करिब दुई दशकअघिसम्म हराभरा देखिने काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र कपन क्षेत्र अहिले पत्याउनै नसकिने गरी घनाबस्तीमा परिवर्तन भएको छ। अव्यवस्थित बस्ती विस्तारले वर्षात्सँगै बाढी र डुबानको व्यापक त्रास छ। काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सीमाको चखुँचा र यज्ञमती खोला प्राकृतिक एवं स्वभावगत ढङ्गबाट बग्दासम्म यी क्षेत्र हराभरा थिए। इनारमा पानी आउँथ्यो। अझ त्यति बेला त सिँचाइ सुविधाको आधार नै यी दुई खोला थिए। भल छोपेर किसानले रोपाइँ गर्थे। त्यही रोपाइँले भूमिगत जल पुनः साबिककै ठाउँमा आउँदा पानीको स्रोत पर्याप्त थियो। बस्ती विस्तारसँगै यी दुवै खोलामा बस्ती पसेपछि पानीको हाहाकार त भएकै छ, वर्षात्मा बाढीले बस्ती डुबानमा पर्दै छ। बस्ती विस्तारका नाममा कुरूप अव्यवस्थाले स्थानीय ठूलो मारमा छन्।
२०२२ र २०४५ सालमा सरकारद्वारा गरिएको नक्साङ्कनमा यी दुई खोलाको भाग स्पष्ट छुट्याइएको पाइन्छ। बस्ती विस्तारसँगै अतिशय मानवीय लोभका कारण हाल आवधिक गरिएको नक्सामा यी खोलाको नामोनिसान पाइँदैन। बरु यी खोला साँघुरा सडकमा परिणत भएका छन्। स्थानीय तहले दीर्घकालीन सोच र योजनाबिना विस्तारित बस्तीका ढललाई यी खोलामा मिसाइनु र ती खोलालाई साँघुरा सडक बनाउनु हालको समस्याको मूल जड हो। ढल मिसाइएपछि खोला दुर्गन्धित हुनु स्वाभाविकै थियो। खोलालाई छोप्न सडक र कल्भर्ट निर्माणले चरम समस्या थपेको छ। बाढीलाई ढलमा पसाउन सकिन्न। यसका निम्ति स्थानीय तह र काठमाडाैँ उपत्यका विकास प्राधिकरणले अग्रसरता लिएको देखिनु आफैँ उदेकलाग्दो छ। खोलाको अस्तित्व मेटाउन जिम्मेवार निकायको अप्रत्यक्ष भूमिका आश्चर्यकै विषय भएको छ।
खोलानाला जस्ता प्रकृतिजन्य साझा सम्पदालाई भौतिक रूपमा मासेर व्यक्तिगत लाभको पृष्ठपोषणले समस्या झन् जटिल बन्दै छ। केही सीमित मानिसको गल्तीले ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन्। ठूलो पानी पर्दा त्यस क्षेत्रमा डुबानको ठूलै त्रास छ। सडक जलमग्न हुँदा सवारीसाधन नै डुबानमा पर्छन्। कतिपय घरको पहिलो तलामा पानी पस्छ। खोलाको प्राकृतिक बहाव रोकिएपछि हुने त यस्तै हो। जिम्मेवार निकायको अकर्मण्यता, कतिपय राजनीतिकर्मीको सस्तो लोकप्रियताका निम्ति भू–माफियाको पृष्ठपोषण अहिले धेरैका लागि महँगो परेको छ।
बूढानीलकण्ठ र कपन क्षेत्रका जलाधारका रूपमा चखुँचा र यज्ञमती खोला अतिक्रमणमा दोषी को ? गहन तवरले तथ्यमा गएर खोज्नुपरेको छ। २५ देखि ३० फिटसम्म चौडाइमा विस्तार यी खोला अहिले चार फिटभन्दा सानो ह्युम पाइपमा साँघुरिएका छन्। खोला मिचेर ठुल्ठूला भवनसहितको बस्ती छ। अव्यवस्था बढ्दो छ। भवन निर्माण सम्पन्न भएपछि निर्माण सम्पन्न प्रमाणपत्रमा नदी किनारका भवन निर्माण गर्न छाड्नुपर्ने दूरी, छाडेको दूरी तथा खोला नदीको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने प्रावधानको पूरै बेवास्ता गरिएको छ।
यो क्षेत्रमा धेरै कुरा अचम्मकै मान्न सकिन्छ। चखुँवा खोला किनारमा निर्माण गरिएका भवनलाई दिइएको निर्माण सम्पन्न प्रमाणपत्रमा चखुँवा खोलालाई सडकका भनिएको छ। यसबाट मिलोमतोमै अनियमितता भएको निष्कर्ष निकाल्न कठिन हुँदैन। स्थानीय तहका नियम, कानुनको परिपालना गर्न, गराउनका निम्ति महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाको जिम्मेवारी हुन्छ तर यहाँ खोला अतिक्रमण भएर भवनहरू निर्माण भइसक्दा पनि बूढानीलकण्ठ नगरपालिकाको मौन सहमति स्पष्टै देखिन्छ। आधिकारिक निकायबाटै खोलालाई सडक भन्नु अपराध नै हो। यसमा ठूलै आर्थिक अनियमितताको खेल रहेको सहजै अनुमान गर्न कठिन हुँदैन। यो कार्यमा स्थानीय तहका जिम्मेवार तथा राजनीतिकर्मी पानीमाथिको ओभानो बन्न सक्ने अवस्था छैन। यज्ञमती र चखुँचा खोलाका सम्बन्धमा विगतमा भएका गल्तीलाई सच्याएर स्वरूप र नक्सा कायम हुनु प्राकृतिक न्याय हुन्छ। त्यतिले मात्र पुग्दैन, गल्ती गर्नेलाई कानुनको कठघरामा ल्याउनुपर्छ। राजधानीकै बूढानीलकण्ठ र कपन क्षेत्रमा जस्तै प्राकृतिक सम्पदामाथिको यो अतिक्रमण मुलुकका अन्य भागमा पनि प्रशस्तै मात्रामा देख्न पाइन्छ। व्यवस्थित बस्ती निर्माण, प्राकृतिक प्रकोप नियन्त्रण तथा प्राकृतिक सम्पदा संरक्षणमा महत्त्व दिनकै लागि भए पनि यस्ता अतिक्रमण नियन्त्रणतर्फ सम्बन्धित सरोकारवाला पक्षले यथाशीघ्र कार्य गर्नुको कुनै विकल्प देखिँदैन। यसमा उच्च स्तरकै छानबिन तत्काल जरुरी देखिन्छ।