घटना गत जेठ अन्तिम साताको हो, देशकै ठूलो तरकारी बजार कालीमाटीमा मकवानपुरबाट ल्याइएको काउली परीक्षण गर्दा स्वास्थ्यका लागि घातक विषादी भेटियो । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशाला कालीमाटीमा काउली परीक्षण गर्दा विषादी रोकावट दर ९१ प्रतिशत भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ । प्रयोगशालाले काउलीको परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहानको १० बज्नुअघि प्रतिवेदन बुझायो । समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा १० बजे पुुग्दा घातक विषादी भेटिएको अधिकांश काउली उपभोक्ताको भान्सामा पुु-याइ सकिएको थियो । थोरै बाँकी रहेको काउली समितिको नेतृत्वमा नष्ट गरियो । उक्त काउली मकवानपुरबाट बिहानको ३ बजे नै ल्याइएको थियो । तरकारी भान्सामा पुु-याइसकेपछि बल्ल विषादी परीक्षण भएको प्रतिवेदन सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय प्रयोगशालाअन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको स्वयं प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार गर्छन् ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले भन्नुभयो, ‘कालीमाटीमा राति १२ बजेदेखि बिहान ३ बजेसम्म ल्याइएका अधिकांश तरकारी बिहान ६ बजेअघि नै उपभोक्ताको भान्सामा पु-याइन्छ । प्रयोगशालाका कर्मचारीले बिहान ७ देखि ८ बजेबीचमा आएर रहलपहल तरकारीको परीक्षण गर्नुको अर्थ हुन्छ र !’ कागजमा काम देखाउन गरिने यस कार्यको कुुनै फाइदा नहुने भन्दै उहाँले भन्नुभयो, “साँच्चिकै उपभोक्तालाई विषादीरहित तरकारी उपभोग गराउन प्रयोगशाला राखिएको हो भने राति नै आएर परीक्षण गर्नुप-यो । विषादी भेटिए बजार लैजानुअघि नष्ट गर्नुप-यो ।”
कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले पनि हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको कुनै प्रभावकारिता नभएको दाबी गर्नुुभयो । राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पु-याउन थालिन्छ । प्रयोगशालाका कर्मचारी ८ बजे आएर नबिकेका तरकारीको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही हुँदैन । उहाँले प्रश्न गर्दै भन्नुभयो, “बजारबाट लगिएका तरकारी ८ बजेसम्म भान्सामा पाकेर उपभोक्ताले खाइसक्छन् । उपभोग गरिसकेको तरकारीमा खान नहुने विषादी भेटियो भनेर प्रतिवेदन दिएर केही अर्थ छ ?”
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख सावित्री बराल प्रयोगशालामा काम गर्ने कर्मचारीको सुरक्षाको सुनिश्चितता भए हामीलाई राति प्रयोगशाला सञ्चालन गर्न कुनै समस्या हुँदैन भन्नुहुन्छ “हामीले राति आएर परीक्षण गरेर दिएको प्रतिवेदनअनुसार तरकारी नष्ट हुन्छ कि हुँदैन, त्यो पनि सुनिश्चित हुनुपर्ला नि”, उहाँले थप्नुभयो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ राति प्रयोगशाला सञ्चालन भएमा तरकारी नष्ट गर्नका लागि हामीलाई कुनै समस्या हुँदैन भन्नुुहुन्छ । बजारमा सुरक्षागार्डदेखि कर्मचारी साथीहरू रातिदेखि काम गरिरहेका हुन्छन् । प्रयोगशालामा काम गर्ने कर्मचारीलाई यहाँभित्र आएपछि असुरक्षा नहुने उहाँको भनाइ छ । कालीमाटी प्रयोगशालामा कार्यरत कृषि प्राविधिक अस्मिता आचार्यको अनुभवमा तरकारी परीक्षणका लागि नमुना लिनसमेत समस्या छ । उहाँले भन्नुभयो, “केहीलाई छाडेर अधिकांश व्यापारीलाई नमुना दिन पनि असाध्यै गाह्रो हुन्छ । विषादी देखिए तरकारी नष्ट गर्नुुपर्ने हो कि भन्ने चिन्ता उहाँहरूमा देखिन्छ ।”
उपत्यका भित्रिने तरकारीमध्ये गोलभेंडा, काउली, बोडी, भेडेखुर्सानी, फर्सी, सिमीमा विषादीको अवशेष ज्यादा देखिने गरेको छ । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार कालीमाटी फलफूल तथा तरकारी बजारस्थित विषादी अवशेष द्रुत विश्लेषण एकाइमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ८८३ वटा नमुना परीक्षण गर्दा ४६ वटामा खान नहुने विषादीको अवशेष भेटिएको छ । यो विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी रहेको थियो । यस्तै यही अवधिमा २९ वटामा केही दिन पर्खेर पुनःपरीक्षणमा खान मिल्ने विषादीको अवशेष भेटियो । यस प्रकारको विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत हो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ । त्यसो त एकाइ सञ्चालनमा आएको पहिलो वर्ष पहिलो महिनामा परीक्षण भएका १८७ नमुनामध्ये २६ वटा तरकारीमा खान नमिल्ने विषादीको अवशेष देखिएको थियो ।
एकाइले सुरुमा कीटनाशक अर्गायानो–फोस्फेट र कार्बामेट्स मात्रै परीक्षण गर्दै आएको थियो । एकाइले यो वर्षदेखि सिन्थेटिक पाइथोराइड कीटनाशक र ट्राइथाइट कार्बामेट ढुसीनाशक गरी दुुई समूहका विषादीको परीक्षण सुरु गरेको छ । कालीमाटीमा चार/पाँच महिनादेखि र केन्द्रअन्तर्गतका अन्य प्रयोगशालामा चालू आर्थिक वर्षबाट परीक्षण सुुरु भएको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत बिर्तामोड, बुटवल, पोखरा, सर्लाही, नेपालगञ्ज र अत्तरियामा पनि परीक्षण कक्ष सञ्चालनमा ल्याइएको छ । नेपालमा हाल यीबाहेकका विषादी प्रयोग भएमा ती प्रयोगशालाले पत्ता लगाउन सक्दैनन् । नेपालमा हाल १६५ प्रकारका विषादी दर्ता भएर प्रयोगमा छन् ।
तत्कालीन मुख्य सचिव लीलामणि पौडेलको पहलमा २०७१ सालको असार अन्तिम साता कालीमाटी तरकारी बजारमा द्रुत विषादी परीक्षण प्रयोगशाला स्थापना गरियो । तरकारीमा बढ्दो रासायनिक विषादीको प्रयोगलाई कम गर्ने उद्देश्यका साथ कालीमाटी तरकारी बजारसहित देशका सात स्थानमा प्रयोगशाला सञ्चालन गरेर परीक्षण हुँदै आएको छ । हाल केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत देशभर सात वटा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत १५ वटा प्रयोगशालाले विषादी परीक्षण गर्दै आएका छन् । यी प्रयोगशालाबाट सीमित जनशक्तिबाट नमुना सङ्कलन गरेर परीक्षण गर्ने काम भइरहेको छ । बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले केन्द्रीय प्रयोगशालाअन्तर्गतका प्रयोगशालाले हाल गर्दै आएको विषादी समूहको परीक्षण प्रविधि समयानुकूल छैन भन्नुभयो । भारत र नेपालमा डेढ दशकदेखि प्रतिबन्धित कीटनाशक अर्गायानो–फोस्फेट र कार्बामेट्स समूहको विषादी परीक्षण गरेको प्रतिवेदन निकालेर विषादीरहित तरकारी भनेर उपभोक्तालाई झुक्याउने काम गर्न नहुने उहाँको भनाइ छ । यो वर्षदेखि सिन्थेटिक पाइथोराइड र ट्राइथाइट कार्बामेट दुई समूहका विषादीको परीक्षण थप गरेसँगै नेपालमा रजिष्टर भएर भित्रिने अन्य विषादीको पनि परीक्षणको प्रविधि भिœयाउन उहाँले सुझाव दिनुभयो ।
आयातमा १४ गुणा वृद्धि
प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा हाल १६५ प्रकारका विषादी दर्ता भएर प्रयोगमा रहेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा ७८३ मेट्रिक टन रासायनिक विषादी भित्रिएको छ । आर्थिक वर्ष २०७७/७८ मा ६६३ मेट्रिक टन रासायनिक विषादी भित्रिएको थियो । यसले पनि विषादीको माग बर्सेनि बढेको पुष्टि हुन्छ । आर्थिक वर्ष २०५४/५५ मा नेपालमा जम्मा ५६ मेट्रिक टन रासायनिक विषादी भित्रिएकोमा आर्थिक वर्ष २०७८/७९ मा झन्डै १४ गुणा बढेर ७८३ मेट्रिक टन पुग्यो । केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंका अनुसार देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको छ । विषादीको जथाभावी प्रयोग चाहिँ निकै जोखिमपूर्ण र चिन्ताजनक रहेकाले यसको प्रयोगमा सरोकारवाला सचेत हुनुपर्नेमा उहाँको जोड छ । नेपालमा विषादीको औषत प्रयोग विदेशको तुलनामा बढी होइन तर आएको विषादीको ८५ प्रतिशत तरकारी र फलफूल बालीमा मात्रै प्रयोग हुनु चिन्ताको विषय हो ।
केन्द्रीय कृषि प्रयोगशालाका निर्देशक सावित्री बरालले नेपालमा रासायनिक विषादीको खपत दरभन्दा पनि प्रयोग विधि आत्तिनुपर्ने किसिमको छ भन्नुभयो । विकसित देशको तुलनामा हामीकहाँ कृषि बालीमा विषादीको प्रयोग न्यून भए पनि प्रयोग विधिले जोखिम बढाएको उहाँको अनुभव छ ।
नेपालमा हाल भित्रिएको रसायनिक विषादी प्रतिहेक्टर ३९६ ग्राममा मात्रै प्रयोग हुन्छ जुन अन्य देशको तुलनामा असाध्यै कम हो । जबकी माल्टामा प्रतिहेक्टर १६ केजी ७७ ग्राम रासायनिक विषादीको प्रयोग भएको पाइन्छ । यस्तै कोरियामा प्रतिहेक्टर १४ दशमलव ७४ ग्राम, जापानमा १४ दशमलव १८ ग्राम, चीनमा १० दशमलव ४५ ग्राम, अमेरिकामा तीन केजी ८८६ ग्राम रहेको छ । भारतमा प्रतिहेक्टर २६१ ग्राम विषादी प्रयोग भइरहेको छ । आँकडाले नेपालको विषादी प्रयोग न्यून देखाउँछ । अझ हिमाली र अधिकांश पहाडी क्षेत्रमा विषादीको प्रयोग शून्यजस्तै छ । तराई र काठमाडौँ उपत्यका वरपरका व्यावसायिक तरकारी खेती गरिने स्थानमा भने जथाभावी रूपमा विषादीको प्रयोग भइरहेको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख बरालले बताउनुभयो । केन्द्रका अनुसार तरकारी बालीमा देशभर औसतमा एक हजार छ सय ग्राम प्रतिहेक्टर विषादी प्रयोग भइरहेको छ । उपत्यका वरिपरि काउली, बन्दा, गोलभेंडा, सिमी, फर्सीलगायत तरकारीमा प्रतिहेक्टर सात केजीसम्म विषादी प्रयोग भएको पाइएको छ । यो अध्ययन छ/सात वर्षअघिको हो । आयात हेर्दा हाल यो परिणाम अझै बढेको अनुमान गरिएको छ तर अध्ययन भने भएको छैन ।
अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष करिब २० लाख मेट्रिक टन विषादीको खपत हुने गरेको छ । जसमा ४७ दशमलव ५५ झारनाशक, २९ दशमलव ५५ कीटनाशक, १७ दशमलव ५५ ढुसीनाशक र पाँच दशमलव ५५ अन्य पर्दछन् । बर्सेनि विश्वमा करिब दुई करोड ६० लाख मानिसमा विषादीको असर पर्ने र २२ लाख मानिसका मृत्यु हुने गरेको छ । विश्वका विभिन्न देशमा म्याद नाघेका करिब पाँच लाख मेट्रिकटन विषादी रहेको अनुमान छ । म्याद नाघेका विषादीको विसर्जन गर्न तीन हजारदेखि पाँच हजारसम्म अमेरिकी डलर प्रतिमेट्रिक टन लाग्छ ।
स्वास्थ्यमा पर्ने असर
कीटनाशक विषादीमा हजारभन्दा धेरै प्रकारका रसायन प्रयोग गर्ने गरिन्छ । कीटनाशकमा प्रयोग हुने अग्र्यानोफोस्फेट र कार्बामेटस्ले अल्जाइमरलगायत मस्तिष्कसम्बन्धी रोगको जोखिम बढाउने एक अध्ययनमा उल्लेख छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले केही वर्षअघि बालबालिकामा गरिएको अध्ययनमा अग्र्यानोफोस्फेट र कार्बामेटस् नामक कीटनाशक विषादीले बालबालिकामा दमको उच्च जोखिम हुने उल्लेख छ । विषादी प्रभावित क्षेत्रका चार हजार बालबालिकामा अध्ययन गर्दा यस्तो पाइएको हो । नेपालमा कृषि मन्त्रालयअन्तर्गत साविकको बाली संरक्षण निर्देशनालयको अध्ययनअनुसार कीटनाशक विषादीको प्रयोगले प्रजनन स्वास्थ्यमा पनि धेरै नै नकारात्मक असर पार्ने गर्छ । सो अध्ययनमा विषादीको प्रयोगले बाँझोपनको जोखिम उच्च दरमा वृद्धि, गर्भावस्थाको समयमा विषादीको प्रयोगले नवजात शिशुमा इस्पाइना बाइफिडा, क्लेफ्टलिप, क्लबफुट र डाउन्स सिन्ड्रमजस्ता रोगको समस्या देखिने उल्लेख छ ।
अन्तर्राष्ट्रिय स्तरमा रासायनिक विषादीविरुद्ध अभियान सञ्चालन गर्दै आएको संस्था पानका अनुसार विश्वमा हरेक वर्ष चार करोड मानिसमा विषादीले कतै न कतै कुनै न कुनै असर गरेको अनुमान छ भने विश्वमा विषादीकै कारणले तीन लाख ५५ हजार मासिनको मृत्यु हुने गरेको छ । जसमा सबैभन्दा धेरै महिला र बालबालिका रहेका छन् । पानका अनुसार प्रतिदिन सात सय जना व्यक्ति विषादी प्रयोग गर्न नजानेर विषादी प्रयोग गरेका खानेकुरा खाएर मृत्यु हुने गरेको छ । आत्महत्यामा ३१ प्रतिशत विषादीकै प्रयोग हुने गरेको छ । कृषि वस्तु उत्पादन र उत्पादकत्व वृद्धिका लागि रासायनिक विषादीलाई महìवपूर्ण मानिए पनि त्यसको सुरक्षित प्रयोग, भण्डारण, नगरिँदा जनस्वास्थ्य र वातावरणमा गम्भीर असर परेको सम्बन्धित विज्ञहरू बताउँछन् ।
स्वास्थ्य अनुसन्धान परिषद्का डा. प्रदीप ज्ञवालीको विचारमा तरकारी तथा फलफूलमा जथाभावी प्रयोग भएका रासायनिक विषादीले जनस्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने गर्छ जसको प्रभाव कुनैको तुरुन्तै र कुनैको दीर्घकालसम्म पर्न सक्छ । परिषद्ले नेपालमा तरकारी तथा फलफूल उत्पादनमा प्रयोग गरिने विविध प्रकारका विषादीको असरका बारेमा गहिरो गरी अध्ययन गर्न भने सकेको छैन । अत्यधिक विषादी प्रयोग भएको तरकारी खाँदा मानिसलाई टाउको दुख्ने, आँखा पोल्ने, वाक्वाक् लाग्ने, शरीर थरथरी काप्ने, ज्वरो आउने, अल्छी लाग्नेजस्ता लक्षण देखिने चिकित्सकहरू बताउँछन् । विषादीको सम्पर्कमा धेरै आउनेहरूलाई क्यान्सरजस्तो रोग लाग्ने गरेको पनि विभिन्न अध्ययनले देखाएको छ । जर्नल अफ एग्रिकल्चर एण्ड फुड रसायनका विषयमा केही वर्षअघि कृषि विश्वविद्यालयले गरेको अध्ययनअनुसार विषादी प्रयोग भएको तरकारी वा फलफूलमा तरकारीलाई पकाउनुअघि बेकिङ सोडा, नुन, कागतीको रस, भिने गरेको प्रयोगले विषादीको असरबाट केही हदसम्म बच्न सकिन्छ । यीमध्ये पनि तरकारी र फलफलमा विषादी कम गर्न सबैभन्दा बढी उपयोगी बेकिङ सोडा हुने उल्लेख छ । बेकिङ सोडा प्रयोग भएको पानीमा १२/१५ मिनेटसम्म फलफूल/तरकारी धुनाले कतिपय रसायनलाई हटाउने अध्ययनमा उल्लेख छ ।
विकल्प प्राङ्गारिक विषादी
रासायनिक विषादीको प्रयोगलाई क्रमशः यथाशक्य विस्थापनको विकल्प प्राङ्गारिक खेती र जैविक विषादीको प्रयोग नै हो । पछिल्लो समय प्राङ्गारिक (अर्गानिक) कृषि उपजतर्फ उपभोक्ताको माग बढेसँगै कृषकले पनि अर्गानिक खेतीतर्फ ध्यान दिन विलम्ब गर्नुहुँदैन । अर्गानिक कृषि उपजको मूल्य पनि आकर्षक भएकोले त्यसतर्फ सरकार र सरोकार पक्षको ध्यान जान पर्छ । अहिले यदाकदा स्थानीय सरकारले अर्गानिक खेतीलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याएको छ । स्थानीयस्तरमा जैविक विषादीको रूपमा नीम, बाबरी, तीतेपाती, कपुर, टिम्बुर, बकाइनो, खिर्रो, केत्तुकी, असूरो आदि जडीबुटीलगायत गाईभैँसीको गहुँत तथा खरानी समेतको प्रयोगले बालीनाली र बीउ जोगाउने अभ्यास र अनुभवलाई प्रयोग गर्न प्रोत्साहित गर्नु बुद्धिमानी ठहर्छ ।
कानुनी व्यवस्था
नेपालको संविधान र प्रचलित कानुनले स्वस्थ जीवन र स्वस्थकर खाना खान पाउनु सबैको अधिकार हो । संविधानले स्वस्थ जीवन जिउन पाउनु र स्वस्थकर खाना पाउनुपर्ने विषय मौलिक अधिकारको रूपमा स्वीकारेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७७ मा मानव जिउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पु-याउने वस्तु वा सेवाको बिक्रीबाट सुरक्षित हुन पाउने अधिकार उल्लेख गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ ले खाद्य पदार्थमा मिसावटलाई अपराध मानेको छ । कानुुनअनुसार सर्वसाधारणले खाने पिउने वा सेवन गर्ने पदार्थमा अखाद्य हानिकारक कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरी उत्पादन, अखाद्य पदार्थ बिक्रीवितरण तथा वस्तु पैठारी गरेमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ ले स्वास्थ्यमा हानि हुने गरी रसायन रङ वा सुगन्ध प्रयोग गरिएको उपभोग्य वस्तुलाई गुणस्तरहीन वस्तु मानेको छ । सोही ऐनमै कुनै वस्तु उपभोग गर्दा उपभोक्तालाई हानि/नोक्सानी वा क्षति पुग्ने गरी विषादी वा कुनै रसायनको प्रयोग गर्ने वा त्यसरी प्रयोग गरिएको वस्तु बिक्री गर्ने कार्यलाई निषेधित गरेको छ । पछिल्लो समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०७६ असार २ गते राजपत्रमा प्रकाशित सूचनाले विषादीयुक्त खाद्यवस्तु आयातमा कडाइ गर्ने नीति लिएको थियो । विषादीको अव्यावहारिक र अवैज्ञानिक प्रयोगको कारण किसान र उपभोक्ता सबैलाई नकारात्मक असर पारेको छ ।
विषादीको विकासक्रम
आधुनिक रासायनिक विषादीको प्रयोग सन् १९३९ मा स्वीस रसायनशास्त्री डा. पाउल मुलरलले डीडीटीमा कीटनाशक गुण पत्तालगाएपछि सुरु भएको हो । जुन झिँगा र लामखुट्टेको नियन्त्रणमा निकै प्रभावकारी पनि ठहरियो । औलो आदि रोगको नियन्त्रण गरी लाखौँ मानिसको ज्यान पनि जोगियो । यसकै कारण मुलरलले नोबेल पुरस्कारसमेत प्राप्त गर्नुभयो । डीडीटीको आविस्कारसँगै अरू आधुनिक विषादीको पनि क्रमशः आविष्कार र प्रयोग हुँदै गयो । फलस्वरूप सन् १९५० देखि १९७० को दशकसम्ममा अन्य अर्गानोक्लोरिन्स कम्पाउन्ड, अर्गानोफोस्फेट कम्पाउण्ड, कार्वामेटस् र सिन्थेटिक पाइरेथ्रोआइड विषादीको आविष्कार भयो ।
नेपालमा पहिलो पटक सन् १९५२ मा औलो रोग नियन्त्रणको लागि डिडिटी आयात गरिएको थियो । सन् १९५५ मा पुनःसोही प्रयोजनका लागि डिडीटी आयात भयो । बालीमा प्रयोग गर्न १९५६ मा डिडिटी आयात गरियो । पहिलो विषादी उत्पादन गर्ने कारखाना भने सन् १९७७ मा कपिलवस्तुमा स्थापना भयो ।