• ५ भदौ २०८२, बिहिबार

क्षयरोगी खोज्न घरदैलोमा स्वास्थ्यकर्मी

blog

क्षयरोगीको अवस्था बुझ्न घरदैलोमा पुगेका स्वास्थ्यकर्मी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, भदौ ४ गते । सर्लाहीको लालबन्दी नगरपालिका–२, पुनर्वासमा क्षयरोगीको उपचार र नयाँ क्षयरोगी पत्ता लगाउन स्वास्थ्यकर्मी घरघरमै पुग्न थालेका छन् । 

पुनर्वास क्षेत्र पछिल्लो समय क्षयरोग (टीबी) को ‘हटस्पट’ नै बनेको छ । गत आर्थिक वर्ष २०८१-८२ मा यहाँ ३५ जना नयाँ क्षयरोगी फेला परेका आधारभूत स्वास्थ्य सेवा केन्द्र पुनर्वासका कार्यालय प्रमुख सन्तोषकुमार साहले जानकारी दिनुभयो । 

यस वडामा अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा आठ जना र त्यसअघि आर्थिक वर्ष २०७९-८० मा तीन जनामा क्षयरोगको सङ्क्रमण पुष्टी भएको थियो । स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज साहका अनुसार नयाँ फेला परेका क्षयरोगका अधिकांश बिरामीले नियमित उपचार गराइरहेका छन् । 

ती बिरामीलाई घरघरमै पुगेर उपचार गर्ने र नयाँ बिरामीको खोजी गर्न घरदैलो कार्यक्रम सञ्चालन गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख साहले बताउनुभयो । उहाँका अनुसार शङ्कास्पद व्यक्तिको घरमै गएर खकार सङ्कलन गर्ने र स्वास्थ्यकर्मीले नै नगर अस्पताल लालबन्दीमा ल्याएर खकार परीक्षण गर्ने काम गर्दै आइरहेका छन् । 

“हामीले जिम्मेवारी भन्दा बाहिरको काम अन्तर्गत निस्वार्थ ढङ्गले घरघरमै गएर बट्टामा खकार सङ्कलन गर्नेदेखि ल्याबसम्म लगेर परीक्षण गराइदिने गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “कतिपय बिरामीलाई त आफ्नै सवारी साधनमा हालेर अस्पतालसम्म पुर्‍याउने कामसमेत भइरहेको छ ।” पुनर्वासमा अधिकांश दलित (पासवान) समुदायको बसोवास रहेको छ । 

क्षयरोग सङ्क्रमित बिरामीले खोक्दा वा हाछ्यूङ गर्दा थुकको छिटाको माध्यमबाट तथा बिरामीको जुठो खाँदा सर्ने चिकित्सकले बताएका छन् । लालबन्दी नगरपालिकाभित्र अहिले १८५ जना क्षयरोगी रहेका स्वास्थ्य शाखाले जनाएको छ । 

स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीका अनुसार सबैभन्दा बढी क्षयरोगी लालबन्दी-२, पुनर्वास क्षेत्रमै रहेका छन् । दलित बस्तीमा सरसफाइको कमी र पोषणयुक्त खानेकुराको अभावले गर्दा सङ्क्रमण बढी देखिएको स्वास्थ्य शाखा संयोजक मिकरानीको भनाइ छ । 

उहाँले भन्नुभयो, “अशिक्षाका कारण सरसफाइको कमी छ । उहाँहरूसँग पर्याप्त पोषणयुक्त खानेकुरासमेत छैन् ।” आर्थिक अवस्था दयनीय रहेका क्षयरोगीका बिरामीलाई नगरपालिकाबाट बेलाबेलामा खाद्यान्न तथा पौष्टिकयुक्त खानेकुरा प्रदान गर्दै आइरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 

क्षयरोगीलाई सरकारले निःशुल्क औषधी प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यकर्मीका अनुसार क्षयरोगीले कम्तीमा छ महिना अनिवार्य र त्यसपछि चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्नुपर्ने हुन्छ ।