गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ४ गते । नेपालमा पहिलो पटक हरर (काल्पनिक र लोककथा समावेश) गर्दै काठमाडौँ हरर चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोविनका अवसरमा अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले जानकारी दिनुभयो ।
उहाँले नेपालमा यी विधामा चलचित्र धेरै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सवमार्फत यस्ता विधाका चलचित्रलाई देशमा प्रचारप्रसार गर्न आयोजना गर्न लागेको बताएका छन् । नेपालमा यस्ता चलचित्र निर्माणका लागि महोत्सवले थप वातावरण बनाउन सहज बनाउने उहाँको विश्वास छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को सहआयोजनामा महोत्सव हुन लागेको पाठकले बताएको विज्ञप्तिमा उल्लेख छ । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुने छ भने सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्मलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यसका साथै चलचित्रका लागि आवेदन पनि खुला गरिएको पाठकले जानकारी दिएका छन् ।