• ८ मंसिर २०८१, शनिबार

मङ्कीपक्स भित्रिन नदिन सरकारले थाल्यो तयारी

blog

फाइल तस्विर

काठमाडौं, साउन १३ गते । प्रायः मध्य तथा पश्चिम अफ्रिकी देशहरुमा मात्र हुनेगरेको मङ्कीपक्स हाल यसको प्रकोप विश्वका धेरै देशमा द्रुत गतिले फैलिरहेको छ । सन् २०२२ मे १३ पछि यो संक्रमण अन्य देशहरुमा फैलियो । विभिन्न देशमा जनस्वास्थ्यको जोखिम बढ्दै गएपछि साउन ७ गते विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गर्‍यो ।  

डब्लुएचओका अनुसार मङ्कीपक्स विश्वका ७५ देशका १६ हजारमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले नेपालमा अहिलेसम्म मङ्कीपक्सका बिरामी पुष्टि नभएको जानकारी दिनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले नेपालमा अहिलेसम्म मङ्कीपक्सका बिरामी पुष्टि नभएको जानकारी दिनुभयो । 

उहाँका अनुसार विगतमा दुई जनामा मङ्कीपक्सको आशंका गरिएको थियो, तर उहाँहरुको परीक्षण गर्दा एक जनामा ठेउला र अर्कोमा कुष्ठरोग पुष्टि भएको थियो । 

नेपालमा अहिलेसम्म मङ्कीपक्स संक्रमण पृष्टि नभए पनि विश्वमा द्रुत गतिमा फैलिरहेकाले मन्त्रालय त्यसमा सचेत रहेको डा. अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा मङ्कीपक्स पृष्टि भएको छैन, तर पनि मन्त्रालय सचेत छ । रोग भित्रिन नदिन विदेशबाट आउने नागरिकलाई लक्ष्यित गरी विभिन्न १४ नाकामा हेल्थडेक्सको स्थापना गरिएको छ ।” 

त्यसकासाथै सबै प्रदेशमा मङ्कीपक्सको शंका लागेमा परामर्श गर्न इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले १४ जना यौन तथा छाला रोग विशेषज्ञलाई फोकल पर्सन तोकेको उहाँले जानकारी दिनुभयो । 

रोग भित्रिन नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गर्नुहुँदै डा. अधिकारीले भन्नुभयो, “शंका लागेमा हेल्थडेक्समा तत्काल सम्पर्क गर्नुहोला ।” 

के हो मङ्कीपक्स ?

‘मङ्कीपक्स भाइरस’ कुनै नौलो भाइरस होइन । यो भाइरस पहिलो पटक सन् १९८५ मा अनुसन्धानमा राखिएका बाँदरमा देखिएको थियो । मानिसमा भने यो भाइरस पहिलो पटक १९७० मा पुष्टि भएको थियो । नाइजेरियाबाट सिङ्गापुर आएका व्यक्तिमा सन् २०१९ मा मङ्कीपक्स भाइरस देखिएको थियो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मङ्कीपक्स  भाइरस भएका बाँदर, मुसालगायतका जनावरबाट मानिसमा फैलिने संक्रामक रोग भएको बताउनुभयो ।  

नेपालमा मङ्कीपक्स पृष्टि भएको छैन, तर पनि मन्त्रालय सचेत छ । रोग भित्रिन नदिन विदेशबाट आउने नागरिकलाई लक्ष्यित गरी विभिन्न १४ नाकामा हेल्थडेक्सको स्थापना गरिएको छ ।

उहाँका अनुसार यो भाइरस दुई प्रकारका हुन्छन् । उहाँ भन्नुहुन्छ, “मध्य अफ्रिकी देशमा देखिएको भाइरस पश्चिमी अफ्रिकामा देखिएको भाइरसभन्दा घातक हुन्छ । जुन जिवाणुबाट १० प्रतिशत संक्रमितको मृत्यु हुनसक्छ । पश्चिम अफ्रिकामा देखिएको भाइरसको भने एक प्रतिशत मृत्यु हुनेगरेको देखिएको छ । अहिले फैलिएको मङ्कीपक्स भाइरस पश्चिमी अफ्रिकामा देखिएको भाइरस भनेर अध्ययनहरुले देखाएका छन् ।” 

लक्षणहरु

चिकित्सका अनुसार अनुहार हात, गोडा, आँखा, मुख तथा यौनाङ्गमा बिबिरा आउनु, लिक्फ नोडहरु सुन्निनु टाउको दुख्नु, मांसपेशी तथा ढाड दुख्नु, ज्वरो आउनु, शिथिल महसुस हुनु यसका मुख्य लक्षणहरु हुन । 

डा. पुनका अनुसार ज्वरो आएको एकदेखि तीन दिनपछि छालामा दाग देखिने, अनुहार, हत्केला र पैताला, शरीरमा पानीको फोकाजस्ता बिबिरा देखिने गर्छ । साथै बिस्तारै पानीको फोकाजस्तो आउने र ती फोका चिलाउने र दुख्ने, परिवर्तन हुने र फुट्ने तथा बिस्तारै सुकेर निस्कने गर्दछ । 

बच्ने उपाए

घाउ १४ दिनदेखि २१ दिनसम्म रहने र सामान्यतया आफै हराउने चिकित्सकहरु बताउँछन् । यो भाइरस धेरै मानिसमा उपचार विना नै केही हप्ताभित्र निको हुनेगर्छ । शरीरमा आएका बिबिराहरुमा खाटा बसेर नयाँ छाला नआएसम्म अन्य व्यक्तिसँग प्रत्यक्ष सम्पर्क र कुनै पनि यौनजन्य क्रियाकलापबाट टाढै रहन चिकित्सको सुझाव छ  । 

मङ्कीपक्स नवजात शिशुहरु, बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा यो भाइरस बढी जोखिम हुने डा. पुन बताउनुहुन्छ । उहाँका अनुसार अहिलेसम्म यो रोगको कुनै उपचार पत्ता नलागेकाले यसको नियन्त्रण, रोकथाम र यसबाट बच्ने र सुरक्षाका उपायहरु अपनाउनु नै जरुरी हुन्छ । 

मङ्कीपक्स शंका वा पुष्टि भएका व्यक्तिमा प्रत्यक्ष सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई अलग्गै राख्ने र छालाको घाउ छोपेर राख्ने, संक्रमित व्यक्ति र हेरचाहमा खटिने व्यक्तिले माक्स लगाउने, घाउ छुँदा, प्रत्यक्ष सम्पर्क हुँदा पन्जाको प्रयोग गर्ने, नियमित रुपमा साबुनपानीले हात धुन डा. पुनले सुझाव दिनुभयो । संक्रमित भएका व्यक्तिले प्रयोग गरेका भाँडा, कपडा राम्ररी साबुनपानीले धुन पनि उहाँले सुझाउनुभयो ।  

मङ्कीपक्सका लक्षणहरु कहिलेकाहीँ योनाङ्गका साथै मुखमा पनि देखा पर्न सक्छन् । यही कारणले गर्दा सङ्कमितसँग यौनसम्बन्ध राख्दा अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै हुने चिकित्सकहरुको भनाइ छ । मुख र छालाको सम्पर्क पनि सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । 

रोग फैलिन नदिन के गर्ने 

यो भाइरस सर्न नदिन संक्रमितको सम्पर्कमा आएको स्थान निसंक्रमण गर्ने र फोहोरलाई उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । मङ्कीपक्स भाइरससँग कोभिड–१९ झैं डराउनुपर्ने अवस्था नभएको डा. पुनको भनाइ छ । तर यो रोग फैलिएका देशबाट फर्किएका मानिसहरु क्वारेन्टाइनमा बस्ने र २१ दिनभित्रमा लक्षण देखिएमा चिकित्सकको सल्लाह लिन डा. पुनले सुझाव दिनुभयो । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।