राजन रावत
हुम्ला, भदौ २ गते । जिल्लाका दुुई गाउँपालिकाका पाँचवटा माध्यमिक विद्यालयहरु शिक्षक दरबन्दी बिना नै सञ्चालनमा ल्याइएका छन् । मावि स्वीकृत पाएका तथा दरबन्दी पाउन नसकेपछि तीन विद्यालयहरु गाउँपालिका अनुदानबाट सञ्चालनमा आएका हुन् ।
सिमकोट गाउँपालिका शिक्षा शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यले गाउँपालिकामा सञ्चालन भएका सातमध्ये तीन माध्यामिक विद्यालय दरबन्दी बिना सञ्चालनमा रहेको बताउनुुभयो । ती विद्यालयमा दरबन्दी र राहात शिक्षकको ब्यवस्था हुन सकेको छैन् । तत्कालीन जिल्ला शिक्षा कार्यालय र हालको गाउँपालिकाले आवश्यकताका आधार मावि सञ्चालनका लागि अनुमति दिने तर शिक्षक दरबन्दी मिलान गर्न नसकेको कारण समस्या आएको उहाँको भनाइ छ ।
गाउँपालिकाबाट शिक्षक दरबन्दी मिलान हुन नसकेपछि गाउँपालिकाको अनुदानबाट ती विद्यालयमा एकदेखि तीन जनासम्म शिक्षक नियुक्त गर्न बजेटको ब्यवस्था गरेको आचार्यले बताउनुुभयो । गाउँपालिकाका कैलाश, सैपाल र रामदेब मावि दरबन्दी बिना नै गाउँपालिकाको अनुदान सहयोगबाट बिज्ञान, गणित र अग्रेजी शिक्षक भर्ना गरेर विद्यालय सञ्चालनमा ल्याएका छन् ।
ताँजाकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालले चारमध्ये दुुई विद्यालय दरबन्दी बिना सञ्चालनमा आएको बताउनुुभयो । ती दुबै विद्यालय पछिल्लो समय मावि सञ्चालन हुँदैआएका छन् । ताँजाकोट गाउँपालिकामा दरबन्दीबिनै सञ्चालन हुँदैआएका बिद्यालयमा चन्द्रप्रकाश र जनप्रकाश मावि रहेका छन् ।
ती दुबै विद्यालयमा गाउँपालिका अनुदानबाट तीन–तीन शिक्षक भर्ना गरेर सञ्चालनमा आएको बताउनुुभयो । जिल्लामा यसरी दरबन्दीबिनै मावि सञ्चालन गर्नुपर्ने बाध्यता हालसम्म जिल्लाको दरबन्दी मिलान गर्न नसकेको कारण समस्या भएको शिक्षा बिकास तथा समन्वय इकाइले जनाएको छ ।