मानिस जन्मदेखि मृत्यु नभएसम्म सिकाइ कार्यमा आबद्ध रहिरहन्छ। सिकाइले व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउँछ। ज्ञानको अन्धकारबाट चेतनायुक्त सभ्यतामा परिणत भई सामाजिक कुरीति, कुविचारको बीजारोपणको अन्त्य हुन्छ। नेपालमा यसको प्रत्यक्ष प्रभाव दरबार स्कुल तथा त्रि–चन्द्र कलेजको स्थापनाबाट भएका विभिन्न कुरीतिहरूको अन्त्यलाई लिन सकिन्छ। शिक्षाले व्यक्तिका दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याको तर्कपूर्ण, विवेकपूर्ण तथा कुशलतापूर्वक ढङ्गबाट समाधान गर्ने क्षमताको विकास गर्दछ। मानिसमा चिन्तन, दृष्टिकोण र सीपगत संरचनामा परिवर्तन ल्याइदिन्छ। शिक्षाले राष्ट्रका लागि आवश्यक जनशक्तिको विकास तथा आधुनिकीकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको छ। त्यसैले शिक्षा मानिसमा निरन्तर चलिरहने आवश्यक प्रक्रिया हो।
व्यक्तिको सर्वाङ्गीण विकासका लागि जीवनपर्यन्त शिक्षा अनिवार्य हुन्छ। शिक्षाले परिर्वतनको जग निर्माण गर्छ। परिवर्तनका लागि उपयुक्त खोज, अध्ययन, अनुसन्धान तथा अन्वेषणको वातावरण निर्माण गर्नु अनिवार्य छ। अहिले विश्वमा सूचना प्रविधिको क्षेत्रमा चामत्कारिक विकास भएको छ। जसको सफलताले विश्व नै एउटा सानो गाउँमा परिवर्तन हुन पुगेको छ।
विश्वमा छापाखानाको विकासपछि प्रकाशनको क्षेत्रमा क्रान्ति नै आएको छ। पाठकहरूलाई अध्ययन सामग्रीको उपलब्धतालाई सहज पु-याइदिएको छ। बर्सेनि लाखौँको सङ्ख्यामा नयाँ शीर्षकका पुस्तक प्रकाशन भइरहेका छन्। प्रकाशित पुस्तकका बारेका जानकारी सञ्चार प्रविधिको सहयोगले तुरुन्त विश्वका जुनसुकै कुनामा पाठकहरूका माझ पु-याउन सकिने भएको छ। समयको आधुनिकताअनुसार, अध्ययन सामग्रीहरूको स्वरूपमा पनि परिर्वतन हँुदै माइक्रोफिल्म, अप्टिकल डिस्क, अनलाइन तथा ई–बुक्सको ढाँचामा आउन थालेका छन्। साथै अधिकांश सामग्री अनलाइनमा निःशुल्क पनि पाउन सकिने व्यवस्था भएको छ। प्रकाशित ज्ञान सामग्रीको स्तरीयताको विषय र उपलब्धताका आधारमा पठन संस्कृति बढ्न नसक्नु दुवै अनुसन्धानको विषय हुन सक्छन्।
पढ्नु भनेको नयाँ कुरा सिक्ने कार्य हो। पढाइलाई व्यक्तिको दैनिक कार्यसँग जोड्दै लैजानुपर्छ। जसले गर्दा व्यक्तिमा पठन संस्कृतिको जग बसाउँछ अरूमा उत्प्रेरणा जगाउँछ। व्यक्तिमा पठन संस्कृति हुनु भनेको शिक्षित, सभ्य र सुसंस्कृत नागरिक बन्नु हो। शिक्षित नागरिकबाट नै समृद्ध राष्ट्र निर्माणको परिकल्पना गर्न सकिन्छ। राष्ट्र समृद्ध हुनका लागि प्रशस्त खोज तथा अनुसन्धान हुनुपर्दछ। अनुसन्धानका लागि अध्ययनको वातावरण आवश्यक पर्दछ। समाजमा अध्ययनको संस्कृति बढाउनका लागि पुस्तकालय नै उपयुक्त विकल्प हुन आउँछ। त्यसले विकसित देशले समृद्धिको यात्राको आधारस्तम्भ निर्माण गर्न टोलटोलमा पुस्तकालयहरू स्थापनालाई प्राथमिकता दिएको पाइन्छ।
पुस्तकालय नै अनौपचारिक शिक्षाको साँचो घर हो। जहाँ ज्ञानको अनन्त भण्डार हुन्छ। कुनै विषयमा कुन स्तरको शिक्षा लिने त्यो पाठकको रोजाइ हो। यसको स्रोत पुस्तकालयभित्रका पुस्तक नै हुन् भन्नेमा दुईमत हुन सक्दैन। अहिले समाजमा पठन संस्कृतिमा ह्रास आएको भन्ने दिनप्रतिदिन सुन्नमा आइरहेको छ। पाठ्यक्रममा तोकिएको पुस्तक मात्र पढ्ने र निश्चित तह उत्तीर्ण गरेको प्रमाणपत्र बोकी शैक्षिक बेरोजगार बन्नेको सङ्ख्या पनि चुलिँदै छ। यस्तो संस्कृतिको अन्त्य गर्नका लागि विद्यालय शिक्षादेखि नै पुस्तकालयको सङ्गत बढाउनुपर्छ। विद्यार्थीहरू अनुसन्धान कार्यमा लाग्नु भनेको समाज समृद्धिको बाटोतिर उन्मुख हुन हो।
कुनै समय जनतालाई ज्ञान सिक्न बन्देज थियो र शिक्षालय तथा पुस्तकालयहरू स्थापना गर्नु शासकको नजरमा गैरकानुनी एवं दण्डनीय अपराध ठहरिन्थ्यो। देशमा प्रजातन्त्रको स्थापनापछि पहिलो जननिर्वाचित सरकारले सार्वजनिक पुस्तकालयका लागि एकमुष्ट २५ लाख रुपियाँ छुट्याएको हो। बहुदलको स्थापनापछि पहिलो कम्युनिस्ट नेतृत्वको सरकारले दुई करोड रकम पुस्तकालयका लागि विनियोजन गरेको देखिन्छ। देशमा गणतन्त्रको स्थापनापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा प्रदेश सरकार र स्थानीय निकायहरूले विद्यालय पुस्तकालय तथा सामुदायिक पुस्तकालयका लागि बर्सेनि केही रकम विनियोजन गर्ने गरेका छन्। सरकारले विद्यालय स्तरका कलिला बालबालिकालाई पाठ्यक्रमसँग सम्बन्धित पुस्तकमा मात्र सीमित नराख्ने उद्देश्यका साथ बृहत् ज्ञान प्रवाह गर्न गरेको प्रयास स्वागतयोग्य नै छ तर यो नै चित्त बुझाएर बस्ने स्थिति पक्कै होइन। तथापि सरकारले यसरी छुट्याएको रकममा पुस्तकालय खोल्ने नाममा कतिपय विद्यालयमा ७० प्रतिशतसम्म छुटमा काम नलाग्ने पुराना पुस्तकहरू लगेर सरकारलाई देखाउनका लागि मात्र पुस्तकालयहरू खोलेको तितो यथार्थ शिक्षा मन्त्रालयका अधिकारीहरूबाट सुनिनु अत्यन्त दुःखद् कुरा हो।
बालबालिकालाई भविष्यका कर्णधार, समाजका ऐना तथा परिवर्तनका संवाहकका रूपमा हेर्ने गरिन्छ। भविष्यमा हामीले कस्तो समाजको कल्पना गर्दछौँ आजका बालबालिकालाई हामीले अहिले गर्ने व्यवहारले निर्धारण गर्दछ। भन्ने गरिन्छ, बालबालिका भनेका काँचो माटो हुन्, जुन जे चिजको आकृति बनाउन चाहिन्छ त्यसैको आकृति बन्छ। त्यो कलिलो मस्तिष्कमा सकारात्मक विचार, सोच, अभ्यास र व्यवहारले भर्नु आवश्यक हुन्छ। यसका लागि सानैदेखि उचित शिक्षा, दीक्षा र संस्कारलाई निरन्तरता दिई दक्षता, क्षमता तथा कार्यकुशलता अभिवृद्धि गर्नुपर्दछ। ता कि आफ्नो व्यक्तिगत लोभलालचले गर्दा ती सोझा बालबालिका राम्र्रा पुस्तक स्वअध्ययन गर्नबाट वञ्चित हुने अवस्था नरहोस्।
बालबालिकालाई सिर्जनशील तथा कल्पनाशील बनाउनतिर हाम्रो ध्यान जानु पर्दछ। विद्यालयमा स्वअध्ययन, चिन्तन, मनन तथा अन्वेषण गर्ने वातावरण निर्माण हुन आवश्यक छ। पछिल्लो समय द्रुत गतिमा दिन–प्रतिदिन विकास हुंदै गइरहेको सूचना प्रविधिको प्रभाव बालबालिकामा पर्नु स्वाभाविक हो। बालबालिकाहरू मोबाइल, टेलिभिजन, इन्टरनेटजस्ता माध्यममा मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्दै मूल्यवान् समय व्यतीत गरिरहेका छन्। सहरदेखि गाउँघरसम्मका प्राथमिक तहका बालबालिकालाई पनि इन्टरनेटको प्रभाव परेको छ। दैनिक गृहकार्यसमेत गुगलको सहायताले गर्न थालेका छन्। आफैँ मेहनत गर्ने बानीभन्दा पनि गुगलको रेडिमेड उत्तर सारेर शिक्षकको आँखा छल्ने क्रम बढेको छ।
छोराछोरीलाई किताबको सङ्गतबाट टाढा जान नदिन अभिभावक पनि जिम्मेवार हुन आवश्यक छ। अभिभावकले नै उनीहरूको रोजाइका पुस्तकहरू घरमा पनि पढेर बस्ने वातावरण बनाउनुपर्दछ। परिवारका सबै सदस्य दैनिक कुनै न कुनै पुस्तक तथा समसामयिक विषयका बारेमा छलफल, विचार, विमर्श गर्ने समय छुट्याउने गर्नुपर्छ। बालबालिकासँगै बसेर पढ्ने ता कि युट्युब तथा टेलिभिजनमा सिरियल हेर्न व्यस्त हुने अनि छोराछोरीलाई पढ्–पढ् भन्ने करकर गर्ने बानीको अन्त्य अभिभावकले गर्नुपर्दछ। समयको मागसँगै विकास भएको सूचना प्रविधिको प्रयोगबाट बालबालिकालाई अलग गराउनुपर्छ भन्ने होइन। प्रविधिको प्रयोगका नाममा बालबालिकामा अध्ययन संस्कृति लुप्त हुन्छ कि भन्ने चिन्ता मात्र हो।
नेपालमा विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्थाहरूको स्थापनामा नै पुस्तकालय अनिवार्य सर्तका रूपमा राखिएको छ। पुस्तकालयको मापदण्ड पनि केही हदसम्म तोकिएको छ। जहाँ पुस्तक सङ्ख्या, भौतिक संरचना, पुस्तकालय कर्मचारीको शैक्षिक योग्यता, वैज्ञानिक व्यवस्थापन मात्र होइन प्रविधिमैत्री पुस्तकालयको परिकल्पनासमेत गरिएको छ। जुन परिकल्पना कल्पनामा मात्र सीमित छ। कतिपय विश्वविद्यालय तथा क्याम्पसका पुस्तकालय भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनःनिर्माण हुन सकेका छैनन्। उच्च शिक्षा अध्ययन तथा अध्ययपन गर्नेहरूले नियमित पुस्तकालय प्रयोग गर्ने वातावरण नहुनु भनेको अध्ययन संस्कृति ह्रास हुनु हो।
पुस्तकालय शिक्षित समाज निर्माण गर्ने महत्त्वपूर्ण आधार हो। त्यसैले समाजका सबै वर्ग र उमेर समूहका व्यक्तिहरूलाई पुस्तकालयको पहुँचमा जोड्न सक्नुपर्दछ। पुस्तकालय नाम मात्रका होइनन् आधुनिक प्रविधियुक्त बनाउँदै लैजानुपर्दछ। प्रारम्भिक तहदेखि नै बालबालिकालाई पुस्तकालय गई अध्ययन गर्ने संस्कृतिको विकास गराउनुपर्छ। तब मात्र देशमा अध्ययन, अनुसन्धान, खोज तथा अन्वेषणको वातावरण सिर्जना हुन्छ। समाजका हरेक टोलटोलबाट समृद्ध राष्ट्र निर्माणका अवयवहरू बाहिर निस्कन सक्छन्। अनि मात्र देश समृद्धिको बाटोतिर लाग्छ।
शिक्षित समाज निर्माण गर्न टोलटोलमा सार्वजनिक पुस्तकालयको स्थापना गर्नुपर्दछ। राष्ट्रलाई उचित तवरले सञ्चालन गर्ने जिम्मेवारीसहित राजनीतिमा लागेका राजनीतिज्ञहरूका लागि देशको दीर्घकालीन तथा अल्पकालीन योजना, नीति नियम बनाउने आधार पुस्तकालयहरू बन्नुपर्दछ ता कि पाँचतारे होटलहरू नबनुन्। औपचारिक शिक्षाको माध्यमबाट शिक्षाको ज्योति छर्ने विद्यालयदेखि विश्वविद्यालयसम्म आधुनिक सुविधासहितका पुस्तकालयको निर्माण अनिवार्य छ। देशका जल्दाबल्दा समस्याका बारेमा खोज, अध्ययन, अनुसन्धान गर्नका लागि स्थापित अनुसन्धान केन्द्रहरू प्राध्यापक तथा अनुसन्धानकर्ताको तीर्थस्थल बन्नुपर्दछ। समाज रूपान्तरणका आधारका बारेमा विचारविमर्श तथा बहस गर्ने स्थान सार्वजनिक पुस्तकालय बन्नुपर्दछ। समाजका उद्योगी, व्यापारी, स्वास्थ्यकर्मी, कृषकका लागि विषयगत पुस्तकालय विस्तार हुनुपर्ने देखिन्छ। जसले गर्दा सम्पूर्ण वर्ग तथा समुदायका व्यक्तिलाई जीवनपर्यन्त सही मार्गदर्शन गर्ने साधन तिनै पुस्तकालयका पुस्तक बन्न सकुन्। तब मात्र पन्ध्रौँ पुस्तकालय दिवसको आदर्श वाक्य ‘पढौँ, पढाऔँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ले सार्थकता पाउन सक्छ।