• ४ भदौ २०८२, बुधबार

धर्म र संस्कृतिको संरक्षण साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य

blog

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको तिजमिलन तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री आचार्य ।

सन्तोष दहित

दाङ, भदौ ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिमा विचलन आए विकृति र विसङ्गति भित्रिने भएकाले यसप्रकारका प्रवृत्तिको अन्त्य सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको छ।

हरितालिका तिज पर्वको पूर्वसन्ध्यामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) ले आयोजना गरेको तिजमिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पुर्खाले जसरी पर्वहरू मनाउँदै आएका थिए, त्यसैगरी वर्तमान समयमा पनि अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

धर्म र संस्कृतिले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दैआएका छन् । व्यक्तिलाई अनुशासनमा राख्न पनि यसको विशेष योगदान छ । धर्म र संस्कृतिमा विचलन आए विकृति र विसङ्गति भित्रिन्छ । त्यसैले यसको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्नु सबैको साझा जिम्मेवारी हो, उहाँले भन्नुभयो।

अहिले तिजलाई विभिन्न नाममा विकृत बनाउने काम भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्तो प्रवृत्ति संस्कृतिमाथि धावा बोल्ने काम भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारीले चाडपर्वले सामाजिक मूल्य–मान्यतालाई जीवन्त राख्न मद्दत गर्ने भएकाले संस्कृतिको वास्तविक मर्म जोगाउनु जरुरी रहेको धारणा राख्नुभयो ।

प्रदेश सचिव इश्वरराज पौडेलले राज्यको समावेशी नीतिका कारण निजामती सेवामा महिला कर्मचारीहरूको उल्लेख्य सहभागिता बढेको बताउनुभयो ।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले तिजलाई ऊर्जाशील पर्वको रूपमा लिने गरिएको उल्लेख गर्दै भन्नुभयो, “यस पर्वले मानसिक स्वास्थ्यलाई टेवा पुर्‍याउँछ । तिजले ऊर्जाशील विचार ल्याउँछ । सांस्कृतिक र सामाजिक क्रियाकलापले पुस्तान्तरणमा सहयोग गर्छ । आत्मीय भावनाको विकास गराउँछ ।”