• ४ साउन २०८२, आइतबार

चलचित्रमा सहायक कलाकार

blog

चलचित्र ‘जनै हराएको मान्छे’ मा कलाकार विजय बराल र गौरव पहाडी ।

काठमाडौँ, साउन ४ गते । चलचित्र हेर्दा त आन्नद आउँछ तर चलचित्र एउटा वा दुई वटा व्यक्तिका कारण चल्ने होइनन् । चलचित्र चल्ने भनेको टिम वर्कले नै हो । चलचित्रमा निर्देशकको आफ्नै भूमिका हुन्छ, गीत सङ्गीतको आफ्नै भूमिका हुन्छ र चरित्र पात्रको आफ्नै भूमिका हुन्छ । चलचित्रभित्र पनि विभिन्न पात्र हुन्छन् । कोही मुख्य पात्र हुन्छ भने कोही सहायक पात्र । पात्रको जीवन्त अभिनयले दर्शकलाई लोभ्याउँछ र चलचित्रलाई अगाडि डोर्‍याउने काम गर्छ । यहाँ धेरै जसो चलचित्रमा मुख्य पात्र मात्र अगाडि बढ्छन् । उनीहरू चल्तीका कलाकार पनि हुन्छन् र उनीहरूले राम्रै पारिश्रमिक पनि पाउँछन् तर एउटा चलचित्र बनाउँदा मुख्य पात्रको मात्र होइन सहायक पात्रको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । 

चाहे त्यो नायकको साथीको भूमिकामा होस् या बुवाआमा या कुनै इष्टमित्रको भूमिकामा । कुनै बेला थियो सहायक कलाकारलाई खासै महत्व दिइँदैनथ्यो र उनीहरूलाई नायकनायिकाको अघि पछि घुम्ने खालको भूमिकामा मात्र देखिन्थ्यो तर अहिले समय बदलिएको छ । चलचित्रमा अहिले मुख्य पात्रभन्दा पनि सहायक पात्रको भूमिकाले धेरै महत्व राख्न थालेको छ । 

कलाकार दीपकराज गिरी भन्नुहुन्छ, “चलचित्र भनेको सबै पात्रको सम्मिश्रण हो । एउटा संवाद बोल्ने कलाकारले पनि अलिकति कमजोर अभिनय ग¥यो भने त्यो अस्वाभाविक लाग्छ । त्यसैले पनि चलचित्रमा हरेक पात्रको भूमिका महत्वपूर्ण हुने उहाँको बुझाइ छ ।” उहाँका अनुसार बलिउडमा दुई वटा डायलग बोल्नका लागि पनि अडिसन लिने गरिन्छ । त्यसरी छानेर चलचित्रमा आउनुपर्ने हुन्छ तर नेपालमा अडिसनको चलन छैन । यहाँ एउटा भात पकाउने भान्सेलाई पनि एउटा सानो भूमिका छ गर्ने हो भनेर बोलाउने चलन छ । 

उहाँले थप्नुभयो, “समय पक्कै बदलिएको हो । अहिले नायकनायिकाको साथी, बुवाआमा बनेर अभिनय गर्नेको हालीमुहाली छ । नायकनायिकाभन्दा पनि चरित्र अभिनेता/अभिनेतृ बनेर अभिनय गर्ने कलाकार व्यस्त हुने गरेको उहाँको ठम्याइ छ ।” उहाँले भन्नुभयो, “पहिले यिनीहरूले चरित्र अभिनेता तथा अभिनेतृको भूमिका गरेबापत पचास हजारदेखि एक लाख पाउँथे भने अहिले चारदेखि पाँच लाख पारिश्रमिक लिन्छन् ।” अहिले चलचित्रमा चरित्र अभिनेता तथा अभिनेतृको भूमिका गर्नेको भ्याइनभ्याइ भएको उहाँले बताउनुभयो । पहिले नायकलाई उनीहरूले कुर्थे भने अहिले नायकले उनीहरूलाई सुटिङमा कुर्नु पर्छ । 

कलाकार विजय बरालका अनुसार म जहिले पनि चरित्रमा काम गर्न रुचाउने मान्छे हो चाहे त्यो सहायक होस् या प्रमुख । पहिलो चलचित्रको पूरै पाटो आफूले हेर्नु पर्दैन्थ्यो तर अहिले प्रमुख पात्रका रूपमा चलचित्रमा काम गर्दा सबै जिम्मेवारी आफैँले हेर्नु परेको जस्तो जिम्मेवारीबोध हुने उहाँले बताउनुभयो । यहाँसम्म आइपुग्दा आफ्नो चरित्रलाई भन्दा चलचित्रलाई बढी हेर्नुपर्ने रहेछ उहाँको भनाइ थियो । सहायक पात्र भएर पाइने पारिश्रमिक र अहिलेको पारिश्रमिकमा आकाश पातालको फरक भएको उहाँले बताउनुभयो ।