• १५ असार २०८१, शनिबार

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम

blog

सर्लाही, साउन ११ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा पहिलो पटक अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भएको छ । 

गाउँपालिका–८ स्थित औरहीमा रहेको जनता माध्यमिक विद्यालयमा बाल विकास कक्षाबाट अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरिएको हो । विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमकै अवसर पारेर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बाल विकासका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमको पुस्तक वितरण गर्दै सो अभियानको शुभारम्भ गर्नुभएको हो ।

पालिकाका नवनिर्वाचित जनप्रतिनिधि, अभिभावक र विद्यार्थीको उपस्थितिमा अङ्ग्रेजी माध्यमको पठनपाठन कार्य शुभारम्भ गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त रायले जानकारी दिनुभयो । चुनावी घोषणापत्रमा उल्लेख गरेअनुसार आफूले बालविकास कक्षादेखि पालिकाका सम्पूर्ण विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गराएको गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभएको छ । 

पहिलो वर्ष बाल विकासदेखि सुरु गरिएको र अगामीदेखि एक/एक कक्षा थप्दै लैजाने यादवले बताउनुभयो । शिक्षा क्षेत्रमा देखिएका कमी कमजोरीलाई क्रमिक रूपमा सुधार गर्दै लैजाने योजनानुसार पहिलो काम अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो । 

बिस्तारै पालिकामा देखिएको शिक्षक अभाव, भौतिक संरचनाको निर्माण, विद्यार्थी भर्नालगायतका कामलाई पनि अगाडि बढाइने गाउँपालिका अध्यक्ष यादवले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । गाउँपालिकाको यो अभियानले शिक्षा क्षेत्रमा सुधार हुने अपेक्षा आफूहरूको रहेको चक्रघट्टाका स्थानीय हरिनारायण रायले बताउनुभयो ।