• १६ भदौ २०८१, आइतबार

एक हजार ७६७ रोपनी बाँझो जग्गा कृषियोग्य जमिनमा परिणत

blog

बाँझो जग्गालाई सदुपयोग गरिँदै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, साउन १६ गते ।
जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले गाउँपालिकाले पालिका भित्र बाँझो जग्गा नराख्ने गरी लिएको नीति अनुरुप एक हजार ७६७ रोपनी जग्गामा फलफूल र अन्नबाली लगाइएको जानकारी दिनुभयो ।

कोरोना माहामारीको समयमा बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गाउँपालिकाले नीति लिएको थियो । सोही समय र हालसम्म गरी बाँझो जग्गामा फलफूल र अन्नबाली लगाई फलफूलका बिरुवाहरु हुर्कदै गएको, अन्नबालीबाट किसानले उत्पादन लिएको पोखरेलले बताउनुभयो ।

कोरोना महामारीको समयमा बाँझो जग्गामा फलफूलका बिरुवा लगाउने किसानलाई प्रतिरोपनी तीन हजार, अन्नबाली लगाउने किसानलाई प्रति रोपनी चार हजारका दरले गाउँपालिकाले अनुदान दिएको थियो ।


गाउँपालिका भित्र रहेको बाँझो जग्गालाई सदुपयोग गरी उत्पादनसँग जोडनका लागि आफूले सो नीति लिएको पोखरेलको दाबी छ ।  कोरोना महामारीको समयमा सिधै अनुदान दिनुभन्दा  कामसँगै उत्पादनलाई प्राथमिकतामा राखेर अनुदान प्रदान गर्दा बाँझो जग्गामा पनि खेती हुने र किसानलाई फाइदा हुने गाउँपालिकाले जनाएको छ ।

हालसम्म बाँझो जग्गालाई फलफूल र अन्नबाली लगाउने किसानहरुलाई २९ लाख रुपियाँ अनुदानका रुपमा प्रदान गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

गाउँपालिका भित्रका नागरिकहरुलाई व्यवसायीक रुपमा कृषि र पशुपालनका माध्यमबाट आत्मनिर्भर बनाउन सकिने भन्दै कृषि, पशुपालन र पर्यटनलाई जोड दिएको उहाँको दाबी छ । किसानहरुलाई प्रविधि र सिंचाइलगायतका क्षेत्रहरुमा समेत अनुदान प्रदान गर्दै आएको र यस वर्ष पनि यस्ता कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।