• १३ साउन २०८१, आइतबार

शैक्षिक बेरोजगारी अन्त्य नभएसम्म विकास सम्भव छैन : मन्त्री कार्की

blog

काभ्रेको बेथानचोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभामा बोल्नु हुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की। तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, साउन १० गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षित बेरोजगारीको अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएको बताउनुभएको छ। काभ्रेको बेथानचोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्यापसको प्रथम क्याम्पस सभामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

 मन्त्री कार्कीले प्रमुख चुनौतीको रुपमा रहेको शैक्षिक बेरोजगारीको अन्त्यका लागि शिक्षामा भएका विश्वव्यापी विकासलाई आत्मसात गर्दै मुलुकको शिक्षा प्रणाली पनि सोही अनुसार अघि बढाउनुपर्ने बताउनुभयो।

 कार्यक्रममा बोल्नुहुँदै मन्त्री कार्कीले शिक्षालाई बदलिँदो परिस्थिति अनुसार निर्माण र त्यस दिशातर्फ अघि बढाउन नसकिएको बताउँदै शिक्षा प्रमाण–पत्र प्राप्त गर्ने माध्यम मात्रै बनेको बताउनुभयो।

 मन्त्री कार्कीले विद्यार्थीले प्राप्त गरेको प्रमाणपत्र उसको, परिवार र समाजको लागि उपयोगी हुन नसकेको खण्डमा त्यो केवल कागजको रुपमा मात्रै परिणत हुने दाबी गर्नुभयो। उहाँले शिक्षा नै सभ्यताको जननी भएको बताउँदै शिक्षाको प्रार्दुभाव नहुने हो भने हामी सभ्य, सुन्दर र स्थानीय समाज निर्माण गर्न नसक्ने बताउनुभयो। उहाँले शिक्षा पहिलो प्राथमिकता भएको बताउँदै बत्तीले अन्धकारलाई दुर गरेजस्तै शिक्षाले समाजमा रहेको अन्धकारलाई दूर गर्ने बताउनुभयो। 

मुलुकमा दुई किसिमको शिक्षा भएको बताउँदै एउटा शिक्षा प्राप्त गर्ने युवा गाउँमा सामान्य शिक्षा लिएर सहर पस्ने, त्यहाँ उसका आकांक्ष पुरा नभएपछि देश छोडेर खाडी देशमा जाने र त्यहाँबाट उसले पठाएको रेमिट्यान्सले देश चल्दै आएको बताउनुभयो। 

उहाँले देशमा काम गरेर मासिक डेढ, दुई लाख रुपैयाँ कमाउने जनशक्ति उत्पादनतर्फ सरकारका काम अघि बढ्नुपर्ने बताउनुभयो। मन्त्री कार्कीले देशमा सूचना प्रविधिको अध्ययन गर्नतर्फ युवालाई आकर्षित गर्न सरकारले अवसर प्रदान गरेको खण्डमा देशको शैक्षिक बेरोजगारीको समस्या समाधान हुने बताउनुभयो। 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, पार्वती बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष परशु घिमिरेलगायतले पार्वती बहुमुखी क्याम्पसले बेथानचोक तथा जिल्लाको दक्षिणी क्षेत्रको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो।