• १२ असार २०८१, बुधबार

रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा, ऊर्जामन्त्री भुसालद्वारा उद्घाटन

blog

रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसाल, तस्विर –सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ १४ गते । ऊर्जा,जलस्राेत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । 

मङ्गलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताउनुभयो । उहाँले मुलुकभित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताउनुभयो ।

मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताउनुभयो ।

उहाँले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताउनुभयो ।

उहाँले रुस र युक्रेन युद्धका कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा सङ्कट भएको बताउनुभयो ।


मन्त्री भुसालले विश्वका धेरै देशलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताउनुभयो ।

उहाँले विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको ऊर्जाको क्षेत्रमा ठूलो क्रान्ति हो । मुलुकभित्रकै जलस्रोतबाट बनेको विद्युत उत्पादन गरेर हामी आफैँले प्रयोग गर्ने कुरा महत्वपूर्ण हो ।

अर्को नेपालमा विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पट्रोल आयात हुने गरेको छ । उत्पादित विद्युत खपत बढाउने एउटा मात्रै माध्यम विद्युतीय यातायात हो ।

पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेको छ । यातायात क्षेत्रमा भने जस्तो विद्युतीय भएको छैन । विद्युतीय सवारीको माग पनि बढेको छ । पछिल्लो समय रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या भनेको ऊर्जा हो ।


विश्वका धेरै देशलाई डिजेल  र पेट्रोलको प्रतिस्थापनको विकल्प छैन । नेपालीले गौरव गर्नुपर्छ नेपालमा डिजेल र पेट्रोलको विकल्प छ । नेपालको विद्युत धेरै सस्तो छ ।

काठमाडौंबाट सिन्धुली जाँदा विद्युतीय सवारीमा ३ सयको विद्युत खपत हुन्छ । तर डिजेल र पेट्रोल प्रयोग हुने सवारीमा ४ हजार खर्च हुन्छ । योभन्दा विद्युत १० गुणा सस्तो  छ ।

विदेशमा जाने पैसा नेपालमा नै बस्छ । कृषि र ऊर्जा आयात गर्नाले ठूलो आर्थिक असन्तुलन छ । मुलुकको व्यापार घाटा कम गर्ने एउटा माध्यम जलविद्युत नै हो ।’

मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चारमाध्यमहरुले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताउनुभयाे ।