• ७ जेठ २०८१, सोमबार

अध्यक्ष ली चार दिने औपचारिक भ्रमणका लागि काठमाडौंमा

blog

सभामुख सापकोटामा विमानस्थलमा अध्यक्ष लीलाई स्वागत गर्नुहुँदै, तस्विर– सुजन गुरुङ

काठमाडौं, भदौ २७ गते । छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आइपुग्नुभएकाे छ। 

उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले अन्तर्राष्ट्रिय विमानस्थलकाे विशिष्ट कक्षमा स्वागत गर्नुभएकाे छ । सभामुख सापकाेटाकाे मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउन भएको हो । उहाँ भदौ २९ गतेसम्म नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत नेपाल उनुभएकाे हाे । सोमबार नै सभामुख सापकोटा र लीकाबीच दुई पक्षीय वार्ता हुने कार्यसूची छ ।


वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्याय प्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पु–याउन सक्ने सम्भावित सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ ।

सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्नुहुने भएको छ । 

राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

भ्रमणको दोस्रो दिन मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष शिष्टाचार भेट गर्नुहुने कार्यसूचीमा उल्लेख छ । सोही दिन उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि छुट्टै भेट गर्नुहुनेछ । 



बुधबार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग  राष्टपतिभवनमा पुगेर शिष्टाचार भेट गर्नुहुने कार्यसूची छ ।  त्यस्तै, अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । 

नेपालमा रहनुहुँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदा भएका सहमतिअनुसार अघि बढेका कार्यक्रमको प्रगतिको अनुभव आदानप्रदान गर्नुका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई परियोजना तथा अन्य विकास साझेदारीलाई नयाँ ढङ्गले अघि बढाउनका लागि नयाँ पहल र छलफलका विषय नेपाली पक्षसँग राख्नुहुने जनाइएको छ ।