नेपालको प्रजातान्त्रिक आन्दोलनमा रामेश्वरप्रसाद सिंहको ठूलो योगदान छ। उहाँको जन्म सप्तरी जिल्लाको कोइलाडी बरसाइन गाउँमा पिता सुब्बा सत्यनारायण सिंहको पुत्रका रूपमा वि.सं. १९६७ मङ्सिरमा भएको थियो। उहाँको शिक्षादीक्षा सीमावर्ती भारतीय सहर सुपौलमा भएको थियो। त्यतिबेला भारतीय स्वतन्त्रता आन्दोलन चलिरहेको थियो। महात्मा गान्धी र लोकमान्य गङ्गाधर तिलक जस्तो राष्ट्रियस्तरका नेताको व्यक्तित्वबाट प्रभावित भई उहाँमा पनि राजनीतिक चेतनाको विकास भएको थियो। नेपालमा पनि एकतन्त्रीय, निरङ्कुश राणातन्त्र समाप्त गरी प्रजातन्त्र ल्याउन उहाँको पनि ठूलो योगदान छ।
उहाँ नेपालमा राणाशासकविरुद्ध गोप्य रूपमा सङ्गठन बनाउन लाग्नुभएको थियो। त्यसैबीच भारतीय स्वतन्त्रता आन्दोलनले सन् १९४२ मा अन्तिम लडाइँको घोषणा गरियो। अङ्ग्रेजविरुद्ध छेडिएको सो आन्दोलनको नारा ‘गर कि मर’ भन्ने थियो। भारत छोडोको नामबाट भएको आन्दोलनले उग्ररूप लिएपछि पक्राउ पर्ने डरले भारतीय नेता नेपाल सरहदभित्र आउन थाले। भारत, बिहार प्रान्तका नेताहरू भूमिगत रूपमा रामेश्वर सिंहको घरमा क्रमशः आउन थाले। यसैबीच भारतको हजारीवाग जेल तोडी समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह, गुलावी साह सोनार, विजया पट्टवर्धन, डा. वैद्यनाथ झाहरू रामेश्वर बाबुको बरसाइनस्थित घरमा रातारात आइपुगे।
भारतका राष्ट्रियस्तरका नेताहरू आफ्नो घरमा अतिथि भएर आएपछि कसरी आतिथ्य प्रदान गर्ने र सुरक्षा व्यवस्था गर्ने भन्नेबारे उहाँ चिन्तित हुन थाल्नुभयो। त्यसैले घरमा आएका दर्जनौँ अतिथिलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गर्न लाग्नुभयो। उहाँहरूलाई नजिकैको आफ्नो जिमिदारी बानरझुला र कुशहामा समूहगत रूपमा बस्न व्यवस्था गर्नुभयो। केही साता बसेपछि स्थानीय राणा प्रशासक बडाहाकिम जो नजिकै तत्कालीन सप्तरीको सदरमुकाम हनुमाननगरमा बसेको थियो, तिनीहरूको नजरबाट पनि बच्नु जरुरी थियो।
त्यसैले रामेश्वर बाबुले भारतीय राष्ट्रियस्तरका नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, डा. वैद्यनाथ झा, विजया पट्टवर्धनहरूलाई समूह बनाई कोसीपारि आफ्नो जिमिदारी मौजा कुशहा बक्रो टप्पु (हाल सुनसरीमा) स–साना झुपडी बनाई बस्ने व्यवस्था गरी त्यहीँ पठाउनुभयो। अर्को समूह पश्चिम सप्तरीको कुशहानजिक सुरुङ्गा जङ्गलमा पठाउनुभयो। त्यहाँ जाने समूहले आजाद दस्ता गठन गरी त्यही जङ्गलमा गुरिल्ला ट्रेनिङ दिन थालियो। बेतारको तार जडान गरी आकाशवाणीबाट भारततिर खबर आदानप्रदान गर्न थालियो। ती आजाद दस्तालाई खानपिन व्यवस्था नजिकका गाउँलेले गर्न थाले।
यसैबीच स्थानीय राणाका प्रशासकले भारतीय क्रान्तिकारी नेताहरू कोसीपारि कुशहा बक्रो टप्पुमा भूमिगत रूपमा बसेको कुरा थाहा पाए। तिनीहरूलाई सेनाद्वारा पक्रेर हनुमाननगर जेलमा बन्दी बनाइयो। यो कुरा छिट्टै जिल्लाभरि फैलियो। उता पश्चिमको कुशहानजिक सुरुङ्गा जङ्गलमा आजाद दस्ताका लडाकुले पनि थाहा पाए। थाहा पाउनेबित्तिकै तिनीहरू हातहतियारसहित त्यहाँबाट हिँड्दै बरसाइनस्थित रामेश्वर बाबुको घरमा आइपुगे। हनुमाननगर जेलमा बन्दी बस्यो। सबै रामेश्वर बाबुको निर्देशनको प्रतीक्षामा थिए। भारतीय लडाकुलाई हनुमाननगरको भौगोलिक स्थितिबारे थाहा नभएकाले जेलको वरिपरिको नक्सा कोरेर आफ्नो भतिजो तारिणीप्रसाद सिंहलाई दिई साथमा पठाइयो।
तिनीहरू राति हनुमाननगर आई जेललाई घेरा हालेर नजिक रहेको फुसको घरमा आगो लगाइदिए। प्रहरी आगो निभाउनतिर लागे। त्यसैबीच आन्दोलनकारीले अन्धाधुन्द बन्दुक चलाउन थाले। त्यहाँ ड्युटीमा रहेका प्रहरीमाथि गोली हाने। एक जना जनार्दन झा नामको प्रहरीको घटनास्थलमै मृत्यु भयो। अरू बाँकी ज्यान जोगाएर भागे। नजिकै रहेको बडाहाकिम निवासमा बलिरहेको लाल्टिनमाथि गोली प्रहार गरी चकनाचुर गरे। बडाहाकिम डरले भागे।
आन्दोलनकारीले जेलको ढोका तोडी पसेर भारतीय नेतालाई निकाले र कोसीपारि भारत पु-याइयो। यसरी सप्तरीका युवाका साथै भारतीय लडाकु मिलेर भारतीय नेता जयप्रकाश नारायण डा. राममनोहर लोहियालाई जेल तोडेर निकाल्न सफल भए। यसरी राणा शासकको विरुद्धमा पहिलोपल्ट सप्तरीमा फायरिङ भएको थियो। त्यसको सात वर्षपछि राणाशासकविरुद्ध २००७ सालमा जनक्रान्ति भएको थियो। यो घटना भएपछि रामेश्वर बाबुलगायत २२ जनालाई काठमाडौँस्थित केद्रीय कारागारमा पठाई बन्दी बनाइयो। रामेश्वर बाबुलाई मुख्य दोषी ठह-याइएको थियो। किनभने भारतीय कङ्ग्रेसी नेतालाई आफ्नै घरमा आश्रय दिई महिनौँसम्म खाना खुवाउनुभएको थियो, जुन मामुली विषय थिएन।
रामेश्वर बाबुलाई केन्द्रीय कारावासबाट निकाली बयानका लागि सिंहदरबारमा प्रस्तुत गरियो। श्री ३ बबर शमशेरको उपस्थितिमा दिएको बयानमा उहाँले सबै आरोप इन्कार गर्नुभयो। त्यसपछि उहाँलाई डर–त्रास देखाइयो तापनि आफ्नो कुरामा अडिग रहनुभयो। करिब दुई वर्ष केन्द्रीय कारागारमा बन्दी जीवन बिताउनुभयो। कारागारमा रहँदै गर्दा सप्तरीका अब्दुल मियाँ र कृष्णवीर कामीको मृत्यु भयो। रामेश्वर बाबुसँगै त्यस कारागारमा गणेशमान सिंह र टङ्कप्रसाद आचार्यहरू पनि हुनुहुन्थ्यो। गणेशमान कारागारबाट लामो डोरीको सहायताले पर्खाल नाघेर भाग्नुभएको थियो। त्यसमा सहयोगीको भूमिका रामेश्वर बाबुले निर्वाह गर्नुभएको थियो।
रामेश्वर बाबु केन्द्रीय कारावासबाट वि.सं. २००२ असोज महिनामा छुटेर आउनुभयो। त्यसपछि राजनीतिक गतिविधिमा लाग्नुभयो। २००३ सालमा बनारसमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएपछि यसको प्रथम अधिवेशनमा सहभागी हुन उहाँ सप्तरीबाट नेतृत्व गरी बनारस पुग्नुभयो। उहाँलाई पार्टीको विधान मस्यौदा समितिमा राखिएको थियो। पछि केन्द्रीय कार्यकारी समितिको सदस्य निर्वाचित हुनुभयो।
कांग्रेसको दरभङ्गामा भएको २००४ सालको दोस्रो अधिवेशनमा सप्तरीका प्रतिनिधिको नेतृत्व गरी उहाँले भाग लिनुभयो। त्यस अधिवेशनको सम्पूर्ण खर्च उहाँले नै बेहोर्नुभएको थियो। २००९ सालमा जनकपुरमा भएको अधिवेशनमा पनि उहाँले सप्तरीको नेतृत्व गरी भाग लिनुभयो। त्यस्तै वीरगञ्जमा २०१२ सालमा भएको अधिवेशनमा पनि उहाँले भाग लिई सप्तरीको नेतृत्व गर्नुभयो। त्यस अधिवेशनमा कृष्णप्रसाद भट्टराईलाई समेत सप्तरीबाटै प्रतिनिधि भई भाग लिन सहयोग गर्नुभएको थियो।
कृष्णप्रसाद भट्टराई सर्वप्रथम बनारसबाट २००५ मा सप्तरीको सीमावर्ती सहर कुनौली बजारमा आएर क्याम्प बनाई बस्नुभयो र त्यहीँबाट आन्दोलनको तयारी गर्नुभयो। सप्तरीका रामेश्वर बाबु र कुशेश्वर झा (पाठक)ले भट्टराईजीलाई कुनौली क्याम्पको सम्पूर्ण खर्च बेहोर्नुहुन्थ्यो। पाठकजी त्यतिबेला सप्तरी कांग्रेसको इन्चार्ज भई काम गर्नुहुन्थ्यो। उहाँसित नै गजेन्द्रनारायण सिंहले नेपाली कांग्रेसको सदस्यता लिनुभएको थियो।
२००७ सालको जनक्रान्तिअघि कुशेश्वर पाठक, गजेन्द्रनारायण सिंह र महेन्द्र राय पक्राउ परी राजविराज जेलमा थुनिएको बेला जेल तोडी भाग्नुभएको थियो। रामेश्वर बाबुले यसमा सहयोग गर्नुभएको थियो। सात सालको जनक्रान्तिमा रामेश्वर बाबु स्वयं सहभागी भई ठूलो धनराशि प्रदान गर्नुभएको थियो। २०१५ सालको आमचुनावमा रामेश्वर बाबुलाई आफ्नो गृहक्षेत्रबाट टिकट नदिई पश्चिम सिरहा इलाकाको लहान क्षेत्रबाट टिकट दिइएको थियो। त्यस क्षेत्रबाट नागेश्वरप्रसाद सिंहलाई टिकट दिइयो। फलस्वरूप रामेश्वर बाबु थोरै मतले पराजित हुनुभयो।
२०१७ साल पुस १ गते निर्वाचित सरकार र संसद् विघटन गरी राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि रामेश्वर बाबुले यस कदमको विरोध गरी भारत प्रवासमा जानुभयो भने नागेश्वर सिंह राजा महेन्द्रको मन्त्री खान जानुभयो। लामो प्रवासबाट आममाफी पाएपछि उहाँ स्वदेश आउनुभयो। स्वदेश आएपछि पार्टीको सङ्गठनमा लाग्नुभयो भने उहाँसँगै प्रवासबाट आउने केही साथी पञ्चायतमा प्रवेश गरे। उहाँ २०३६ सालमा जनमत सङ्ग्रह घोषणा भएपछि निकै खुसी हुनुभयो। क्यान्सरबाट पीडित भई आराम गरिरहेको बेलामा पनि उहाँले बहुदलीय पक्षलाई जिताउन पार्टीका कार्यकर्तालाई निर्देशन दिई गाउँगाउँमा प्रचार गर्न खटाउनुभएको थियो।
दुर्भाग्यवस जनमत सङ्ग्रहको परिणाम घोषणा नहुँदै २०३७ साउन १४ गते उहाँको निधन भयो। अहिले नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था भएको तीन दशकभन्दा बढी भएको छ तर उहाँको सम्मानमा कांग्रेसले अहिलेसम्म सम्झनलायक कुनै काम गरेको छैन। उहाँजस्तो सङ्घर्षशील, त्यागी, प्रजातन्त्र र समाजवादप्रति समर्पित व्यक्तित्वको मरणोप्रान्त पनि मूल्याङ्कन नहुनु विडम्बना हो।