• १३ साउन २०८१, आइतबार

पुल बनाउन निरीक्षण

blog

पुल निर्माणका लागि गुलरियाघाटमा जग्गाको नाप लिइदैं ।

अविनाश चौधरी

धनगढी, भदौ २४ गते । कैलालीको भजनी नगरपालिका –५ गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माणका लागि निरीक्षण गरिएको छ । गुलरिया घाटमा पुल निर्माण प्रक्रिया अगाडि बढाउन सङ्घीय सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि एक टोलीले निर्माणस्थलको निरीक्षण गरेको हो । 

निरीक्षण टोलीमा प्रदेश सभा सदस्य, स्थानीय सरकारका प्रतिनिधि र डिभिजन कार्यालयका प्रमुखको सहभागिता रहेको थियो । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गुलरिया घाटमा पुल निर्माण गर्न टेण्डरका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा ४७ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको छ । तर पुल निर्माणमा करिब १५ करोड रुपियाँ बजेट आवश्यक पर्ने जनाइएको छ । 

पुल निर्माण हुने घाटको केही जमिन भारतीय भूभाग पनि पर्नेगरेकाले भारतसँग आवश्यक छलफल गरेर पुल निर्माणको टेण्डर प्रक्रिया अगाडि बढाइने प्रदेश सभा सदस्य वीरमान चौधरीले बताउनुभयो । ‘मन्त्रालय मार्फत भारतसँग आवश्यक छलफल गरेर टेन्डर प्रक्रिया अगाडि बढाइन्छ’, उहाँले भन्नुभयो, ‘यो ठाउँमा पक्की पुल अति आवश्यक भएकाले हामीले सङ्घीय सरकारसँग माग गरेका छौँ ।’ 

गुलरिया घाटमा पक्की पुल बनेमा कैलालीको पुरानो सदरमुकाम भजनी बजार फस्टाउने बुझाई स्थानीयको छ । यसैगरी नेपालीलाई पनि भारतका सीमावर्ती बजारमा किनमेलका लागि आवतजावत सहज हुनेछ ।