• २८ पुस २०८१, आइतबार

साफ यू–२० च्याम्पियनसिप : नेपाल र श्रीलङ्काको खेल बुधबार

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन १० गते । साफ यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले बुधबार (भोली) श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरमा सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोलको जित निकालेको नेपाली युवा टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । 

नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले पहिलो जितले खेलाडीमा हौसला मिलेको बताउनुभयो । हामी राम्रो तयारी गरेर भारत आएका छौं । हरेक खेलमा राम्रो गर्दै उपाधि जित्न चाहन्छौं,’ माल्दिभ्ससँगको खेलपछि केसीले भन्नुभयो । 

केसीले श्रीलङ्कासँग आत्मविश्वासका साथ जितका लागि खेल्ने पनि बताउनुभएको छ । आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश सहभागी च्याम्पियनसिपमा नेपालले तेस्रो खेल आइतबार भारतसँग र चौथो खेल आउने मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ । राउन्ड रोबिन लिगमा आधारमा खेलाईएको च्याम्पियनसिपको शीर्ष दुई टोलीबीच साउन २० गते उपाधि भिडन्त हुनेछ । 

साफ यू–२० च्याम्पियनसिप पहिलो पटक आयोजना भएको हो । साफले यस च्याम्पियनसिपलाई एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारी प्रतियोगिताको रुपमा पनि लिएको छ । 

नेपाल  एसियन कप छनोटको समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बङ्गलादेश छन् । छनोट खेल सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ । समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउनेछन् ।