लक्ष्मण पौडेल
भैरहवा, भदौ १८ गते । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यहाँ रहेका सबै ६८ वटै प्लटमा उद्योग स्थापना गर्न उद्योगीले सम्झौता गरेका छन् । सेजभित्र हाल सञ्चालन भइरहेका सातवटा उद्योगले १८ वटा प्लट उपयोग गरिरहेका छन् । बाँकी ५० वटा प्लटमा उद्योग स्थापनाका लागि आवेदन माग गरिएकोमा २६ उद्योग स्थापनाका लागि ५५ वटा प्लटका लागि आवेदन परेका हुन् ।
दुई पटक विज्ञापन गर्दा २६ वटा उद्योग आएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)का कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिनुभयो । “अब भैरहवा सेजका सबै प्लट भरिने भएका छन्, सेजमा हाल सातवटा उद्योगले तीन अर्ब रुपियाँ लगानी गरेर चार सयलाई रोजगारी प्रदान गरिरहेका छन् । अब आउने उद्योगले नौ अर्ब लगानी पु-याउने छन्,” भट्टले भन्नुभयो ।
सेजमा सबै उद्योग स्थापना हुँदा कम्तीमा तीन हजार पाँच सय जनाले रोजगारी पाउने छन् ।
निर्यातमुखी उद्योग स्थापना र सञ्चालनका लागि रुपन्देहीको रोहिणी गाउँपलिका–१, बगहामा निर्माण गरिएको यो विशेष आर्थिक क्षेत्र ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । सेजमा एक हजार चार सयदेखि तीन हजार सात सय वर्गमिटरसम्मका ६८ वटा प्लट छन् ।
सेज प्राधिकरणले खाली प्लटमा उद्योग स्थापना र सञ्चालनका लागि प्रस्ताव पेस गर्न गत फागुन १५ गते सूचना जारी गरेको थियो । उद्योग सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएकोमा मागभन्दा धेरै ५५ वटा प्लटका लागि आवेदन आएको थियो ।
सेज निर्माण सुरु भएको १० वर्षपछि हाल आएर पूर्ण रूपमा उद्योग स्थापना गर्ने सम्झौता भएको हो । सम्झौता गरेको डेढ वर्षभित्र उद्योग स्थापना गरी सञ्चालनमा गरिसक्नुपर्छ ।
नयाँ प्रस्ताव
पछिल्लो पटक सम्झौता गरेका मसला र मार्बल उद्योगले ९० करोड रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तीनवटा प्लटका लागि मसला र मार्बल उद्योगले सम्झौता गरेका छन् ।
अब थपिने उद्योगमा प्रेसर कुकर, राइस कुकर, भाँडाबर्तन, आल्मुनियमका डिस्पोजेबल प्याकेट, ट्वाइलेट पेपर, टिस्युपेपर, जडीबुटी, ढुङ्गा कुदेर मूर्ति बनाउने, कवाडी सामान प्रशोधन गरेर धातु बनाउने, इन्डक्सन चुलो, सिमेन्टको बोर्ड, छालाको सामान, गार्मेन्ट, फर्निचरलगायतका वस्तु उत्पादन गर्ने छन् ।
अवस्थित विशेष आर्थिक क्षेत्रभित्र वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैँचा तथा ऊनी सामान, पस्मिना तथा रेशम, हाते कागजका वस्तु गरी १७ किसिमका उद्योग छन् ।
सेजमा सुरुमा एलईडी लाइट, पानी ट्याङ्की, हर्बल आदिका उद्योग रहेका थिए । जय बुद्ध मेटल क्राफ्ट, पञ्चकन्या स्टिल ट्याङ्क, शक्ति मिनरल्स, भी स्टार ग्लोबल प्रालि, एस पोलिमर्स, तिरुपति मेटल क्राफ्ट र ब्रिलेन्ट लाइटिङ गरी सातवटा उद्योग सञ्चालनमा छन् ।
१२ अर्बको निर्यात हुने
सेजभित्र सञ्चालनमा आएका उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान छ । उद्योगको प्रकृति हेरेर कतिपय उद्योगले एक वर्षदेखि दुई वर्षभित्र विदेश निकासी गर्ने सम्झौता गरेका छन् । हाल सेजमा स्थापना भइसकेका सात उद्योगले वार्षिक ५० करोड रुपियाँ बराबरको निकासी गरेका छन् । सेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यहाँबाट वार्षिक १२ अर्ब रुपियाँको निकासी हुने अनुमान छ ।
विद्युत्, पानी र निकासको समस्या
पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले सेजभित्रका उद्योगमा विद्युत्, पानी र पानी निकासको समस्या फेरि सुरु भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामी आफैँले विद्युत् विस्तार र पानीका लागि बोरिङ राख्नुपर्ने अवस्था छ । विद्युत् नहुँदा कतिपय बेला जेनेरेटर चलाएर काम गर्दा उत्पादन लागत वृद्धि हुन्छ ।” यहाँका उद्योगीले सेजसँग गरेका सम्झौताअनुसार पूर्वधारको काम, बैङ्क काउन्टर आदिमा ध्यान दिनुपर्ने माग गरेका छन् ।