• १३ साउन २०८१, आइतबार

दुई वर्षपछि आमा सुरक्षा कार्यक्रम सञ्चालन

blog

आमा तथा शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्न सम्झौँता गरिदैँ । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौं १६ गते । तानसेनका ठुला अस्पतालमा सञ्चालन हुन नसकेको ‘आमा तथा शिशु सुरक्षा कार्यक्रम’ पुनः सञ्चालनमा आएको छ । तानसेन नगरपालिका र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता भएपछि ‘आमा तथा शिशु सुरक्षा कार्यक्रम’ सञ्चालनमा आएको हो । 

चालु आ.व. २०७९–८० मा सरकारले नै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका परिवर्तन गरेपछि ठुला अस्पतालले यो कार्यक्रम सञ्चालन गर्न सहमत भएका हुन् । नयाँ निर्देशिका अनुसार तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न तयार भएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । 

‘यसअघि सरकारले अस्पतालमा सुत्केरी गराए बापत दिने सुविधा कम भएका कारण सेवा दिन नसक्ने भन्दै पन्छिएका थिए’, उहाँले भन्नुभयो “यो वर्ष समयसापेक्ष रकम थपिएपछि कार्यक्रम सञ्चालन भएको छ ।”

आमा तथा शिशु सुरक्षा कार्यक्रम सञ्चालन भएपछि गर्भवती महिलाले अस्पतालमा सबै खालका सेवा निःशुल्क पाउने व्यवस्था छ । यस्तै, अस्पतालमा सुत्केरी हुन आएको यातायात खर्च, गर्भवती जाँचको खर्च समेत सुत्केरीले पाउने व्यवस्था रहेको स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताउनुभयो । दुई वर्षदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा सुत्केरी महिलाले अस्पतालमा सुत्केरी खर्चबापत चर्को मूल्य तिर्न बाध्य भएका थिए । 

अबदेखि भने सुत्केरी महिलाको सामान्य उपचारदेखि लिएर गम्भीर प्रकृतिको उपचारसमेत निःशुल्क हुने न्यौपानेले बताउनुभयो । सम्झौतापछि आमा तथा शिशु सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने लुम्बिनी मेडिकल कलेज प्रभासका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेले बताउनुभयो । ‘आमा सुरक्षा कार्यक्रमको रकम अहिले थोरै छ तर संस्थाको तर्फबाट सहयोग गरेर यो कार्यक्रम सञ्चालन गर्छौँ’ उहाँले भन्नुभयो । 

विगत दुई वर्षदेखि यहाँका ठुला अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा आव २०७७–७८ मा दुई करोड र आव २०७८–७९ मा दुई करोड २० लाख रुपियाँ खर्च नभई फिर्ता भएको थियो । यो कार्यक्रम अस्पतालमा लागू भएपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्यामा कमी आउने र गर्भवती र शिशुको मृत्यु कम हुने नगर उपप्रमुख प्रतीक्षा सिंजालीले विश्वास गर्नुभयो ।  

पाल्पामा ठुला अस्पतालमा मात्र अहिले दैनिक २० देखि ३० जना शिशुको जन्म हुने अनुमान गरिएको छ । यो कार्यक्रम सञ्चालन भएपछि गर्भवती महिला सुत्केरी हुन अस्पतालमै आउने विश्वास गरिएको छ ।