• १३ साउन २०८१, आइतबार

क्याट–वाकको लयमा आहारा खोज्दै जल अप्सरा (फोटो फिचर)

blog

कपिलवस्तुको जगदीशपुर पंछी आरक्षमा देखिएको जलअप्सरा चरा, तस्बिर – जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भाद्र २९ गते । चिरिच्याट्ट परेको जिउ डाल । लामो पुच्छर जस्तो देखिने प्वाँख । कमलको पातमाथि क्याट–वाक गर्दै हिँडेका अप्सरा जस्तै देखिने अति सुन्दर चरा । ‘जल अप्सरा (पिजन्ट टेल्ड ज्याकाना)’ लाई देखेपछि जो सुकैलाई पनि मोहित बनाउँछ । अहिले प्रजनन्को समय भएकाले प्रकृतिले अझ सिँगारिएको हुन्छ ।


खुलेको मौसम, र प्रशस्त पानीले भरिएको जगदीशपुर जलाशयमा यति बेला मानिसको चहलपहल न्यून छ । जसले गर्दा जलाशयको छेउछाउमा जल अप्सरा आहारा खोज्दै गरेको दृश्य देख्न सकिन्छ ।


मोडेलले क्याटवाक हिँडे जस्तो लचकदार हिँडाई । मसिनो खुट्टा, लामा औँलाको सहाराले सुस्त हिँड्दै चारो खोज्दै गरेका जलअप्सरा कमलको फूल भएको क्षेत्रमा देख्न सकिन्छ ।

जल अप्सरालाई ‘फुल पार्ने पोथी, ओथारो बस्ने भाले’ को नामले समेत चिनिन्छ । आकारमा पोथी भन्दा भाले केही सानो हुन्छ । यो चरा पोथी प्रदान चराको नामले समेत चिनिन्छ । अण्डा पारेपछि पोथी चरा अर्को भालेको खोजीमा जाने गर्दछ ।


भाले ओथारो बस्ने र चल्ला हुर्काउने काममा खट्ने गर्दछ । एउटा पोथीले एक वर्षमा करिब १० ओटा भालेसँग संसर्ग गर्ने चरा अनुसन्धानकर्ता सन्तोष बजगाईँले बताउनुभयो । 


जलअप्सरा एक आकर्षक सिम कुखुरा प्रजातिको चरा हो । यो प्रजनन्को समयमा अझ सुन्दर देखिन्छ । प्रजनन्को समयमा यो चराको पुच्छरमा तीन चार वटा लामा पुच्छर जस्ता प्वाँख थपिन्छन् । थपिएका प्वाँखको लम्बाई डेढ फुटसम्म हुन्छ । यो चरा ३१ सेमी लामो हुन्छ । 


लामो पुच्छर जस्तो प्वाँख सेतो कालो रङको शरीर र सुनौलो रङ्को गर्दनले यसलाई अझ मनमोहक बनाउँछ । पोथीले चार वटासम्म फुल पार्ने गर्दछ । २५ देखि २८ दिन भित्र अण्डा कोरल्ने गर्दछ ।


प्रजनन्को समयपछि लामा प्वाँख हराउने गर्दछ । यो चरा हेर्नका लागि जगदीशपुर पंछी आरक्षमा आउनु पर्ने गोरुसिङ्गे सव–डिभिजन वन कार्यालयका प्रमुख वसन्त थापा बताउनुहुन्छ ।