• ८ मंसिर २०८१, शनिबार

अर्थमन्त्रीलाई नायब सुब्बाको एसएमएस!

blog

काठमाडौँ, साउन २५ गते । ‘मन्त्रीज्यू नमस्कार, म एक जना हेपिएको नासु परेँ। नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको डे«स लगाउन मन लाग्छ न कार्यालय जान,’ नायब सुब्बा स्तरका कर्मचारीले अर्थमन्त्री जनार्दन शर्मालाई मङ्गलबार पठाएको एसएमएस सन्देशको बेहोरा हो यो। 

पछिल्लो पटक सार्वजनिक भएको तलबमानमा असन्तुष्टि जनाउँदै विरोध सुरु गरेका नायब सुब्बाले एसएमएस मात्र पठाएनन् दिनभरजसो सिंहदरबारमा विरोध पनि जनाए। सोमबार ‘पेनडाउन’ गरेका कर्मचारीले मङ्गलबार बिदा नै लिएर सिंहदरबारभित्र विरोध कार्यक्रम आयोजना गरेका थिए। 

आइतबार सार्वजनिक भएको तलबमानमा निजामतीतर्फका शाखा अधिकृतदेखि सचिवसम्मको तलब बजेटले घोषणा गरेभन्दा बढी भएको बाहिरिएपछि नायब सुब्बाहरू आन्दोलनमा छन्। उक्त तलबमानमा शाखा अधिकृतको २४ प्रतिशतसम्म तलब बढेको छ तर बजेटमा १५ प्रतिशत मात्र तलब बढाउने घोषणा भएको थियो। 

तोकिएका चार पदबाहेक अन्य स्तरका कर्मचारीको तलब भने बजेटले व्यवस्था गरेअनुसार नै वृद्धि भएको अर्थ मन्त्रालयबाट जारी तलबमानमा उल्लेख छ। सार्वजनिक भएको तलबमानले असमानता बढाएको भन्दै नायब सुब्बाले विरोध जनाएका थिए। त्यस्तै उनीहरूले असमान तलबमानका कारण आफूभन्दा एक तहमाथिको शाखा अधिकृतको तलब १२ हजारभन्दा बढी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। 

अर्थमन्त्रीसहित, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मुख्यसचिव र अर्थसचिवलाई समेत पठाइएको सोही बेहोराको एसएमएसमा निजामती सेवा ऐनमा नासुको पदपूर्तिमा गरिएको व्यवस्थाले चिन्तित बनाएको र यसले विभेद भएको उल्लेख गरिएको छ। 

मङ्गलबारको विरोध खासगरी सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा अधिकृत पदको पदपूर्तिका लागि गरिएको विभेदपूर्ण व्यवस्थामा केन्द्रित रहेको राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका अभियन्ता तथा नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताउनुभयो। 

“प्रस्तावित ऐनमा भएको व्यवस्थाले राजपत्र अनङ्कित कर्मचारीको बढुवा नै नहुने अवस्था सिर्जना भएकाले पनि बिदा लिएरै विरोध जनाएका हौँ,” उहाँले भन्नुभयो। यसै सम्बन्धमा मङ्गलबार नै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेट भएको र उचित माग सम्बोधन गर्ने आश्वासन दिनुभएको उहाँले बताउनुभयो।