• १३ साउन २०८१, आइतबार

शैक्षिक सुधारमा जयपृथ्वीबहादुर

blog

समाजको अगुवाइ गर्नेले जनजीवनमा घटेका मसिना विषय समेटेर त्यस्ता पक्षको विश्लेषण र व्यावहारिकताको खोजी गर्नुपर्छ। यहाँनेर पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका क्रममा भएको एउटा घटनाको सम्झना गर्न सान्दर्भिक हुन्छ। एकीकरण युद्धकै क्रममा थियो। चौकोट गडीमा सिपाही कपडा खोलेर भात खान लागेको बेला शत्रुले आक्रमण गरेपछि तत्काल प्रतिरोधमा उत्रनुपर्ने अवस्था आयो। प्रतिरोधमा कसरी नाङ्गै जानु ? यसर्थ युद्धको सामनामा कुनै पनि अवस्थामा उत्रनुपर्ने भएकाले पृथ्वीनारायणले अब लुगा लगाएर खाए पनि हुन्छ भन्ने छुट दिए र त्यसपछि लुगा लगाएर खाँदा कुनै बाधा नपर्ने भयो। 

स्थान विशेष धेरै संवेदनशील परिवेशका घटना मानिसको जीवनसँगै गाँसिएर आएका पाइनु कुनै नौलो कुरा भएन। मान्छेले सचेतताको सिडी चढ्दै गर्दा यो विषयलाई बुझ्दा पनि बुझ्दैन र बुझ्ने कोसिस गरेको पाइँदैन। कोही त्यस्ता महापुरुष हुन्छन् तिनीहरूले भने रहस्यमय संसारमा विचरण गर्ने प्रयास गरिरहेका हुन्छन्। तिनै आखिर समाजका सम्मानित तहमा पुगेका पाइन्छन्। सृष्टिकाल देखिको यो संसारमा यस्ता महापुरुष धेरै भए र यस्ता व्यक्तित्वलाई देवत्वकरण गरेर पनि पुकारिने गरिएको छ। यद्यपि त्यस्ता व्यक्तित्व भने संसारको सृष्टिको क्रमभङ्गतामा अगुवाइको भूमिकामा रहेका व्यक्तित्व नै हुन भनेर चिन्दा हुन्छ। 

महेश्वर, ब्रह्मा, विष्णु, कृष्ण, राम, दुर्गा सीता पार्वतीजस्ता पात्रको पौराणिकता खोतल्दा अद्भूत चमत्कारिताको चरमोत्कर्ष सिर्जनाका सूत्राधार यिनै थिए भने आज यस्ता सबैलाई देवत्वकरण गरिएको हो। यद्यपि यी सबै सर्वाधिक श्रेष्ठ शक्तिशाली सामाजिक सिर्जनाका आधार भएकैले सम्मानीत र पुजित छन्। त्यस्तै युग बदलिँदै जाँदाका युगपुरुषमा नेपालमै जन्म लिएका बुद्ध, संसारकै जाज्वल्यमान नक्षेत्रको रूपमा उदीयमान छन्। अहिलेको आगोसँग खेलिरहेको समाजमा पानीको रूपमा प्रयोगमा आउने शान्त र विशालताको सागर भनेको बुद्ध नै हुन् । यो तथ्यमा विश्व समुदाय पारङ्गत हुने हो भने संसारमा कुनै झैझगडा हुँदैन। 

जय पृथ्वीबहादुर सिंहको नाम लिँदा हामीलाई गर्वानुभूति हुन्छ। यसर्थ उनको योगदानले समाज परिवर्तनको बाटो कति फराकिलो बनाएको छ, यसको प्रयोगबाट आजको समाज अझ गतिशील हुनेछ भन्नेमा विश्वास गर्ने भरपर्दा आधार छन्। 

गोरखापत्र र जयपृथ्वीबहादुर 

समाजलाई आँखा देखाउने दिव्य दृष्टि लिएर सपनामा रङ्गिएका महापुरुष आफ्नो सपनालाई साकार रूप दिन सधैँ लालायित हुन्छन्। यसै मध्येमा तत्कालीन समयका जाज्वल्यमान ताराको रूपमा उदित जयपृथ्वीबहादुरलाई गोरखापत्रसँग जोडेर हेर्दा धेरै कुरा जान्न सजिलो पर्ला। जयपृथ्वीबहादुर नभएको भए गोरखापत्र जन्मन्थ्यो ? यो प्रश्नको उत्तर आफैँभित्र खोजौँ। आफैँले आफैँलााई सोधेर प्राप्त भएको उत्तरले सधैँ सही जवाफ पाउँछ, त्यो कहिल्यै असफल हुन्न। हो, यसैगरी सबैले सफल र सही जवाफ खोजी गर्नुपर्ने व्यक्तित्वको रूपमा आज जयपथ्वीबहादुरलाई लिन सकिन्छ। गोरखापत्रको सुरुवात हुनुको वास्तविक आधार राणाकालका सुधारवादी शासक श्री ३ देवशम्शेरको योगदानको प्रतिफल हो। यद्यपि यसको सञ्चालन गर्ने हात र मस्तिष्क भने जय पृथ्वीबहादुर नै थिए। त्यसैले त आज सञ्चारजगत्को प्रेरणापुञ्ज बनेको छ गोरखापत्र। 

जयपृथ्वीबहादुरका बारेमा 

नेपाली समाजको ऐतिहासिक धरोहरका रूपमा प्रकाशित गोरखापत्र प्रकाशनको पृष्ठभूमि तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुरसँग जोडिएको छ। जयपृथ्वीबहादुर बझाङका राजा थिए। एकीकरण पूर्वका राजा रजौटालाई सम्मान स्वरूप मुख्तियारी दिने प्रचलन रहेअनुसार नै बझाङ्गी राजा शक्ति सिंहपछिका २०सौँ पुस्ताका राजा जयपृथ्वीबहादुरको जन्म वि.सं.१९३४ भदौ ७ मा भएको थियो। बुबा विक्रमबहादुर सिंह र आमा रुद्रकुमारीको कोखबाट जन्मिएका पृथ्वीबहादुर सानैदेखि अध्ययन र सोच विचारमा तेज थिए। 

सामन्ती राजखान्दानमा जन्मिएको भए पनि यिनी अत्यन्त उदार र मानवतावादी व्यक्तित्वका कारण स्वदेशमा मात्र होइन विदेशमा पनि यिनको चर्चा हुने गर्दथ्यो। यिनले मानवतावादको चरम आवश्यकतालाई पूरा गर्न मानवतावाद दर्शन नै प्रकाशित मात्र गरेको मात्र होइन संसारभर भ्रमण गरेर सबैलाई जागरुक बनाउने काम गरेका थिए। यद्यपि यस्ता उदारमना व्यक्तित्वलार्ई राणा शासकले सहन गर्न नसकेर देश निकाला गरेका थिए। फलस्वरूप जीवनको अन्तिम कालमा भारतको निर्वासनमा रहँदा त्यहाँको ब्रिटिस कम्पनी सरकारले राजबन्दी बनाएर राखेकै अवस्थामा वि.सं. १९९७ असोज १ गते बेङ्लोरमा उनको मृत्यु भएको थियो। मृत्युपछि उनको योगदानको सम्झना हुन थाल्यो। उनको सामाजिक, शैक्षिक तथा मानवतावादको क्षेत्रमा विशेष योगदान रहेको कारण विदेशीहरूले दोस्रो गौतम बुद्धको रूपमा सम्मान गरेका थिए। 

शैक्षिक अध्ययन केन्द्रसँग गोरखापत्रको सम्बन्ध 

समग्र बौद्धिक क्षेत्रको विकास र अन्तर्राष्ट्रिय सामाजिक जागरण तथा विश्व शान्तिका लागि क्रियाशील रहने उद्देश्यले बानेश्वरमा पुस्तकालय तथा अनुसन्धान केन्द्रको रूपमा थाहा पुस्तकालय तथा अन्तर्राष्ट्रिय अनुसन्धान प्रवद्र्धन केन्द्र स्थापना गरेका छौँ। पुस्तकालय र केन्द्र स्थापनाका लागि स्थान उपलब्ध गराउने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्यमी अजेयराज सुमार्गी हुन्। यसरी समाजमा योगदान गर्ने उदारमना व्यक्तित्वको सम्मान गर्दै थाहालगायतका पुस्तकालय र गोरखापत्र समेतलाई जोडेर अगाडि बढाउन सके टोलटोलमा यो पत्रिका समेत सामूहिक अध्ययनको पाठ्क्रम नै बन्ने आधार छन्। यसर्थ जयपृथ्वीबहादुरलाई सम्झदा समग्र सामाजिक परिवेशलाई समेटेर अग्रसर हुने काम गोरखापत्रले नै गर्न सक्छ। 

मानवतावादी शिक्षा

जयपृथ्वीबहादुरको शिक्षालाई नै मानवतावादी किन भनियो भन्ने जिज्ञासा सबैमा उठ्न सक्छ। यसका लागि उनले शिक्षामा मात्र नभएर समाज सुधारका लागि गरेका कामले यसको व्यावहारिकता दर्शाएको छ। उनले देवशम्शेरको शैक्षिक विकासको चाहनालाई कसरी अगाडि बढाउने भन्ने विषय जिम्मेवार भएर अगुवाइ गरेका थिए। जयपृथ्वीबहादुरले शिक्षामा प्रारम्भिक पाठ्यक्रम तर्जुमा र पाठ्य पुस्तकसमेत लेखेकोबाट स्पष्ट हुन्छ। उनको प्राकृतिक व्याकरण वि.सं. १९६९ प्रकाशित भएको थियो। यसले सरल तरिकाले अहिलेको हाम्रो भाषा शिक्षणको बाटो तय गरेको थियो। यसर्थ यो सामग्रीलाई आजको समाजले समेत प्रयोगमा ल्याउँदा लाभदायी नै हुन्छ। यो पुस्तक बालबालिकाका लागि पढाइ आरम्भको पहिलो पाइलोका रूपमा देखिएको छ। प्रा.डा.त्रैलोक्यनाथ उप्रेतीले उनको पछि प्रकाशित भएको पुस्तकको भूमिकामा “यो सरसर्ती हेर्दा अति साधारण देखिए पनि नेपालको शिक्षा विकासका क्रममा यसले विशेष महत्व राख्दछ” भन्नुले यसको व्यावहारिक पक्षलाई अझ दर्बिलो बनाउँछ। आजका पाठ्यक्रमविद्ले अझ यसै आधारमा पाठ्यपुस्तक लेखनमा लाग्न सके त्यस्तो पाठ्यक्रम व्यावहारिक र नैतिक हुने थियो। उप्रेतीबाट व्यक्त “उहाँलाई यही क्रममा माध्यामिक र उच्च कक्षाका निमित्त पनि यस्तै पाठ्य सामग्री तर्जुमा गर्ने अवसर प्राप्त भएको भए नेपालले आज शिक्षा क्षेत्रमा भोग्नुपरेका पीडा र व्यथाको रूप यति जटिल र कटु हुँदैन थियो होला” भन्ने उद्गारले जयपृथ्वीबहादुरको व्यावहारिक शिक्षाको खाँचो अझै पूर्ति नभएको आभास हुन्छ।  

जयपृथ्वीबहादुर राणाकालको सौख सयल र मर्यादाको घेरालाई तोडेर मानवतावादका लागि संसारलाई ब्युँझाउनुपर्छ भन्नेतिर अग्रसर भए। बझाङको राजपाट समेत छोडेर भारतका विभिन्न क्षेत्रको अध्ययन भ्रमण गरे उनले। यसैक्रममा यिनको भेट रवीन्द्रनाथ टैगोर र धेरै विद्वान् र विदुषीसँग समेत भएको थियो। यति मात्र नभएर उनले शान्तिको उपाएको खोजीमा संसार भ्रमण गरे र विभिन्न देशमा गएर मानव शान्तिका लागि प्रवचनसमेत दिएको कुरा उनको प्रवचन सङ्कलन शान्ति स्थापनाका लागि अचुक अस्त्र भएकोमा द्विमत छैन। आजको अन्योलग्रस्त भ्रष्टाचारी र व्यभिचारी गतिविधि समाप्त गरेर नयाँ र उन्नतशील युगको थालनी गर्न पनि जयपृथ्वीबहादुरको मार्ग अवलम्बन गर्न जरुरी छ।