• १३ साउन २०८१, आइतबार

प्रदेशबाट अमरेशको नाम सिफारिस

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ २६ गते । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले सर्लाहीको क्षेत्र नं. ४ बाट वर्तमान सांसद डा. अमरेशकुमार सिंहको नाम सिफारिस गरेको छ। 

कांग्रेसको क्षेत्रीय कार्य समितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो। जिल्ला कार्य समितिले पनि क्षेत्रीय कार्य समितिले सिफारिस गरेको नामलाई नै प्रदेश कार्य समितिमा सिफारिस गरेर पठाएको थियो। प्रदेश कार्य समितिले भने सांसद सिंहको नामसमेत सिफारिस गरी पठाएको हो। सिंहले आफू उम्मेदवारको आकाङ्क्षी हुँदाहुँदै क्षेत्रीय कार्य समितिले आफूलाई निषेध गरी नाम नै सिफारिस नगरेको भन्दै प्रदेश समितिमा निवेदन दिनुभएको थियो । कांग्रेस मधेश प्रदेश कार्य समितिका सदस्य एवं प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले प्रदेश कार्य समितिले डा. सिंहको नाम सिफारिस गरेको पुष्टि गर्नुभयो। डा. सिंह २०७० र २०७४ मा लगातार दुई पटक सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित हुनुभएको थियो। यो पटक भने सिंह आकाङ्क्षी रहँदारहँदै संस्थापन समूहको पकड रहेको क्षेत्रीय र जिल्ला कार्य समितिले नेता शेखर कोइराला निकटका सिंहको नाम नै सिफारिस गरेन। सिंहले लगत्तै प्रदेश कार्य समितिमा पुगेर निवेदन दिएपछि जनकपुरधाममा बिहीबार बसेको प्रदेश कार्य समितिको बैठकले उहाँको नाम पनि सिफारिस गरेर पठाएको हो।