• १३ साउन २०८१, आइतबार

श्रेष्ठ र आचार्य सम्मानित

blog

शिवा तामाङ

काठमाडौँ, असोज १ गते । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम ९४.६ को २३औँ स्थापना दिवसका अवसरमा उहाँहरूलाई जनही ५० हजार रुपियाँसहित सम्मान गरिएको हो । 

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहले सञ्चालन गरेको दक्षिण एसियाकै पहिलो रेडियो स्टेसन मेट्रो एफएमले नागरिकको सूसुचित हुन पाउने अधिकारको प्रत्याभूति दिलाएको बताउनुभयो । उहाँले विगत लामो समयदेखि अभिनय तथा लेखनको माध्यमबाट नेपालको राजनीतिक, सामाजिक मुद्दालाई नै सकारात्मक प्रभाव पार्न सफल नेपालीले अत्यन्त रुचाएका व्यक्तित्वहरू श्रेष्ठ र आचार्यलाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो ।

महानगरका उपप्रमुख सुनिता डङ्गोलले करिब दुई दशकदेखि सञ्चालित मेट्रो एफएमलाई समय सान्दर्भिक ढङ्गले परिवर्तन गर्दै महानगरवासीसहित अन्य नागरिकलाई सुसूचित गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो । 

सम्मानित व्यक्तित्व कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँ महानगरपालिकामा विधिको शासन स्थापित हुनुपर्ने विचार व्यक्त गर्दै महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले चालेका कदमले निरन्तरता पाओस्, व्यक्तिको शासनबाट देशले नै मुक्ति पाओस् भन्ने शुभकामना दिनुभयो । उहाँले सांस्कृतिक कार्यक्रमका क्रममा भ्रमण गरिएका थुप्रै विदेशी राष्ट्रको सुशासनको पद्धति आफ्नो देशमा पनि लागू भए कति जाति हुन्थ्यो भन्ने चाहनाले अबका दिनमा नयाँ जोश, जाँगरयुक्त जनप्रतिनिधिले पूरा गर्छन् भन्ने आशा पलाएको पनि बताउनुभयो ।

सोही अवसरमा कलाकार हरिवंश आचार्यले महजोडीको समूहले ३५ वर्षपहिले राजधानीको समस्यालाई उठान गरेर ‘कान्तिपुर’ टेलिचलचित्र बनाएको स्मरण गर्नुभयो । उहाँले उक्त टेलिचलचित्र बन्दा काठमाडौँमा खानेपानी र फोहोर व्यवस्थापनको समस्या अत्यन्त ठूलो थियो, अहिले पनि समस्या यथावत् रहनु नेपालीका लागि विडम्बनाको कुरा हो भन्दै राम्रो व्यवस्थाका लागि दलगत स्वार्थभन्दा माथि उठौँ भन्ने आह्वान गर्नुभएको थियो ।