• १० साउन २०८२, शनिबार

खोजौँ बाँदर नियन्त्रणका उपाय

blog

बाँदरले दिने हैरानी किसानका लागि हदैसम्मको दुःख हो । बाँदरले मानिसलाई धेरै दुःख दिइरहेको छ । बालीनाली खाइदिएर, पकाएको खाना खाइदिएर, पोखिदिएर, फलफूलका बिरुवा भाँचिदिएर, फल खाइदिएर, अन्न बाली नास गरिदिएर अनेक किसिमले मानव जगत् बाँदरबाट पीडित छ । कहिले त मान्छेमाथि नै हमला गर्न पछि पर्दैनन् । 

कुनै बेला चुनावी घोषणापत्रमा बाँदर नियन्त्रण गर्ने प्रतिबद्धता लिएर भोट माग्न राजनीतिक पार्टी पनि सक्रिय थिए । भोटकै लालचमा बानीनाली लगाएको ठाउँमै बसेर बाँदर धपाउने काममा पनि सघाए । चुनाव जितेपछि १० लाख रुपियाँ बराबरको बाँदर धपाउने पटाका किनेर पनि बाँडेको तथ्य हाम्रै देशमा छ । यो त भयो भोट हत्याउने बाटो । दिगो समाधान भने यो होइन । 

कसैलाई जिस्क्याउनु पर्‍यो वा होच्याउनु पर्‍यो भने ‘बाँदर जस्तो’ भन्ने पनि चलन छ । मायाले गाली गर्दा पनि ‘तँ बाँदर’ भन्ने पनि गरिन्छ । बालबालिकाको चकचकेपनलाई पनि बाँदरको कामसँग तुलना गर्ने चलन छ । स्कुल पढ्दा गुरुले गाली गरेर ‘बाँदर बादर्नी’ भन्ने गरेको पनि सुनेको हो । 

सामाजिक सञ्जालमा कतै कतै त बाँदरले बजारमा गई किनमेल गरी ल्याएको, घरको काममा सहयोग गरेको पनि हेरिन्छ । बाँदरलाई मनोरञ्जनका लागि पालिएको पनि नभेटिने होइन । यदाकदा चलचित्रहरूमा बाँदरले भूमिका निर्वाह गरेको चाख लगाएर हेरिन्छ । अपवादमा यस्ता घटना देखिए पनि वास्तवमै बाँदरलाई तह लगाउन भने मुस्किल नै छ । पछिल्लो समय यसले मानिसलाई हदैसम्मको दुःख दिन थालेको छ, देशव्यापी रूपमा । 

बाँदरले र मानिसले खाने कुरा एउटै हुन्छ । खानाकै जोहोका लागि पनि बाँदर मानव बस्तीको नजिकै रहन्छ । पहिला पहिला जङ्गलमा जङ्गली फलफूल पाइन्थ्यो । मानिसले लगाउने केरा अम्बा जस्ता फलफूल पनि जङ्गलमा फल्थे । त्यतिबेला घरमा चर्पी थिएनन् । मानिस जङ्गलतिरै शौच गर्थे । खाएका बिउ शौचको माध्यमबाट जङ्गलमा पोखिन्थे । जङ्गलमै हुर्किन्थे र बढ्थे । त्यहीँ फल्थे र बाँदरका आहारा बन्थे । त्यही खाएर पनि बाँदर गाउँ बस्ती र मानवनिर्मित बालीनालीतिर ध्यान दिँदैनथे । आजकाल त्यो पनि हरायो । जङ्गलमा अन्न कन्दमूल र फलफूल भने जति पाइन छोड्यो । यसै कारण बाँदर मानव बस्तीतिर नजिकिन थाल्यो । मानव निर्मित अन्नपात खाइदिन थाल्यो ।  

नेपालमा बाँदरको सङ्ख्या यति नै छ भनेर त अहिलेसम्म कुनै तथ्याङ्क निकालिएको छैन । गणना सुरु गरिएको भए पनि सकिएको छैन, जारी नै छ । २०२५ को जुन महिनासम्ममा सकिने भन्ने समाचार छ । बाँदरको सङ्ख्यामा भने वृद्धि भएको विज्ञहरूको भनाइ छ । प्रारम्भिक विवरण अनुसार बाँदरहरूको घनत्व मध्यम र उच्च गरी करिब ४४ प्रतिशत भूभागमा फैलिएको देखिन्छ । बढ्दो बाँदरको सङ्ख्याले गर्दा मानव बस्तीलाई निकै सास्ती थपिएको छ । 

अति नै दुःख दिन थालेपछि मानिस बस्ती नै सरेर गएका उदाहरण पनि धेरै छन् । दोलखा, धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका, प्युठान, गुल्मी, अर्घाखाची, सिन्धुली, बैतडी, बझाङ, डडेल्धुरा जस्ता पहाडी जिल्लाबाट केही बस्ती बाँदरकै हैरानीका कारण विस्थापित भएका छन् । धेरैको गन्तव्य तराईका सुरक्षित ठाउँ नै हुन्छन् । यसमा पनि हुनेखाने परिवार तराईतिर बस्ती सर्छन् भने हुँदा खानेहरूको गन्तव्य भने भारत नै हुने गरेको छ । जहाँ श्रम गरी परिवारको गुजारा चलाउँछन् । 

कुनै कुनै गाउँमा बालीनालीको प्रकृति बदल्न पनि थालिएको छ । बाँदरलाई मन नपर्ने बाली लगाउनु, जमिनमुनि फल्ने बाली लगाउनु अथवा सम्भव भएसम्म मौरीपालन गर्नतिर पनि स्थानीय बासिन्दा लागेका छन् । यति मात्रै होइन बाँदरकै लागि भनेर जङ्गलमा फलफूलका बिरुवा रोप्ने अभियान पनि चलाएका छन् । यी सबै बाँदरको अत्याचारबाट छुट्कारा पाउने वैकल्पिक उपाय हुन् । हामी सानो छँदा साँझ परेपछि हजुरआमालाई कथा सुनाउन कर गर्थ्यो । उहाँले सुनाएको एउटा बाँदरको कथा मलाई अझै पनि सम्झनामा ताजै छ । 

एकादेशमा एक जना व्यापारी बस्थ्यो । उसको टोपीको व्यापार थियो । उसले झोलामा बोकेर टाढा टाढाका गाउँबस्तीमा गई टोपी बेच्थ्यो । एकदिन ऊ टोपी बेच्न हिँड्यो । टन्टलापुर घाम थियो । हिँड्दा हिँड्दै उसलाई गर्मी र थकाइ महसुस भयो । अगाडि पिपल चौतारो देख्यो । हावाले पिपलका पात हल्लिरहेका थिए । टोपीको झोलालाई सिरानी बनायो र ऊ त्यही चौतारीको छहारीमा सुस्तायो । व्यापारी थाकेको थियो । एकैछिनमा निदायो । बाँदर आए । सिरानीको झोलाबाट टोपी झिके र सबैले एउटा एउटा लगाए । अनि त्यही रुखमा चढे । जब व्यापारीको निद्रा खुल्यो । बाटो लाग्न लाग्दा टोपीको झोला खोज्यो । झोला रित्तै थियो । सबै टोपी त गायव । उसलाई पिर पर्‍यो । उसको व्यापारमा नोक्सान हुने भयो । कसले चोरेर लग्यो होला भन्ने सोची दायाँबायाँ हेर्न थाल्यो । टोपी लगाएको एउटा बाँदर देख्यो । उसले रुखतिर हेर्‍यो । त्यहाँ भएभरका बाँदर टोपी लगाएर बसेको उसले देख्यो । 

व्यापारीलाई पीर पर्‍यो । अब यी टोपी कसरी फिर्ता माग्ने होला भनेर उसले जुक्ति लगायो । आफूले लगाएको टोपी निकाल्यो र भुइँमा फाल्यो । बाँदरले देखिरहेका थिए । उनीहरूले पनि एउटा एउटा गर्दै टोपी फुकालेर भुइँमै फाले । व्यापारीले सबै टोपी उठायो र आफ्नो गन्तव्यतिर लाग्यो । बाँदर हेरेको हेरेई । बाँदरलाई नक्कल गर्न सिपालु जात मानिन्छ  । चाँडै सिक्छ पनि । यस्तै अर्काे बाँदरसँग जोडिएको रोचक कथा छ । 

एउटा जङ्गलमा एउटा बाँदर बस्थ्यो । बाँदर एक्लो थियो । गाउँलेले उसलाई एक्ले भनेर बोलाउँथे । उसलाई भोक लाग्यो भने गाउँ छिथ्र्याे । जसको घरमा जे भेटायो त्यही चोरेर खान्थ्यो र भाग्थ्यो । खाने जति खान्थ्यो, खान नसकेको पोखेर, फोहोर गरेर हिँड्थ्यो । गाउँमा भएका वृद्धवृद्धा र बालबालिकासँग त आक्रिमण नै गथ्र्याे । प्रतिकार गर्न खोज्दा कुटेर भाग्थ्यो । बाँदरले खुबै दुःख दिन थाल्यो । एक जना युवाले बाँदरबाट छुट्कारा पाउने एउटा उपाय सोच्यो । 

सोच्दा सोच्दै उसलाई एउटा जुक्ति फुर्‍यो । ऊ एउटा भाँडो लिएर जङ्गलतिर पस्यो । जहाँ बादरले पनि उसले गरेको चालामाला देख्न सकोस् । ऊ सल्लाको रुख चढ्यो । युवकले सल्लाबाट निस्किने खोटो निकाल्दै भाँडामा राख्दै गर्न थाल्यो । बाँदर पनि युवाले गरेको देखेर त्यस्तै गर्न थाल्यो । खोटो सङ्कलन गर्दा साँझ भयो । युवक घर आयो । बाँदर पनि सँगसँगै उसैको पछिपछि आयो । युवकले अँगेनाको नजिकै बसेर दिउँसो सङ्कलन गरेर ल्याएको खोटो आफ्नो जिउमा दल्न थाल्यो । बाँदर पनि त्यही गर्दै गयो । सबै खोटो दलेर सकिएपछि युवकले अँगेनाबाट बलेको अगुल्टा उठायो र आफ्नो जिउतिर झोसेको जस्तो गर्‍यो । बाँदरले पनि अगुल्टो तान्यो र आफ्नो जिउमा झोस्यो । खोटोले गर्दा उसको जिउमा आगो चाँडो सल्कियो । बाँदरको जिउमा दन्दनी आगो दन्किन थाल्यो । उसलाई पीडा भयो र जङ्गलतिर दौडियो । त्यो दिनदेखि कहिले पनि बाँदर गाउँमा आएन । 

एकताका जैविक परीक्षण र अनुसन्धानका लागि भनेर बाँदरलाई बाहिरी देशमा पठाउने अनुमति दिने भन्ने चर्चा चलेको थियो । यसका लागि मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्ने लेलेमा बाँदर संरक्षण केन्द्र खोली बाँदर सङ्कलनसमेत गरी सकिएको थियो । सम्बन्धित अधिकारकर्मीको विरोधपछि यो योजना बिचैमा तुहियो । पशु अधिकारकर्मी र संरक्षणकर्मीले बाँदर निर्यात गर्नु हुन्न भन्नेबारे विरोध गरे । हस्ताक्षर सङ्कलन गरे । अदालतमा मुद्दासमेत दायर गरे । चौतर्फी विरोध आएपछि संसदीय समितिले बाँदर निर्यात तत्काल बन्द गर्न निर्देशन दियो । तत्पश्चात् बाँदर निर्यात कानुन विपरीत हुने भन्ने तर्कसहित बन तथा वातावरण मन्त्रालयले विज्ञप्ति  निकाल्यो । 

अहिले नेपालमा बाँदर समस्याका रूपमा रहेको छ । मध्य पहाडी क्षेत्रमा त झन् सहनै नसक्ने पीडा दिएको छ । यसको रोकथामको उपाय केही छैन । यसका लागि गुरुयोजना नै ल्याएर सुल्झाउनु पर्छ ।