• १३ साउन २०८१, आइतबार

युवा परिवर्तनका संवाहक

blog

समाजमा बृहत्तर र सूक्ष्मतम दुवै अग्रगामी परिवर्तनको बीडा उठाउने र जोखिम मोल्ने काम युवा पुस्ताले नै गर्दै आएको छ। हुन पनि युवामा दुई किसिमका महìवपूर्ण गुण रहेका हुन्छन् नै। पहिलो हो– युवामा यतिका ऊर्जा हुन्छ कि उसले कुनै नयाँ कुरा गरेर देखाउने उत्साह र उत्सुकता बढी नै राख्छ। दोस्रो, कुनै मानिस युवा पुस्तामा प्रवेश गर्दै गर्दा अपवाद छोडेर, सामान्यतः जीवनमा त्यत्तिका धेरै हण्डर–ठक्कर उसले खाएको हुँदैन। त्यत्तिका बढी निराश बनेको पनि हँुदैन कि नयाँ काम गर्ने जाँगरै मरेको होस्। 

यस मनस्थितिको स्पष्ट अर्थ के हो भने युवा पुस्ता या युवामा मूलतः सकारात्मक सोच र ऊर्जाको आधिक्य हुन्छ। यी नै दुइटा गुणले विशेषतः युवालाई परिवर्तनको संवाहक बनाउँछ। अनि यी नै विशेषताका कारणले विश्व समाजका जहाँकहीँ पनि कुनै क्रान्ति या आमूल सामाजिक परिवर्तनको आवश्यकता देखियो या खडा भयो भने त्यतिबेला समाजमा नवयुवाले नै अग्रिम मोर्चामा डटेर परिवर्तनको बाटो समात्छ। चाहे त्यो राजनीतिक, आर्थिक, सामाजिक या सांस्कृतिक मोर्चा नै किन नहोस्। 

आज विश्वका कुनै पनि देशले यतिबेला बितेको समयलाई पछाडि छोडेर नवीन ऊर्जाका साथ आफ्नो वर्तमानमा जीवन्त रहेको देखिन्छ भने त्यसको श्रेय युवा पुस्तामा जान्छ र दिनुपर्छ। युवा पुस्ताको उत्साहप्रद स्फूर्ति, कार्य गर्ने सौर्य र सदीच्छालाई यदि सही दिशा निर्देश र अवसर मिल्छ भने त्यतिबेला परिवर्तन र अग्रगमनका लागि यो पुस्ताले धेरै अभूतपूर्व कार्य सम्पादन गरेर समाजको नेतृत्व गर्दछ, गरेको जीवन्त र सुन्दर इतिहास छ। यो ऊर्जाशील युवा पुस्तालाई गलत दिशामा धकेलियो भने यो पुस्ता ठूलो विनाशकारी परिणाम ल्याउन पनि प्रयुक्त हुने गरेको इतिहास छ। त्यसले देश अधोगतिको अँध्यारोमा फँसेको कुरा पनि इतिहासको अध्ययन अवलोकनबाट प्रस्ट हुन्छ।

हामीले हाम्रै देशको आधुनिक इतिहासलाई मात्र पनि सर्सती हे-यौँ र केलायौँ भने विगतदेखि अहिलेसम्म विशेषतः यही युवा पुस्ताले नेपालको अस्तित्व कायम राख्न र परिवर्तनको आन्दोलनलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। मध्ययुगीन राणासाही तानासाहीका विरुद्ध सामाजिक विभेद र विषमताको अन्त्य तथा सामाजिक मुक्ति र प्रगतिको निमित्त जुन सुन्दर सपना साँचेर हाम्रो युवा पुस्ता विगतदेखि शतत सङ्घर्ष गर्दै आयो। 

त्याग, साहस, समर्पण र बलिदानको बाटो समात्यो, त्यो अविष्मरणीय छ। चाहे हामी लखन थापाको कुरा गरौँ, योगमायाको, प्रचण्ड गोर्खाको, नेपाल प्रजापरिषद्को, नेपाली कांग्रेस या नेपाल कम्युनिस्ट पार्टी स्थापना र सङ्घर्षको कुरा गरौँ, युवा समुदायका अग्रज सचेत व्यक्ति र व्यक्तित्वहरूको अविस्मरणीय सत्यनिष्ठ, योगदान, त्याग र समर्पणको उज्ज्वल परम्परा रहेको इतिहास छ। युवा शक्तिले इतिहासलाई सही बाटोमा डो-याएको बेला नेपालमा परिवर्तनको सपना साँचो र जीवन्त बनेर खडा भएको छ भने युवा पुस्ताले बाटो बिराउँदा या गलत दिशामा धकेलिँदा नेपाल पछि धकेलिएको र अल्मलिएको तथा अविश्वासको अनुपयुक्त वातावरण सिर्जना भएको स्थिति पनि विकसित हुने गरेको देखिँदै आएको छ।

युवा पुस्ता र यसको युवा ऊर्जालाई सही बाटो देखाउनु अत्यावश्यक छ। अन्यथा समाजले सुनौलो भविष्य गुमाउने र पछि पर्नेछ। आज युवा जनसङ्ख्याको मामिलामा हाम्रो देशलगायत जुन देश अगाडि छन्, तिनीहरूले यो ऊर्जाशील शक्तिलाई सही दिशा र गति दिन सकेनन् भने उनीहरूलाई पुनः यो सुन्दर भविष्य निर्माणको अवसर मिल्ने छैन। हाम्रा अर्थविज्ञ हाम्रो युवा जनसङ्ख्यालाई हेरेर देश विकासको उत्तम मौका यही दशकको भनेर भनिरहेका छन्। हामीले हाम्रा युवालाई कसरी नेतृत्व गरिरहेका छौँ, यो आजको महत्वपूर्ण यक्ष प्रश्न बनेर खडा भएको छ। यसको उत्तर कस्तो आउँछ, मूलतः त्यसले नै हाम्रो भविष्य सही–गलत कुन दिशामा छ भन्ने निर्धारण गर्दछ।

नेपालको युवा शक्ति सकारात्मक सोच राख्ने परिवर्तनकामी शक्ति मात्रै होइन, मेहनती र इमानदार शक्ति पनि हो। अनवरत काममा लागिरहने जीवन्त कुरामा विश्वास गर्ने शक्ति पनि हो। सामाजिक कार्यमा पनि सक्रियतापूर्वक सहभागी हुने र हुँदै आएको शक्ति पनि हो। दुर्भाग्य हामीले देशमा हुँदै आएका राजनीतिक परिवर्तनपछि युवा शक्तिलाई देशको विभिन्न क्षेत्रमा सही नीति, योजना र कार्यक्रमका साथ प्रयुक्त गर्न सकेनौँ र सिकेनौँ। बरु विदेश पलायन हुन, गराउन विभिन्न किसिमले प्रोत्साहित गर्दै र प्रश्रय दिँदै आयौँ। फलस्वरूप आज हाम्रा युवा अधिकाशतः खाडी, मलेसिया, कोरियालगायत विश्वका विभिन्न देशमा छरिएर रहेका छन्। उनीहरूको जीवनको एउटा महत्वपूर्ण उद्देश्य कामको खोजीमा अर्थात् रोजगारीका लागि विदेश जानु नै रहेको हुन्छ। अनि हाम्रो राष्ट्रिय आम्दानीको एउटा महत्वपूर्ण हिस्सा करिब २८ प्रतिशत विदेशबाट प्राप्त विप्रेषण हुन्छ र हामी त्यसमा ठूलो गर्व पनि गर्दछौँ। भलै त्यो विप्रेषण पुनः अरू कुनै देशमा त्योभन्दा बढी परिमाणमा प्रवाहित किन भइरहेको नहोस् !

युवा शक्तिलाई देश र जनताप्रति सत्य–निष्ठाका साथ समर्पित भएर सुझबुझपूर्वक लाग्ने वातावरण बनाएनौँ। बरु उत्ताउलो, हाहा हुहु गरेर सत्ता वा त्यसको वरिपरि घुम्ने खालको बनाउने काम ग-यौँ र गरिरहेका छौँ। यस क्रममा युवा पुस्ताको एउटा तप्कालाई रातारात कमाउने भ्रष्ट प्रवृत्तिको बनाउन हामीले बाँकी राखेनौँ। त्यसको दुष्परिणाम आज हामी राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हरेक क्षेत्रमा देखिरहेका छौँ। सुन्दर भविष्य निर्माण गर्ने दिगो आधार तयार गर्नेभन्दा पनि ‘जो हात सो साथ’को बाटो लाग्न प्रेरित गरिरहेका छौँ। युवालाई सचेत किसिमले धैर्यवान्, सौर्यवान् र सच्चरित्रवान् बनाउनेतिर हामी लागेनौँ र लाग्ने कुनै सङ्केत पनि देखाइरहेका छैनौँ।

‘सत्य केही होइन, सत्ता सबै थोक हो’ भन्ने कुरा नै आजको हाम्रो सपना, विपना र जपना बनेको छ। यो ‘दुई नम्बरी काम गरेर रातारात धनी बन्ने’ प्रवृत्तिकै राजनीतिक आयाम नै हो। पछिल्लो परिवर्तनपछि संविधान आएयता सम्पन्न तीन तहको चुनाव र दोस्रो चरणको स्थानीय तहको चुनावका बेला पनि यो प्रवृत्तिले धेरै नै प्रभाव पा-यो। त्यसले चुनावमा धान्नै नसकिने सीमाहीन खर्च भएको मूल प्रवाहका सबै दल र तिनका नेताले भन्न बाँकी पनि राखेनन् तर त्यस्तो पैसा कसरी, कहाँबाट आयो र खर्च भयो भन्ने प्रश्न भने उठाएनन्। यस्तो प्रवृत्तिले आक्रान्त भएको शक्ति, सङ्गठन, समूह कसैले पनि देश र जनताको साझा लक्ष्य, समुन्नति र समृद्धिको प्रतिनिधित्व गर्न सक्तैन। बरु यस्तो प्रवृत्तिले निहित स्वार्थ भएको सानो समूहलाई नै क्रियाशील तुल्याउन सहयोग पु-याउँछ। जुन सामाजिक अधपतनको गलत बाटो हो।

मूल बाटो त युवालाई जगाउने, उठाउने र सही बाटो लगाउने नै हो। विज्ञान र प्रविधिलाई युवा पुस्तासँग र युवा पुस्तालाई कृषि, उद्योग, विद्युतीकरण, पर्यावरण तथा सामाजिक उत्तरदायित्वसहितको शिक्षा र स्वास्थ्यसँग नयाँ उचाइका साथ अघि बढाउन पुराना सन्दर्भहीन उत्पादन सम्बन्ध र उत्पादन पद्धतिबाट मुक्त हुनैपर्छ। अन्यथा इन्टरनेट ज्ञानले पनि समस्या समाधान दिन सक्तैन र एउटा विलाश र सोखको वस्तु मात्र भएर सीमित हुन पुग्छ। अहिलेसम्मको चिन्तन, चरित्र र व्यवहारले दर्शाएको अनुभवको वस्तुगत र महìवपूर्ण निचोड यही नै हो।