• ११ असोज २०८१, शुक्रबार

ढिस्काका कारण आवागमनमा बाधा

blog

नवराज कट्टेल

विराटनगर, असोज १ गते । सडकमा सवारी आवागमन अवरोध भए त्यसलाई हटाएर खुला पारिन्छ। फुटपाथ खाली गराएर पैदल यात्रुका लागि बाटो बनाइन्छ। खुला र चिल्ला सडकले सहरको सुन्दरतालाई झल्काउँछ। सवारी र यात्रुको ओहोरदोहोर सहज हुँदा सडककै कारण पनि सहर शान्त हुन्छ। 

तर विराटनगर बजारको अति व्यस्त क्षेत्र महेन्द्र चोक–ट्राफिक चोकबीचको १४० मिटर दुरीको हिमालय रोड अहिले सबैभन्दा अस्तव्यस्त बनेको छ। महानगरपालिकाले सौन्दर्यीकरणको नाममा सडकमै ढिस्का बनाएको छ। सहर सौन्दर्यीकरणको नाममा ११.६ मिटर चौडाइको सडकबीच भागमा सिमेन्टका ढिस्का बनाइएको हो। जसले दैनिक पाँच हजार सवारी आवागमन प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजेन्द्र कार्की बताउनुहुन्छ। 

महानगरपालिकासँग एक करोड ८३ हजारमा ठेक्का सम्झौता भएर २०७८ मङ्सिर ३ गतेदेखि कला बिल्डर्सले महेन्द्र चोक–ट्राफिक चोकको १४० मिटर दुरीको सौन्दर्यीकरण थालेको थियो। निर्माणको अवधि यही असोज १३ गते सकिँदैछ। एक करोड ६१ लाख लागत अनुमान गरिएको सडकमा ठेकेदारले ३७.५३ प्रतिशत न्यून कबोलमा सम्झौता गरेका थिए। अहिले यसको लागत एक करोड २० लाख पुगेको महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठले जानकारी दिनुभयो। सडकको लागत बढ्नुमा गुरुयोजना निर्माण गर्दा ६० एमएमको ब्लक राख्ने उल्लेख थियो। सवारीलाई पूर्ण निषेध गर्ने लक्ष्य राखिएको थियो तर स्थानीय व्यापारीको विरोधपछि एकतर्फी सवारी खोल्ने सहमतिअनुसार ब्लकको साइज ८० एमएमको पु-याइएको इन्जिनियर श्रेष्ठको दाबी छ। ठेक्का सम्झौताअनुसारको लागत बढ्दैछ तर सडक भत्कँदै पनि गएको छ। ठेकेदार कम्पनीले हस्तान्तरण गर्नु अगाडि सडकका ब्लक निकालेर पुनः लगाइरहेको छ। बर्सातमा पानीको निकास नहुँदा स्थानीय व्यापारीको पसलमा छिरेको पीडा सहनु परेको छ। टालटुलमा बजेट सकिएको देख्दा दिक्क मान्नुबाहेक विकल्प नभएको व्यापारी सन्तोष दाहाल बताउनुहुन्छ। 

त्यति मात्रै नभई निर्माण प्रयोजन खुल्न नसक्दा स्थानीय व्यवसायी, ट्राफिक प्रहरी, सर्वसाधारणदेखि सुरक्षा संयन्त्रले समेत यसले बाधा सिर्जना गरेको भन्दै आलोचना सुरु गरेका छन्। स्टेसनरी, कपडा, हार्डवेयर, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, बैङ्क तथा वित्तीय संस्था, सैलुन तथा होटल गरेर दुई सय व्यवसाय सडककै कारण प्रभावित बनेका छन्। निर्माणको सुरुवाती चरणमै स्थानीय व्यापारीले विरोध जनाए पनि स्थानीय सरकार महानगरपालिकाले उनीहरूको आवाज सुनेन। जसको परिणाम सहरको मुख्य भाग एक वर्ष नपुग्दै अस्तव्यस्त भएको गुनासो बढ्न थालेको हो। मैनाली पुस्तक पसलका सञ्चालक राकेश मैनालीले मुख्य केन्द्र भागको सडक दाँया र बाँयाका दुई सय व्यवसायी अहिले सामान ल्याएर पसलमा राख्ने अवस्था नहुँदा विस्थापित हुनुपर्ने स्थिति आएको गुनासो गर्नुभयो। 

दैनिक तीन हजार सवारीलाई वारपारका लागि ‘बाईपास’ व्यवस्थापन गर्नुपर्ने बाध्यता ट्राफिक प्रहरीलाई छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कार्कीका अनुसार अहिले सडकको एकातर्फी भागबाट ‘वान वे’ मार्फत दुई हजार साना सवारी वारपार गर्ने सुविधा दिइएको छ। चारचक्के मध्यम तथा ठूला सवारीका लागि यो सडक सदाका लागि बन्द भएको छ। निर्माण सम्पन्न भएसँगै कुनै पनि सवारीको आवागमन र पार्किङ गर्ने अवस्था सकिन्छ। 

सडकमा चार सेक्सन छुट्याएर संरचना तयार पार्ने गुरुयोजनामा उल्लेख छ। जसमध्ये ‘ए’सेक्सन खुला, ‘बी’ हरियाली पार्क, ‘सी’ फाउन्टेन पार्क र ‘डी’ पार्किङ क्षेत्र बन्नेछ। निर्माण सम्पन्न हुनुपर्ने अवधी १३ दिनमात्रै बाँकी रहँदा गुरुयोजनामा उल्लेख गरेअनुसार सडकको स्वरुप नदेखिएको कैलास ट्रेडिङका सञ्चालक बताउनुहुन्छ। 

महानगरपालिकाले हिमालय रोडको सौन्दर्यीकरण गर्ने निर्णय आर्थिक वर्ष २०७५/२०७६ मा गरेको थियो। त्यसका लागि २०७८ असारमा डीपीआर तयार गरेर भदौ २४ गते निर्माण सम्झौता भएको थियो। अहिले स्थानीयले काठमाडौँ महानगरपालिकाले सडक मिचेर बनाइएका संरचना भत्काइरहेकोले विराटनगर महानगरपालिकाले पनि सडकमै बनाएको संरचना भत्काउने साहस गर्नुपर्ने माग गरिरहेका छन्। तत्कालीन जनप्रतिनिधिको अदूरदर्शितालाई बहालवाला प्रमुखले हिम्मत गरेर उल्ट्याउनुपर्ने सुझाव सुरक्षा संयन्त्रको समेत छ। व्यस्त बजारको सडकमा खडा गरिएको अवरोधले सुरक्षामा समेत बाधा पु¥याउने देखिएको चर्चा सुरु भएको छ।