बाबुराम देवकोटा
सिन्धुलीमाढी, मङ्सिर ४ गते । सिन्धुली जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीब्र रुपमा हुँदैछ ।
निर्वाचनको तयारी स्वरुप मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य, नामावली अध्यावद्यिक कार्यसँगै सुरक्षाको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले मतदानस्थलाई तीन भागमा वर्गिकरण गरी निर्वाचन आयोग समक्ष सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त निर्वाचनका लागि १५१ वटा मतदानस्थल र २६७ वटा मतदान केन्द्र प्रस्ताव गरि केन्द्र समक्ष सिफारिस गरिएको छ । जिल्लाभरिका मतदान स्थललाई सुरक्षाका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गिकरण गरिएको छ । जस अनुसार अति संवेदनशील २५ वटा, संवेदनशिल ६५ वटा र सामान्य ६१ वटा मतदानस्थल सूचीमा छन् ।
यसअघि २०७९ साल मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पनि सिन्धुली जिल्लामा कुल १५१ मतदानस्थल कायम गरिएको थियो । ती मध्ये २५ वटालाई अति संवेदनशिल, ६४ वटालाई संवेदनशिल र ६२ वटा सामान्य सूचीमा मतदानस्थल रहेका थिए ।
"अहिले कुल मतदानस्थल त्यसैलाई कायम गरि निर्णय गरेर पठाएका छौं," प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, "त्यसमा हेरफेर र थपघट गर्नु पर्ने भए पालिकाहरुलाई जानकारी गराउदा पहिलाको जे छ, त्यही ठिक छ भन्ने राय आएको छ ।"
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा नौ वटा स्थानीय तहमा ७९ वटा वडा छन् । सिन्धुली जिल्लामा २०७९ साल मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख आठ हजार ३६९ मतदाता रहेका थिए ।
आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार सिन्धुली जिल्लामा हाल दुई लाख आठ हजार ४१५ जना मतदाता कायम भएका छन् । यही मङ्सिर ५ गतेसम्म नयाँ मतदाता नामावली सङ्कलनको काम भइरहेकाले केही मतदाता बढ्ने कार्यालय प्रमुख ईश्वरनाथ मिश्रले बताउनुभयो । उहाँका अनुसार हाल दुई हजारभन्दा बढी नया मतदाता थपिएका छन्।