• १३ असोज २०८१, आइतबार

पानी नहुँदा तनहुँमा रोपाइँ प्रभावित

blog

तनहुँको शुक्लागण्डकीमा बिउँ उखेल्दै कृषक।

अमरराज नहर्की
तनहुँ, साउन १७ गते। पानी नपुग्दा तनहुँको टारी खेतको रोपाइँ प्रभावित भएको छ। प्रशस्त वर्षा नहुँदा मूल नफुटेपछि रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। साउन दोस्रो हप्तासम्म पनि रोपाइँ गर्न नपाएर १५ प्रतिशत खेत बाँझै रहेको केन्द्रका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिनुभयो। 

यो वर्ष समयमै प्रयाप्त वर्षा भएपनि असार महिनाको अन्तिम समयदेखि आएर लामो खडेरी परेकाले ८५ प्रतिशत मात्रै रोपाइँ पुरा भएको सिलवालले जानकारी दिनुभयो। ‘सिंचाई सुविधा पुगेका गैरी खेत तथा फाँटमा भने रोपाइँ पूरा भए पनि आकाशे पानीको भरमा रोपिने टारीटुकुरामा कृषकले रोपाइँ गर्न सकेका छैनन्’, कृषि प्रसार अधिकृत सिलवालले भन्नुभयो। 

केन्द्रका अनुसार जिल्लामा ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुने र  त्यसमध्ये दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ। तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुन्छ। 

गतवर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिकटन धान उत्पादन भएको थियो। तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको तर ५१ हजार ५१० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ।

किसानले रोपाइँको तयारी गरिरहँदा पानी नपरेपछि चिन्तित भएका छन्। पहाडी जिल्लामा जेठ अन्तिमबाट सुरु गरेर असार मसान्तसम्म रोपाइँ सक्ने चलन छ। तर, यस वर्ष मूल फुट्ने गरी पानी नपरेकाले रोपाइँ पूरा नभएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो। जिल्लामा पानी नपर्दा बीउ ब्याडमै सुक्न थालेको छ।