• १२ असार २०८१, बुधबार

बजार अनुगमनलाई तीव्रता दिइने

blog

–फाइल फाेटाे

काठमाडौं, भदौ २५ गते ।  दशैं, तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै सरकारले बजार अनुगमनलाई तीव्रता दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी, महँगी तथा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार हुन सक्ने भएकाले अनुगमलाई तीव्रता दिने जनाएको छ ।

विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार बजारमा हुन सक्ने महँगी, खाद्य वस्तुको गुणस्तर तथा म्याद गुज्रेका वस्तुको व्यापार हुन नदिई उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई तीव्रता दिइनेछ । उहाँले भन्नुभयो, ‘चाडपर्वको अवसरमा व्यापारीहरूले कमसल तथा म्याद गुज्रिएको खाद्य पदार्थ बेच्न सक्ने सम्भावना रहन्छ । त्यसकारण अहिले भइरहेको अनुगमन टोलीलाई बढाएर अनुगमनलाई तीव्रता दिन्छौँ।’ विभागले आगामी साताबाट अहिले भइरहेको दैनिक अनुगमनको टोलीलाई बढाएर बजार अनुगमन गर्ने योजना बनाएको छ ।

विभागले अहिले पनि देशैभर दैनिक रूपमा अनुगमनलाई अघि बढाइरहेको छ । भट्टराईका अनुसार अहिले काठमाडौं उपत्यका बाहिर विभागका पाँच वटा कार्यालयले दैनिक बजार अनुगमन गरिरहेका छन् । धनगढी , नेपालगन्ज, भैरहवा, वीरगन्ज र विराटनगरमा रहेका विभागका कार्यालयबाट बजार अनुगमन दैनिकरुपमा भइरहेको उहाँको भनाइ छ । अनुगमनका क्रममा कुनै त्रुटि भेटिए तत्काल त्यहीँ आर्थिक जरिवाना गरिने उहाँको भनाइ छ ।

‘बजार अनुगमनका क्रममा कुनै अखाद्य वस्तुको प्रयोग, म्याद गुज्रिएका खाद्य वस्तुको विक्री वितरण भएको भेटिए निर्देशिका बमोजिम तत्काल आर्थिक कारबाही गर्ने छौ’ उहाँले भन्नुभयो , ‘पटकपटक यस्तो भेटिए फर्म नै सिल गर्ने पनि गरिएको छ ।’ अहिले पनि दशैं, तिहार नजिकिएसँगै यस्ता गतिविधि हुनसक्ने भएकाले अनुगमनको पाटोलाई चुस्त बनाइने उहाँ बताउनुहुन्छ ।

देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुगमनलाई चुस्त बनाउन आग्रह गरिएको पनि उहाँले बताउनुभयो । यस्तै, ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहहरूलाई पनि बजार अनुगमन गर्ने अधिकार रहेकाले तहहरूको समन्वयमा पनि अनुगमन गरिने उहाँ बताउनुहुन्छ । गत आवमा एक करोड ८१ लाख ९६ हजार जरिवाना गत आव २०७८/७९ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत खाद्य पदार्थ विक्री वितरण गरेको भेटिएबापत विभिन्न फर्महरूबाट एक करोड ८१ लाख९६ हजार राजस्व सङ्कलन भएको छ ।

विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार देशभर तीन हजार १४७ वटा फर्म अनुगमनका क्रममा एक हजार ३३१ वटा फर्महरू कारबाहीमा परेका हुन् । यी फर्मबाट नै एक करोड ८१ लाख ९६ हजार जरिवाना सङ्कलन भएको भट्टराई बताउनुहुन्छ । आगामी हप्ताबाट उपत्यकामा चाडपर्वलक्षित बजार अनुगमन हुने आगामी हप्तादेखि उपत्यकाका तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूले चाडपर्वलक्षित बजार अनुगमन गर्ने भएका छन् ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार आगामी हप्तादेखि चाडपर्वलक्षित बजार अनुगमन थालिनेछ । उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रो नियमित अनुगमन भएकै छ । तर, दसैँको मुखमा अलि बढी गुणस्तरहीन खाद्यवस्तुको व्यापार हुनसक्ने भएकाले आगामी हप्तादेखि अनुगमनलाई अझ बढाउँछौँ ।’

यस्तै, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार जिल्लामा आगामी हप्ताबाट कार्ययोजना बनाएर बजार अनुगमन गरिनेछ । अनुगमनका क्रममा उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायतको टोलीलाई नै लिएर हिँड्ने शर्माले बताउनुभयो । यस्तै, काठमाडौँ जिल्लाले पनि आगामी हप्तादेखि बजार अनुगमनलाई तीव्रता दिनेगरी कार्य अघि बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार अहिले भएको अनुगमन टोलीलाई बढाएर अनुगमनमा खटिने योजना छ । सम्बन्धित पालिकाको समन्वयमा अनुगमन गरिने उहाँ बताउनुहुन्छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।