• १० साउन २०८२, शनिबार

पार्वतीलाई एक करोड पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १० गते । धादिङ, गङ्गाजमुना गाउँपालिका–६ की पार्वती कार्कीले एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपियाँको बम्पर नगद पुरस्कार जित्नुभएको छ ।

२०७२ को विनाशकारी भूकम्पमा आफ्ना एक महिनाका छोरा र नयाँ बनाउँदै गरेको घर गुमाउनुभएकी उहाँले त्यसपछिको आर्थिक कठिनाइमा ऋण गरेर श्रीमान्लाई वैदेशिक रोजगारीका लागि पठाउनुभएको थियो ।

अहिले उहाँका श्रीमान् बहराइनमा हुनुहुन्छ भने छोरा काठमाडौँमा प्लस टु अध्ययनरत हुनुहुन्छ ।

महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी कार्कीले गत असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा भाग लिएर उक्त पुरस्कार जित्नुभएको हो ।

उहाँले असारको तेस्रो साता ९९ रुपियाँको ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा सहभागी हुनुभएको थियो । शुक्रबार एनसेलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले उनलाई बम्पर पुरस्कार हस्तान्तरण गर्नुभयो ।

पुरस्कार ग्रहण गर्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको रकम जितेको र यसले आफू र परिवारको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्राप्त रकम श्रीमान्को बाँकी ऋण तिर्न, स्वास्थ्य उपचार गर्न, नेपालमै सानोतिनो उद्यम सुरु गर्न र छोराको शिक्षामा लगानी गर्ने योजना सुनाउनुभयो ।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार १२ हप्ताका लागि सञ्चालनमा ल्याएको योजनालाई साउन १ गते बन्द गरेको थियो । योजना अन्तर्गत कार्कीले बम्पर पुरस्कार जित्नुभएको हो भने अन्य ५० जना भाग्यशाली ग्राहकले साप्ताहिक रूपमा जनही एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

एनसेलले हालसम्म ३६ जनालाई पुरस्कार हस्तान्तरण गरिसकेको र बाँकी १५ जनालाई प्रमाणीकरणपछि पुरस्कार प्रदान गरिने जनाएको छ ।