• १३ साउन २०८१, आइतबार

जिल्ला सहमति नहुँदा प्रदेशमा सिफारिस

blog

नेपाली काँग्रेस बाजुराले प्रतिनिधिसभा सदस्य छनोटका लागि आयोजना गरेको बैठकमा सहभागी, तस्विर – शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, भदौ १९ गते । नेपाली कांग्रेस बाजुराले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन उम्मेदवारका लागि सात जनाको नाम सङ्कलन गरी प्रेदश कमिटीमा पठाएको छ । 

नेपाली कांग्रेस जिल्ला कमिटी, बाजुराले प्रतिनिधिसभा सदस्यका लागि दुई पुरुष र  एक जना महिला गरी तीन जना भए पनि सहमति नभएपछि सात जनाको नाम सङ्कलन गरी प्रदेशमा पठाइएको हो । 

नेपाली कांग्रेस जिल्ला कमिटी बाजुराका सचिव भरतबहादुर रोकायाले नेपाली काँग्रेस जिल्ला समितिको बैठकमा प्रतिनिधिसभा सदस्यमा सात जनाको उम्मेदवारी रहेको र सबैले आ–आफ्नो अडान राखेपछि उम्मेदवारको छनोटका लागि प्रदेशमा सिफारिस गरी पठाएको बताउनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभाका लागि ब्रदीप्रसाद पाण्डे, खम्मबहादुर खाती, कविराज पण्डित, अङ्गराज तिमिल्सेना, जनकराज गिरी, मानबहादुर रावल र शेरबहादुर खाती गरी सातै जनाको नाम जिल्ला कमिटीले प्रदेशलाई सिफारिस गरेको हो ।

नेपाली कांग्रेसको विधानमा दुई जना पुरुष एक जना महिलाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ । जिल्लामा सहमति नभएपछि प्रतिनिधिसभा सदस्य छनोटका लागि सात जनाको नाम प्रदेश कमिटीमा पठाउनुपरेको सचिव रोकायाले बताउनुभयो ।

त्यसैगरी, प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फमा जनकराज गिरी, नारायण उपाध्याय, प्रदेश सभा ‘ख’ प्रत्यक्षतर्फका लागि पदमबहादुर शाही, रामसिंह रावल, चक्रबहादुर शाह, दिपकबिक्रम शाह, शुरेन्द्रनाथ योगीलाई सिफारिस गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव रोकायाले बताउनुभयो ।