• १६ भदौ २०८१, आइतबार

‘प्रकाश’ हेर्ने दर्शक बढे

blog

काठमाडौँ, भदौ १६ गते । नेपाली कथानक चलचित्र ‘प्रकाश’ले नेपाली सिनेमा घरमा आफ्नो सो बढाएको छ। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले दैनिक सो बढाउँदै लगेको छ। चलचित्रको सो थपेपछि अहिले दर्शकको उपस्थिति पनि राम्रो भइरहेको चलचित्र निर्माता महेन्द्र अधिकारीले जानकारी दिनुभयो। 

प्रदर्शन भएको दिनबाट नै चलचित्र ‘प्रकाश’ले राम्रो सो पाइरहेको थिएन र चलचित्रको निर्माण पक्षले आफ्नो चलचित्रमाथि विभेद भएको भन्दै पत्रकार सम्मेलन गरेर असन्तुष्टिसमेत जनाएका थिए। चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, निर्माता महेन्द्र अधिकारीलगायतले रिपोर्टर्स क्लब पुगेर पत्रकार सम्मेलन गर्नुभएको थियो। 

चलचित्रमा युवाले गर्नुपरेका सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ। दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ। चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्नुभएको हो।