काठमाडौँ, भदौ ७ गते । भाषा, संस्कृति र परम्परालाई जीवन्त राख्न सधैँ अघि सर्ने व्यक्तित्व हुनुहुन्छ, भाषा तथा संस्कृतिविद् गणेशराम लाछी। उहाँ संस्कृतिका अथक साधक मात्र नभईकन भाषा, साहित्य रक्षार्थ आफूसक्दो कर्म गर्दै आएका परिश्रमी व्यक्ति पनि हुनुहुन्छ। कला, संस्कृति जगेर्ना गर्न सकिएन भने मानिसको अस्तित्व मेटिने उहाँको भनाइ छ।
संस्कृतिले मात्र मानिसको पहिचान दिन्छ भन्ने लाछीका अनुसार हाम्रो परम्परा, संस्कृति जोगाउन सकिएन भने हामी पनि रहनेछैनाैँ। लाछी दशकौँदेखि नेपालभाषा साहित्य उत्थान र संस्कृतिको पहिचानमा लागिरहनु्भएको छ। संस्कृति, कला र संस्कार जोगाइराख्न गाह्रो भएको स्थितिमा पनि उहाँले कहिल्यै हरेस खानुभएन। आफ्नो जातित्व रक्षा गर्ने, संस्कृतिको पहिचान दिने अभियानमा एक्लै भए पनि खटिइरहनुभएको छ। यही क्रममा उहाँले नेपालका सबै खालका बाजागाजा, लुगाफाटा, गरगहना, भाँडाबर्तन आदि सङ्ग्रह गर्नुभएको छ। उहाँले आँखाछेँ (नेवारघर)मा प्राचीन सामग्रीहरू बटुलेर सङ्ग्रहालयसमेत बनाउनुभयो। जातिगत पहिचान हुने खालका सामान जुटाएर सांस्कृतिक घरको स्थापना गर्नुभयो। थिमी–८ स्थित चपाचोस्थित आफ्नो घर नै आँखाछेँ सांस्कृतिक सङ्ग्रहालय हो। अनगन्ती सांस्कृतिक साधनस्रोत जुटाएर निर्माण भएको यो घर थिमीको आकर्षणका रूपमा रहेको छ । भूकम्पले भत्केपछि भने उहाँले सङ्ग्रहालयको सामान सुुरक्षित तरिकाले नयाँ घरमा राख्नुभएको छ। अहिले यी सबै सामान व्यवस्थित गर्ने कार्यमा उहाँ व्यस्त हुनुहुन्छ।
मध्यपुरलाई अमूर्त संस्कृतिको नगर बनाउन दिनरात खटिइरहनुभएका लाछीले बाजागाजाको इतिहास लेखेर अन्वेषणको काम, मुकुण्डो नाचको पहिचान राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तार गर्ने कार्यको थालनी पनि गर्नुभएको छ। उहाँ नाटक निर्देशक, नाटककार, कलाकार र हास्यव्यङ्ग्य लेखक पनि हुनुहुन्छ। उहाँले थुप्रै चलचित्रमा अभिनय गर्नुभएको छ। उहाँको नेपालभाषाका हास्यव्यङ्ग्यका पुस्तक ‘ह्वगांरिवं’, ‘फय्गं’, ‘ह्युमन फल’लगायत प्रकाशित भइसकेका छन्। संस्कृति र इतिहासको अन्वेषणमा पनि उहाँको ठूलो योगदान छ। लाछीले थिमी देया सिद्धकाली, थुकथं पलिस्था जुल शंखधर साख्वा र नेपालीमा संस्कृतिका अवधारणाहरू लेखसङ्ग्रह प्रकाशित गर्नुभएको छ।
नियात्रामा सिक्किमको यात्रा, परिकारको मात्रा प्रकाशित हुनाका साथै कवितासङ्ग्रह ‘छन्त लुभने वं’ र ‘भत्किएका सपनाहरू’ नेपालभाषा र नेपालीमा प्रकाशनमा आइसकेका छन्। उहाँले उपन्यासमा ‘ख्चाःपाः’, एकाङ्की सङ्ग्र्रहमा ‘हालेमाःगु म्ये’, ‘कनेमाःगु बाखं’ प्रकाशित गर्नुभएको छ।
उहाँले भारतको सिक्किम, आसामसम्म नेवारी परम्परालाई विस्तार गर्नुभएको छ। सिक्किममा रहेका नेवार समुदायमा उहाँले भाषा, संस्कृति र परम्परासम्बन्धी प्रशिक्षण पनि दिनुभएको छ। सिक्किममा बसोबास गरेका नेवारहरूका लागि उहाँ सांस्कृतिक गुरुका रूपमा चिरपरिचित हुनुहुन्छ। लाछी सिक्किममा प्रत्येक वर्ष नेवार खाना बनाउन र बाजा बजाउन सिकाउन गुरुहरू पठाउने गर्नुहुन्छ। नेपालमै पनि सिक्किमेली नेवारहरूलाई नेपालमा आमन्त्रण गरी प्रशिक्षित गर्नुहुनेछ। उहाँले हाल बागलुङका नेवार समुदायलाई वाद्यवादन प्रशिक्षण दिइरहनुभएको छ।