काठमाडौँ, भदौ २३ गते । काठमाडौँ, भदौ २२ गते। हनुमानढोका दरबारअगाडि बुधबार लिङ्गो उठेपछि आधिकारिक रूपमा इन्द्रजात्रा (येँया पुन्ही ) सुरु भएको छ। आठ दिनसम्म चल्ने पर्व उपत्यकावासीको महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको योंसी (लिङ्गो) बिहान ७ बजेर १७ मिनेटमा ठड्याउने साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको हो। नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।
कुनै समय इन्द्रध्वजा स्थापनालाई राज्यको सुख समृद्धिका लागि स्थापना गरिन्थ्यो। हाल शुभ कार्यको थालनी गर्नुभन्दा पहिले योंसी (लिङ्गो) ठड्याउने प्रचलन रहेको इन्द्रजात्रा सरोकार समितिको अध्यक्ष राजन महर्जनले बताउनुभयो। उहाँले इन्द्रजात्राका अवसरमा ५०४ कुमारी पूजा गर्ने जानकारी दिनुभयो।
महर्जनका अनुसार मल्ल राजा जयप्रकाशकै पालामा लिङ्गो राख्ने प्रचलन सुरु भएको हो। यसको लिखित वा आधिकारिक अभिलेख हामीसँग छैन। इन्द्रजात्राको मुख्य आकर्षण कुमारी जात्रा हो। माथिल्लो, तल्लो र बीचका विभिन्न टोलमा कुमारी रथयात्रा गर्ने चलन छ। इन्द्रजात्रा साताव्यापी महोत्सव हो, जुन काठमाडौँको निम्ति दशैँभन्दा ठूलो चाडका रूपमा मनाइन्छ।
लिङ्गो काठमाडौँ महानगर प्रवेश
भक्तपुरको चित्तपोलबाट लिङ्गोको रुख काटेर काठमाडौँ महानगरको भोटाहिटीमा ल्याइपु-याइन्छ। ३६ हात लामो लिङ्गो कसरी ल्याइन्छ भन्ने चासो सबैलाई हुन्छ। येँया पुन्हीमा गाडिने लिङ्गो बन्दोबस्तको जिम्मा केन्द्रीय मानन्धर सङ्घलाई हुन्छ। यही सङ्घले हरेक वर्ष भक्तपुरको चित्तपोलबाट रुख काटेर ल्याउने गरेको छ।
मानन्धर गुठीका गजेन्द्र मानन्धरका अनुसार साइतमा बन्चरोको ‘चोट’ पारेपछि रुख काट्ने काम भोलिपल्ट झिसमिसेबाटै सुरु हुन्छ। येँया पुन्हीको निम्ति सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले जुराउँछ। रुख काट्ने र नगर प्रवेश गराउने साइत पनि समितिले नै तय गरेको हो। उहाँले भन्नुभयो, “पहिलो दिन नालाबाट रुख तानेर थिमिको राधेराधेसम्म ल्याउने चलन छ। त्यसपछि चौथीको दिन त्यहाँबाट तानेर काठमाडौँको भोटाहिटी ल्याइन्छ,” तर यो वर्ष क्रेनबाट नगर प्रवेश गराइएको थियो।
भोटाहिटीमा सडकछेउ एउटा मण्डल छ। वर्षभरि सवारीसाधन गुड्ने भएकाले यो मण्डल छोपेर राखिएको हुन्छ। धेरैले मण्डल छ भन्ने थाहै पाउँदैनन्। इन्द्रजात्रामा यो मण्डलको ठूलो महत्व छ। येँया पुन्ही सुरु भएसँगै मण्डलको ढक्कन खोलिन्छ मानन्धरले जानकारी दिनुभयो।
त्यसपछि अष्टमीको साइत पारेर नगर प्रवेश गराइन्छ। नगर प्रवेशपछि एकादशीको दिन लिङ्गोमा डोरी बाँध्न थालिन्छ। सनाःगू खलः का ‘चस्वाद्वँ’ मानन्धरहरूले डोरी बाँध्छन्। मानन्धर समुदाय पहिल्यैदेखि प्राविधिक काममा संलग्न रहँदै आएकाले रुख काट्ने र डोरी बाँध्ने जिम्मा दिइएको उहाँले बताउनुभयो। त्यसपछि द्वादशीको दिन हनुमानढोका दरबारअगाडि लिङ्गो उठाइन्छ। यो लिङ्गो उठेपछि आधिकारिक रूपमा येँया पुन्ही (इन्द्रजात्रा) सुरु हुन्छ। यसैगरी परिवारका दिवङ्गत सदस्यको आत्माको चिरशान्तिको कामना गर्दे बुधबार नै उपाकु गएका छन्।
हनुमानढोकामा योसी (लिङ्गो) ठड्याएको दिन आत्माको चिरशान्तिको कामना गर्दै बत्ती बाल्दै हिँड् अर्थात् उपाकु जाने चलन रहिआएको छ। ‘उपाकु वनेगु’ भनेर काठमाडौँको भित्री नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरमा धूप र काँचो (नपोलेको) दियो बाल्दै हिँड्दा पितृहरूको आत्माले मोक्ष प्राप्त गर्ने विश्वास गरिने संस्कृतविद् त्रिरत्न मानन्धरले जानकारी दिनुभयो।
लिच्छवि कालबाट सुरु भएको उपाकुमा भीमसेनस्थान, भगवतीबारी, कङ्ग, नरदेवी, रक्तकाली, क्षेत्रपाटी, ठँहिटी, ज्याथा, कमलाछी, भोटाहिटी, महाबौद्ध, न्युरोड गेट, तेबहाल, सुन्धारा, बागदरबार, भोटेबहाल, गणबहाल, ताहागल्ली, लगन, नायभाचो, चल्खु, ह्युमत, कोहिती हुँदै नगर परिक्रमा गरिन्छ।
शुक्रबारदेखि रथ यात्रा
राष्ट्र प्रमुखले पूजा गरेपछि भदौ २४ ’क्वःनेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरू गणेश र भैरवको रथयात्रा हुनेछ। माथिल्लो टोल (थःनेया) र तल्लो टोल (क्वःनेया) गरी दुईपल्ट रथ तानिन्छ। रथयात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथयात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ’बहुमतः’ ल्याउने परम्परा रहेको छ।
भदौ २५ गते भने कुमारी, भैरव र गणेशलाई थःनेया (माथिल्लो टोलमा रथयात्रा) गराइन्छ। भदौ २९ गते नानिचाः यात्रापछि हनुमानढोकामा ठड्याइएको लिङ्गो ढाली टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रूपमा सम्पन्न हुनेछ।