• १३ असोज २०८१, आइतबार

महाकाली नदीमा बाढीको खतरा, सतर्कता अपनाउन अनुरोध

blog

काठमाडौं, साउन २४ गते । निरन्तरको बर्षासँगै मंगलबार पनि मध्यम देखि भारी बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षासँगै मंगलबार महाकाली नदीमा पानीको बहाब उल्लेख्य बृद्धि हुने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाले जारी गरेको सूचनानुसार आज महाकालीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ भने कर्णाली र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने जनाएको छ । यता कोसी, नारायणी, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य घटबढ हुने जनाएको छ । 

महाकाली नदी र आसपासका क्षेत्रमा पानीको सतह बढ्ने साना तथा ठाडो खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ । 

हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भई रहेको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित हुँदा मनसुन केही कमजोर भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।