• १३ साउन २०८१, आइतबार

हात्तीलेटमा हात्तीको वितण्डा

blog

रवीन्द्र उप्रेती /महेशकुमार दास 

बर्दिबास, भदौ २२ गते । बर्दिबासको ग्रामीण बस्तीमा जङ्गली हात्तीले आतङ्क मच्चाएका छन्।  मध्यराति पूर्वतर्फबाट बस्ती पसेका हात्तीको जोडीले नगरपालिकाको दुई वडाका नौ घरमा क्षति गरेको छ। पुरै बस्ती सुतिरहेका बेला हात्तीले उपद्रो गर्न थालेपछि वडा नम्बर २ स्थित हङकङ डाँडा र वडा नम्बर ८ का बस्तीमा भागाभाग मच्चिएको थियो। 

हङकङ डाँडाका पीडित परिवारका अनुसार लामा लामा दाह्रा निस्केका अजङ्गका हात्ती देखेर बस्तीमा त्रास फैलिएको थियो। गाउँलेहरू भागाभाग गर्दै सुरक्षित स्थलतर्फ लागेका थिए। गाउँका राधिका श्रेष्ठ, उदयकुमार राई, अविव राई, देवीधन राई र रोमबहादुर श्रेष्ठको घरमा क्षति गरेको पीडितले जनाएका छन्। पीडित श्रेष्ठका अनुसार बस्तीमा करिब एक लाख मूल्य बराबरको क्षति पुगेको छ। मात्तिएका हात्तीले भाटाका भित्ता लडाएर अन्न बाली खाएर छरेर नष्ट पारेका छन्। देवीधन राईको थाङराको मकै सखाप पारेको छ। कोदो र चामलसमेत बाँकी नरहेको गाउँलेले दुखेसो व्यक्त गरेका छन्। करिब आधा घण्टा वितण्डा मच्चाएका हात्ती राति नै दक्षिण–पश्चिमतर्फ लागे पनि त्रासका कारण रातभर सुत्न नसकेको गाउँलेले जनाएका छन्।

हङकङ डाँडामा वितण्डा मच्चाएर राति नै बर्दिबास नगरपालिकाकै वडा नम्बर ८ हात्तीलेट प्रवेश गरेका हात्तीका जोडीले थप चार परिवारका घरमा क्षति पु-याएका छन्। वडाध्यक्ष शमशेर सिंह लामाकाअनुसार वडाको लोपचन टोलका बुद्धबहादुर तामाङ, सोमबहादुर ठोक्कर र भवसी टोलका जितबहादुर योञ्जनको घरका भित्ता भत्काएका छन्। स्थानीय मुनिलाला महतोको टालीको घरमा पनि क्षति पुगेको छ। हात्तीले सुतिरहेको समयमा घर भत्काउँदा गल्र्यामगुर्लुम आवाज आउन थालेपछि स्थानीयको निद्रा खल्बलिएको थियो। निद्राबाट ब्युँझिएपछि हतार हतार श्रीमती र छोरालाई लिएर घरबाट बाहिर भागेर ज्यान जोगाउन सफल भएको हात्ती पीडित जयकिशुन महतोले बताउनुभयो। 

भित्ता र छाना भत्किएका कारण पीडित छिमेकीको घरमा शरण लिन बाध्य भएका छन्। ती बस्तीमा क्षति पु-याएका हात्ती राति करिब ३: ०० बजेतिर सागरनाथ वन विकास परियोजना अधिनस्थ जङ्गलमा प्रवेश गरेको प्रत्यक्षदर्शीले बताउनुभयो। 

स्थानीय क्षत्रबहादुर भुजेलका अनुसार ती बस्तीमा यसअघि पनि हात्ती आउने गरेका थिए तर अहिले जस्तो क्षति गरेका थिएनन्। पश्चिमतिरबाट जोडा हात्ती आउँथे र पूर्वतर्फ लाग्थे। “यो पटक भने उल्टो भयो।” हङकङ डाँडाका श्रेष्ठले भन्नुभयो, “सोही जोडी पूर्वतर्फबाट आयो सक्दो क्षति गरेर पश्चिमतर्फ लाग्यो।”

पश्चिम लागेका हात्ती फेरि सोही बाटो फर्किने आशङ्काले गाउँले त्रासमा छन्। राति बस्ती प्रवेश गरेका हात्ती केही दिनअघि धनुषाको ढल्केबरमा देखापरेका हात्ती रहेको अनुमान गरिएको छ। वडा नम्बर २ का वडाध्यक्ष धीरेन्द्रकुमार सिंहका अनुसार बस्तीमा अहिले पनि त्रास छ।