गोकुल भुजेल
भोजपुर, साउन १७ गते । झण्डैँ दुई सय वर्ष इतिहास बोकेको पूर्वी पहाडी जिल्ला भोजपुरको लाखे नाचप्रति स्थानीय युवाको चासो बढेको छ । आधुनिकतामा रमाउँदै आएका युवामा लाखे नाचप्रतिको जागरुकता र संस्कृति संरक्षण एवम् सम्बर्धन गर्नुपर्छ भन्ने मानसिकताका साथ जिल्लाका युवा लाखे नाचन उत्साहित भएका हुन् ।
पुर्खाले मान्दै आएका संस्कार, संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने भावनाका साथै उहाँहरुले सिकाएको आधारमा आफूहरुले लाखे नाचन सुरु गरेको भोजपुर नगरपालिका ९ का सन्तोष श्रेष्ठ बताउनुहुन्छ ।
प्रायः युवा वैदेशिक रोजगारीमा जाने र पुर्खाहरु वृद्ध हुँदै जाँदा लाखे नाच कला संस्कार जर्गेना नहुने हो कि भन्ने डर स्थानीय वृद्धाहरुको थियो तर पछिल्लो समय नेवार समुदायका अन्य समुदायका युवाहरुले पनि लाखे नाचप्रति चासो राख्दा आफूहरु खुसी भएको स्थानीय बताउँछन् ।
आफूले सानै उमेरदेखि लाखे नाच्दै आएको भोजपुर नगरपालिका–९ पानी ट्याकीका युवा नवीन बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार, लाखेको सिजनमा नाच्न मन लागिहाल्छ, मलाई लाखे कसरी नाच्ने, केके डे«स लगाउने, कसरी बाजा बजाउने सबै थाहा छ । मेरो परिवार नेवार समुदायमा भएकाले बुबाआमा कसैले पनि लाखे नाच्न रोक्नु हुन्न ।
जिल्लाको टक्सारबाट करिब दुई सय वर्षअघिदेखि सुरु भएको लाखे उत्तरी क्षेत्र साल्पासिपिलछो कुलुङ, षडानन्दको दिंला, बोया, झ्याउपोखरी, भोजपुरको सदरमुकाम बजार, बोखिम, दावा, टक्सार, भैषीपंखा, टेम्केमैयुको कोट, गोगने, दुम्माना, घोरेटार, पौवादुङमाको च्याङग्रे, अरुणको याङपाङ, प्याउली, याकु, चम्पेलगायत नेवार समुदायहरुको बसोबास भएको क्षेत्रमा निकाल्ने गरिन्छ ।
पुरानो इतिहास बोकेको लाखे नाचले नयाँ पुस्तासँगै केही आधुनिकता पनि जोडेको पाइन्छ । भोजपुर नगरपालिका–८ का स्थानीय प्रवीण सुवालले भन्नुभयो, ‘‘पुरानो र अहिलेको लाखेमा नाच्ने, गाउनेलगायत केही कुरामा युवाले आधुनिकता मिसाउने गरेका छन् ।’’
हुन त २०४५ सालतिर मनोरञ्जनका साधन प्रायः थिएन, गाउँगाउँबाट लाखे हेर्नेको भीड हुने गर्दथ्यो, त्यही भएर नि त्यस्तो लागेको हो कि सुवालको भनाइ छ ।
गहकिलो इतिहास बोकेको भोजपुर टक्सारको लाखे नाचलाई टक्सारको टकसँग पनि जोडेर हेर्ने गरिन्छ । उक्त समयमा टक काट्न आएका पाटनका नेवारहरुले आफ्नो जातिगत संस्कृति लाखे नाच नाच्न सुरु गरेको र त्यसैलाई भोजपुरका नेवारहरुले पछ्याएको कथन पनि छ ।
यसरी हेर्ने हो भने पनि भोजपुरमा करिब दुई सय वर्ष पुरानो लाखे नाचको इतिहास पाइन्छ । यता, लाखे नाचलाई हिउँदको सूचकको रुपमा पनि लिइन्छ । अब वर्षाको समय सकिँदै गएको र हिउँदको समय आएको पुर्खाहरुले बताउँछन् । लाखे नाचसँगैँ दशँै, तिहारलगायत महान चाडहरु आउने भएकाले चाड सुरुवातीको समय र पसलहरुमा व्यापार व्यवसाय हुने अवस्थाको रुपमा समेत लाखेलाई जोडेर हेर्ने गरिन्छ ।
लाखे हेर्न आउने दर्शकहरुको घुँइचोले बजार भरीभराउ हुनगर्दथ्यो, हामीहरुलाई चिया, खाजा बेच्न भ्याई नभ्याई हुन्थ्यो, भोजपुर नगरपालिका–६ चारभञ्जयांगका स्थानीय वृद्धाहरु बताउँछन् ।
अहिले जिल्लाका अधिकांश क्षेत्रमा लाखे नाचने चलन छ । सामान्यतया, लाखे नाच्न आवश्यक डोल, झ्याली, लाखेले लगाउने कपडा स्थानीय बजारमा किन्न पाए पनि अन्य मकुण्डो, चम्मर, घंघलोलगायत भने बाहिरी बजारबाट ल्याउनुपर्छ ।
स्थानीय सुरेन्द्र देव वलका अनुसार, एक सेट लाखेका लागि सम्पूर्ण सामग्री खरीद गर्न एक लाख सरदर लागत लाग्ने गर्दछ । आर्थिक रुपमा झन्झटिलो हुने भएकाले समिति, टोल तथा संस्थाहरु मिलेर मात्र लाखे निकाल्न सम्भव छ ।
यसरी करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको नेवार समुदायको लाखे नाचलाई जिल्लाभरि नै संरक्षण एवम सम्बर्धन गर्न स्थानीय सरकार, नागरिक समाज, सरोकारवाला निकायहरूले चासो दिन आवश्यक छ । यस्ता ऐतिहासिक धरोहर बोक्ने अन्य जातीहरुको कला, संस्कार, संस्कृतिसमेत जर्गेना गर्न उत्तिकै आवश्यक छ ।