• ९ मंसिर २०८१, आइतबार

एकै परिवारका चारको हत्या

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १६ गते । काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको शव विभत्स अवस्थामा फेला परेको छ ।

सोमबार बिहान श्रीमान दिनेश पाण्डे, श्रीमती सुनीता काप्री पाण्डे, उनका छोरा आशिक र छोरी आशिकाको शव विभत्स अवस्थामा फेला परेको हो ।

बिहान विद्यालयको गाडी लिन आएको बेला कोही पनि बाहिर ननिस्किएपछि घटनाको रहस्य सार्वजनिक भएको हो ।

विद्यालयको गाडीले हर्न बजाउदा बाहिर कोही पनि ननिस्किएपछि छिमेकीले मूल ढोका ढकढक्याए तर कसैले पनि ढोका नखोलेपछि छिमेकीले प्रहरीले खबर गरेका थिए ।

पछि प्रहरी आएर ढोका खोल्दा चारजानको शव विभत्स अवस्थामा फेला परेको छिमेकीले बताएका छन् । प्रहरीले घटनास्थलमा बाहिरी मानिसलाई प्रवेश गर्न दिएका छैन ।


छिमेकीका अनुसार श्रीमान दिनेशले पदमसाल चोकमा मोवाइल पसल सञ्चालन गर्दै आएका थिए । संयुक्त अधिराज्य बेलायत जानको लागि भिसा लगाइसकेकी श्रीमती सुनीताले फेन्सी पलस सञ्चालन गर्दै आएकी थिइन् ।

त्यस्तै, दिनेशले अत्याधिक मादक पदार्थ सेवन गर्ने जानकारी समेत छिमेकीले दिएका छन् ।

प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीको हत्या गरेको र त्यसपछि बच्चा र आफूले हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।