• १३ असोज २०८१, आइतबार

‘करेन्ट’ पीडित र प्राधिकरणबीच ७ बुँदे सहमती

blog

फाइल तस्बिर ।

गणेश पौडेल

पर्वत, साउन २५ गते । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा ‘हाइ भोल्टेज’को विद्युत् प्रवाह हुँदा भएको घटनाका पीडित र प्राधिकरणका बीच सात बुँदे सहमति भएको छ । सोमबार बिहान भएको घटनामा परि १ जनाको मृत्यू र १२ जना घाईते भएका थिए । 

घटनामा परि ५० वर्षीया सीता केसीको मृत्यु भएको थियो भने अन्य १२ जना घाइते भएका थिए । अध्याधिक करेन्ट प्रवाह हुँदा केही पशु चौपाय र २ सय घरमा क्षती पुगको थियो । मंगलबार जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाको रोहवरमा पीडित र प्राधिकरणका बीच ७ बुँदे सहमती भएको हो । 

सहमतीसँगै मृतक केसीको शव बुझेर दाहसंस्कार गरिएको छ । सहमतीमा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशली, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दीपक आचार्य, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी र पीडित परिवारका व्यक्तिहरूका बीच सहमती भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । 

यसैगरि पशु चौपायको क्षती अन्तर्गत बाख्राका लागि तत्काल २ हजारका दरले दिने र प्रदेशबाट बन्ने छानविन समितिको प्रतिवेदनका आधारमा उपयुक्त मूल्य निर्धारण गरि उपलब्ध गराउने समेत सहमती भएको पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले जाननकारी दिनुभयो । 

सहमतीमा ‘करेन्ट’ लागेर मृत्यु भएकी सीताको परिवारका एकजनालाई ज्यालादारीमा पर्वत वितरण केन्द्रले रोजगारी दिने निर्णय भएको छ । साथै परिवारलाई तत्काल पाँच लाखभन्दा बढी रकम दिन सहमत भएको बताईएको छ । त्यस्तै घाईतेहरुको उपचार खर्च प्राधिकरणले बेहोर्ने, क्षति भएका मिटर पर्वत वितरण केन्द्रले जडान गरिदिने तथा जलेका ‘वायरिङ’ हटाएर नयाँ बनाउने काम पनि विद्युत् प्राधिकरणले गर्ने भएको छ ।

साथै जलजला गाउँपालिकाको लागि छुट्टै फिडर निर्माण गर्ने, मिलनचोकमा ‘नो लाइट’ कार्यालयमार्फत निरिक्षण गरिने साथै मर्मत तथा व्यवस्थापन गर्नुपर्ने लाइनको काम तत्काल शुरु गर्ने सहमति भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।