• १३ साउन २०८१, आइतबार

रुकुमपूर्वमा रेन्बो ट्राउट

blog

जयमान बुढामगर 

रुकुमपूर्व, साउन २२ गते ।  भूमे गाउँपालिका–१, लुकुममा रेन्बो ट्राउट माछा हुर्किंदै छन् । पहिलो पटकका रेन्बो ट्राउट माछा सबै मरे भने हाल दोस्रो पटकका माछा भने हुर्किरहेका छन् । 

सिद्धचौर माध्यमिक विद्यालय लुकुमका प्राध्यानाध्यपकसमेत रहनुभएका लुकुमका रामबहादुर पुनमगरले जिल्लामै पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको छ । माछापालनका लागि आवश्यक भौतिक संरचना तयार बनाइसकेपछि पुनले गत वर्षको असारमा रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको हो । 

धेरै लगानी र मेहनत गरेर माछापालन सुरु गर्नुभयो तर विभिन्न कारणले तीन महिनापछि माछाका सबै भुरा मरे । डेढ लाख रुपियाँमा किनेर ल्याएको माछाका भुरा मरेपछि तीन महिनासम्म पालन गरिएको परिश्रमसमेत गरी तीन लाख रुपियाँ बराबरको नोक्सानी बेहोर्नुपरेको पुनले बताउनुभयो । प्रदेश सरकारबाट २० लाख रुपियाँ अनुदान र आफ्नो २० लाख रुपियाँ लगानी गरी ४० लाख रुपियाँमा माछापालनको भौतिक संचरना तयार गरिएको पुनको भनाइ रहेको छ ।

पुनको आफ्नै घरअगाडि दुई सय वर्गमिटर जग्गामा सदाभार स्वच्छ पानी बगिरहने पक्की ढलानमा आवश्यक संरचना तयार गरी माछा पालिराख्नुभएको छ । २२ डिग्रीको तापक्रमभन्दा कम प्रतिसेकेन्डमा १० लिटर स्वच्छ पानीको बहावमा उक्त माछापालनका लागि उपयुक्त हुने गरेको बताइएको छ । लुकुमस्थित जारी खोलामा रेन्बो ट्राउट माछापालनका लागि पूर्वसम्भाव्यता अध्ययन गर्दा १३ देखि १६ डिग्री तापक्रमको रहेको उहाँले बताउनुभयो ।

पहिलो पटकका माछा मरे पनि पुनले फेरि दोस्रो पटक गएको फागुन महिनामा माछाका अण्डा लिई भुरा उत्पादन गरी माछापालन गरिरहनुभएको छ । हाल पाँच हजार भुरा र अण्डाबाट उत्पादन गरिएको चार हजार भुरा गरी नौ हजार हाराहारीका माछा हुर्किराखेको पुनले जानकारी दिनुभयो । भुरालाई अढाई लाख र अण्डालाई ४५ हजार गरी दुई लाख ९५ हजार रुपियाँमा पुनले खरिद गरेर ल्याउनुभएको हो । अबको छ/सात महिनापछि बिक्रीका लागि तयार हुने बताइएको छ । प्रतिकिलो एक हजार आठ सयदेखि दुई हजार रुपियाँसम्मको मूल्य पर्ने गरेको छ ।