मेरो हातमा ‘सात जुनी’ उपन्यास छ । स्मृतिविम्बमा मणि नेपाली पनेरू हुनुहुन्छ । मस्तिष्कमा विश्वास र अविश्वासको भुमरी चलिरहेछ । मनमा कुरा खेलिरहेका छन्– यो उपन्यास उहाँले नै लेख्नुभएको हो त ? पैसा कमाउन र नेपालमा भन्दा धेरै भौतिक सुख भोग गर्न अमेरिका पुगेका भनिने मणि नेपाली पनेरू त्यो बाटोभन्दा भिन्न बाटोमा हिँड्दै यस्तो भावपूर्ण सिर्जनामा साधनारत पो हुनुहुँदोरहेछ ! मैले चिनेको, जानेको र व्यवहार गरेको मणि नेपाली पनेरू अचानक उपन्यासकार बन्नु र उहाँबाट ‘सात जुनी’ शीर्षकको यति राम्रो उपन्यास लेखिनु मेरा लागि आश्चर्यजनक घटना हो । नढाँटी भन्छु– उहाँले कुनै दिन यति मिठासपूर्ण उपन्यास लेख्नुहोला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ ।
‘सात जुनी’ जीवनीपरक उपन्यास हो । यसमा आँखाभरि सपना र मनभरि रहरहरू बोक्दै जीवनयात्रा गर्ने प्रतिभाशाली बालकको कथा छ । सङ्घर्षै सङ्घर्षले बनेको उदाहरणीय व्यक्तित्वको कथा छ । महìवाकाङ्क्षाका कारण जस्तासुकै सङ्कटसँग भिड्न तयार भएर कठिन मार्गमा एक्लै हिँडेको बटुवाको कथा छ । एक्लै एक्लै हिँडे पनि बाटा बाटामा अनेकको साथ पाएर सफलताको शिखर चढ्दै गएको आरोहीको कथा छ । वास्तवमा यस उपन्यासको कथा स्वयं मणि नेपाली पनेरूको जीवनगाथा हो । यसमा उपन्यासकारकै जीवन यथार्थको औपन्यासिक प्रबन्धन गरिएको छ । उपन्यासभित्र देखिने गोरखा जिल्लाको सौरपानी भुवानेमा जन्मेको र शिशु उमेरमा नै पिता गुमाएको तथा उसकी आमा उसलाई त्यागेर अरू पुरुषसँग पुनर्विवाह गरी गइदिनाले पूर्णतः टुहुरो बनेको बालक बिस्ने अरू कोही नभएर स्वयं उपन्यासकार मणि नेपाली पनेरू हो । बिस्नेले सानैमा बाबुआमा गुमाएको छ । गरिबीले उसलाई युवाकालसम्म अभिशाप बनेर डसिरहन्छ । आफ्नै साथीसँगातीहरूले उपेक्षा, अपहेलना र घृणा गर्छन्; दुःख दिन्छन्; अत्याचार गर्छन् तर उसभित्र बाँच्ने इच्छा प्रबल छ । त्यस प्रबल इच्छाभित्र उसको यथास्थितिभन्दा धेरै माथिका कल्पना छन्; उन्नत सपना छन्, केही विशेष काम गर्ने रहर छन्, जीवन र देश सुन्दर पार्ने स्वप्नदृष्टि छन् । उसभित्र बारम्बार अनौठा र अद्भूत चाहना उत्पन्न भइरहन्छन्– कहिले सुखका, कहिले शान्तिका, कहिले समृद्धिका, कहिले प्रेमका र कहिले निर्माणका । ऊ नयाँ नयाँ चाहना र केही नयाँ गर्ने हुटहुटीले अभिप्रेरित र गतिशील भइरहन्छ । कलिलो उमेरदेखि किशोरावस्थासम्म उसले भोगेका र सहेका अनेक दुःखकष्ट तथा बारम्बार खाएका ठक्कर र हन्डरहरू कहाली लाग्दा त छँदै छन्; साथमा उत्तिकै उत्प्रेरक पनि छन् । ती सबै उसका जिजीविषाका रूपमा उत्पन्न हुन्छन् । तिनै जिजीविषाको प्रतिनिधित्व गर्दै उपन्यासमा जिजीविषा नामकी नायिका खडा गरिएको छ ।
जिजीविषा उपन्यासकारको मनोकाङ्क्षाको औपन्यासिक प्रकटीकरण हो । ऊ नायक बिस्नेकी अद्वितीय प्रेमिका पनि हो । ऊ बिस्नेरूपी मणि पनेरूको सौन्दर्यदृष्टि पनि हो भने बिस्नेकी बालसखा पनि हो । त्यस्तै ऊ बिस्नेका लागि सुखदुःखकी साथी हो, कठिनाइको क्षणमा सहारा हो र नैराश्यको क्षणमा जीवनदायी उत्प्रेरणा पनि हो । नायक बिस्ने जब जब कठिनाइमा पर्छ तब तब उसभित्रकी जिजीविषा उसको समाधान बनेर खडा हुन्छे । उसलाई थाक्न नदिने पनि जिजीविषा हो, कर्मठ बनाइरहने पनि जिजीविषा हो, अलमलमा परेको समयमा दिशाबोध गराउने पनि जिजीविषा हो भने अपमान, अभाव र एक्लोपनमा साथी बनेर मायाप्रेमको रस चखाउने पनि जिजीविषा नै हो । जिजीविषालाई उपन्यासमा मानवीय चाहनाको त्यस्तो प्रतीक बनाएर प्रस्तुत गरिएको छ जसले नायकका चाहना, सपना, सङ्कल्प र उच्च आत्मविश्वासको उदात्तीकरण गरिरहन्छे । जिजीविषाकै माध्यमबाट नायकले धर्ती र आकाशमा उडान भर्छ, राष्ट्र र अन्तराष्ट्रको भ्रमण गर्छ, प्रेम र मानवताको सागरमा पौडन्छ भने निर्माण र सिर्जनाका कर्ममा दौडन्छ । नायकका निम्ति जिजीविषा प्रेरणाकी स्रोत हो, जीवनबोधको आधार हो भने मानसिक ऊर्जा र जीवनशक्तिसमेत हो । यद्यपि जिजीविषा काल्पनिक नायिका हो तर यसले प्रस्तुत उपन्यासका खण्ड खण्ड र सन्दर्भ सन्दर्भहरूलाई आपसमा शृङ्खला प्रदान गर्ने र एकअर्कालाई जोड्ने कडीको भूमिका निर्वाह गरेको देखिन्छ । जब जब उपन्यास कुनै विश्राममा पुग्छ, अडिन्छ र गतिहीन बन्न थाल्छ, तब तब त्यसलाई पुनः यात्रा गराउन भिन्न भिन्न नायिकाको रूप धारण गरेर यही जिजीविषा उपस्थित हुन्छे । उपन्यासमा सबैभन्दा कौतूहलपूर्ण, सबैभन्दा सुन्दर र सबैभन्दा प्रेरक नायिका बनाएर यस पात्रको प्रारूपीकरण गरिएको छ ।
मणि नेपाली पनेरूले यस उपन्यासमा बालमनोविज्ञान र स्वप्नमनोविज्ञानको राम्रो उपयोग गर्नुभएको छ । परिस्थितिले मनस्थितिमा पार्ने प्रभाव र मनस्थितिले व्यक्तिका क्रियाकलापमा पार्ने प्रभाव तथा त्यस्तो प्रभावका कारण गरिने÷हुने गतिविधिको राम्रो चित्रण यसमा पाइन्छ । मनोवैज्ञानिक यथार्थका रूपमा यस्ता सन्दर्भ विवेच्य छन् । उपन्यासकार मणि नेपाली पनेरूले लामो समयसम्म बालबालिकाहरूलाई पढाउने काम गर्नुभएकाले बालमनोविज्ञानमा उहाँको गहिरो ज्ञान र बोध छ । त्यसको उपयोग उहाँले उपन्यासको मुख्य पात्र बिस्नेको मनोदशाको विश्लेषणनिम्ति प्रयोग गर्नुभएको छ ।
मान्छेको जीवन उचित समयमा पाइने उचित उत्प्रेरणाले गतिशील बन्दै जान्छ । जीवनमा हुने साना साना घटनाले ठूला ठूला मोड र परिणाम दिने गर्छन् । मान्छेको अन्तरात्मा जागेपछि र उसमा दृढ सङ्कल्प भएपछि असम्भव जस्ता लाग्ने कुरा पनि सहज र सम्भव बन्ने गर्छन् । आत्मविश्वासभन्दा ठूलो शक्ति केही हुँदैन । आत्मविश्वासले व्यक्तिलाई कर्मठ, साहसी र विश्वस्त बनाउँछ; सार्थक जीवनका पक्षमा अभिप्रेरित गर्छ; उचित दिशाबोध गराउँछ । बिस्नेभित्र साहस यस्तै कुराले बढेको छ । उसलाई दिशाबोध यस्तै कुराले गराएका छन् । ऊ कलिलै उमेरमा गाउँ छाडेर पढ्न भनी हिँड्यो, काठमाडौँ पुग्यो, अनेक सफलता पायो । विदेश पुग्यो र अमेरिकाको राष्ट्रपतिबाट सम्मानसमेत पायो । उसको जीवनयात्रा र उसले पाएका सफलतामा यस्तै कुराले भूमिका निर्वाह गरेका छन् ।
उपन्यासमा अकृत्रिम, सहजबोध्य र लालित्यमय भाषाशैली छ । उपन्यासकारमा वर्णनक्षमता राम्रो देखिन्छ । दृश्य र घटनाहरू चलचित्रमा झैँ पाठकसमक्ष प्रत्यक्ष बनेर उपस्थित हुन्छन् । लेखकले पाठकलाई आफूसँगै हिँडाउँछन्, बसाल्छन्, कुदाउँछन् र सुस्ताउन लगाउँछन् । सन्दर्भ सन्दर्भमा मन छुने कारुणिक भावको उत्कर्ष पाइन्छ जसले पाठकलाई भावुक बनाउँछ ।
उपन्यासलाई प्रभावशाली र सम्प्रेषणीय बनाउन उपन्यासकारले कलरिजले व्याख्या गरेका कल्पना (मूल कल्पना, गौण कल्पना र अवकल्पना) शक्तिको विशेष प्रयोग गर्नुभएको पाइन्छ । मूल कल्पनाले उहाँको अनुभूति यथार्थको अभिव्यञ्जनामा सघाएको छ । गौण कल्पनाले अनभूतिको प्रगाढतालाई रसमय बनाएर साधारणीकरण गर्न सघाएको छ भने अवकल्पनाले उपन्यासलाई ठाउँठाउँमा स्वैरकल्पनात्मक बनाएको छ । तीनै प्रकारका कल्पनाशक्तिको उचित प्रयोग भएकाले उपन्यास आस्वाद्य बनेको छ ।
सारतः ‘सात जुनी’ सङ्घर्षशील जीवनी, समाजयथार्थ र स्वप्नमनोविज्ञानमा आधारित उपन्यास हो । यसमा उपन्यासकार मणि नेपाली पनेरूको जीवनयात्रा, सामाजिक यथार्थ र उहाँको उच्च महìवाकाङ्क्षाको प्रारूपीकरण गरिएको छ । प्रसिद्ध अङ्ग्रेज कवि कलरिजले भनेझैँ यो यथार्थ (जीवनयथार्थ) र कल्पनाको सुन्दर संश्लेषण भएको स्वच्छन्दतावादी उपन्यास हो । जीवन के हो, जीवन कस्तो कस्तो हुन्छ, जीवनमा कस्ता कस्ता सङ्कट र अवसर मिल्छन् र तिनलाई कसरी उपयोग गर्नुपर्छ तथा जीवनमा आइपर्ने समस्याको सामना कसरी गर्नुपर्छ भन्ने कुराको राम्रो चित्रण यसमा गरिएको छ । यसले पाठकलाई सङ्घर्ष गरेर बाँच्ने प्रेरणा दिन्छ । उपन्यासकारमा भूगोल र प्रकृतिको ज्ञान छ; साथमा खुला र स्वतन्त्र प्रेमको दर्शन छ । इतिहासचेतना पनि छ भने आलोचनात्मक चेत पनि छ । त्यसैले धेरै अर्थमा यो पठनीय र मननीय छ ।