको बताउनुभयो। 

उद्योग वाणिज्य सङ्घ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले स्थानीय सरकारले पहल नलिँदा बसपार्क निर्माण कार्य अहिलेसम्म अगाडि नबढेको बताउनुभयो। बसपार्क व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको बताउँदै सार्वजनिक जग्गामा जथाभावी घरटहरा बनाउने काम तीव्र भएको उहाँको भनाइ छ। शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले यसअघिको कार्यपालिका बैठकले बसपार्क बनाउने निर्णय गरेको भए तापनि कार्यान्वयनमा नआएको बताउनुभयो। उहाँले श्रीनगरमा बसपार्क बनाउन सङ्घीय र प्रदेश सरकारसंँग आवश्यक प्रक्रिया र छलफल भइरहेको उल्लेख गर्नुभयो।