• १३ साउन २०८१, आइतबार

भवन भएपछि पठनपाठनमा सहज

blog

जलेश्वर समाचारदाता 

जलेश्वर, भदौ २६ गते । विद्यालय भवन निर्माण सम्पन्न भएपछि श्रीराम माध्यमिक विद्यालय मटिहानीमा पठनपाठनमा सहज भएको छ।  दिनानुदिन सो विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै गएपछि कक्षा सञ्चालनका लागि भवन अभाव हुन थालेको थियो। भर्खरै राष्ट्रपति शिक्षा सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माण भएपछि कक्षा सञ्चालनमा सहज भएको विद्यालयका प्रधानाध्यापक अजय पाण्डेयले बताउनुभएको छ। 

“वि.स. २००९ मा स्थापना भएको यो विद्यालयमा हाल एक हजार ८५० छात्रछात्राहरू अध्ययनरत छन्।” प्रधानाध्यापक पाण्डेयले भन्नुभयो, “विद्यार्थी सङ्ख्या बढेसँगै कक्षा सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो। अब भने पठनपाठनमा सहज भएको छ।”

राष्ट्रपति शिक्षा सुधार कार्यक्रमअन्तर्गत प्राप्त भएको ४६ लाखको लागतमा चार कोठे भवन निर्माण भएको भवन निर्माण कार्यका प्राविधिक इन्जिनियर विमलेश साहले बताउनुभएको छ। 

उक्त भवनको शुक्रबार मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ। 

यसैगरी नगरप्रमुख मण्डलले श्रीराम मावि मटिहानी परिसरमै रहेको शहीद केशव कोइरालाको स्मृतिमा निर्माण गरिएको सभा कक्षको पनि शुक्रबार नै उद्घाटन गर्नुभएको छ। उक्त भवन मटिहानी नगरपालिकाको ३७ लाखको लागतमा निर्माण गरिएको जनाइएको छ। सभा कक्षको निर्माणले विद्यालयमा हुने औपचारिक कार्यक्रमलगायत अन्य काममा सहयोग पुग्ने जनाइएको छ। कोइराला वि.सं २०३१ मा मटिहानीमा शहीद हुनुभएको थियो।