पटना, मङ्सिर ४ गते । जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।
सन् २०२० मा प्रधानमन्त्रीले शपथ समारोहमा भाग लिन नसके पनि यस पटक उहाँको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो । शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । यहाँ नितिश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गर्नु भएको थियो ।
यही स्थान सन् १९७४ मा जयप्रकाश नारायणले ‘पूर्ण क्रान्ति’ को आह्वान गरेको ऐतिहासिक पृष्ठभूमिका कारणले पनि प्रख्यात मानिन्छ । कार्यक्रममा एनडिए नेतृत्व गरेका विभिन्न राज्यका मुख्यमन्त्रीको उल्लेख्य उपस्थिति थियो । हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, असमका हिमन्त बिस्वा सरमा, नागाल्यान्डका नेफियू रियो, आन्ध्रप्रदेशका एन. चन्द्रबाबु नायडू, उत्तर प्रदेशका योगी आदित्यनाथ र उत्तराखण्डका पुष्कर सिंह धामीलगायत प्रतिष्ठित व्यक्ति सहभागी हुनुहुन्थ्यो ।
विहारका राज्यपाल आरिफ मोहम्मद खान, एलजेपी (राम विलास)का नेता चिराग पासवानलगायतका प्रमुख व्यक्तित्व पनि समारोहमा उपस्थित हुनुहुन्थ्यो । बुधबार पटनास्थित आधिकारिक निवासमा आयोजित नयाँ विधायकको बैठकमा जेडियू विधायक दलले सर्वसम्मतिले नितिश कुमारलाई पहिलो पटक आफ्नो दलको नेताका रूपमा चुनेको थियो । यसपछि एनडिए विधायक दलले पनि आज उहाँलाई सर्वसम्मतिले नेता चयन गर्दै नयाँ सरकार गठनको बाटो खुला गरेको हो ।
भारतीय जनता पार्टी (भाजपा)को प्रदेश मुख्यालयमा बसेको बैठकमा सम्राट चौधरी र विजयकुमार सिन्हालाई क्रमशः भाजपाको विधायक दलको नेता तथा उपनेता चयन गरिएको थियो । बिहारमा विधायक दलको नेतृत्व चयनका लागि केन्द्रीय पर्यवेक्षकका रूपमा आएका उत्तर प्रदेशका उप-मुख्यमन्त्री केशवप्रसाद मौर्यले दुवै नाम प्रस्ताव गर्नु भएको थियो, जसलाई बाँकी सांसद तथा विधायकले समर्थन जनाएका थिए ।
सन् २०२५ को बिहार विधानसभा चुनाव नितिश कुमारका लागि ‘लिटमस टेस्ट’ मानिएको थियो । विगत दुई दशकदेखि उहाँले राज्यको राजनीतिलाई आफ्नो नेतृत्वमा स्थिरता र निरन्तरतासहित अघि बढाउँदै आएको तथ्यलाई मतदाताले फेरि पुष्टि गरेका छन् । ७४ वर्षीय नितिश कुमार २०१४-१५ बिच नौ महिनाको छोटो अवकाश बाहेक सन् २००५ नोभेम्बरदेखि लगातार मुख्यमन्त्री पदमा रहँदै आउनु भएको छ । रासस/एएनआई