• ५ वैशाख २०८३, शनिबार

मैत्री पुल सञ्चालनबारे नेपाललाई पत्राचार

blog

हिल्सामा चीनले निर्माण गरेको मैत्री पुल । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, वैशाख ५ गते । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण भएको मैत्री पुलबारे छलफल गर्न चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । पुल निर्माण पूरा भएकाले त्यसको अवस्थाबारे जानकारी गराउने र सञ्चालनमा ल्याउनका लागि चिनियाँ पक्षले नेपाली पक्षलाई पत्राचार गरेको हो । चीनको पुराङ काउन्टीको ताक्लाकोटबाट दुई देशको सिमाना हिल्सामा निर्माण भए पनि सञ्चालनमा आउन नसकेको मैत्री पुलबारे छलफलका लागि चिनियाँ पक्षले नेपाललाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताउनुभयो । गत मङ्सिरमा उक्त पुलको निर्माण पूरा भए पनि सञ्चालनमा आउन सकेको छैन । 

निर्माण भएर पनि सञ्चालनमा नआएका कारण पुलबारे जानकारी गराउने र अब प्रयोगमा ल्याउनका लागि चीनले जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्राचार गरेको जानकारी उहाँले दिनुभयो । पत्रमा चीनले आफ्नातर्फबाट आगामी वैशाख १० गते बिहीबारका दिन छलफल गर्न सकिने समय तोकेको भए पनि नेपाली पक्षलाई आफ्नो समय मिलाउन आग्रह गरिएको छ । सो पत्रका सम्बन्धमा हाल काठमाडौँमा रहेका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले गृह मन्त्रालयमा छलफल गरेपछि आफ्नातर्फबाट मिति तोकिने बताउनुभयो । 

हाल नारा लेकमा हिउँ जमेका कारण यातायात सेवा बन्द रहेकाले छलफल केही पछि सर्न सक्ने उहाँको भनाइ छ । हिउँ फाल्न सकिने समय मिलाएर हिल्सामा छलफलमा जान सकिने उहाँले बताउनुभयो । चीनले उक्त पुल छ महिनाअघि नै निर्माण गरेको हो । पुल निर्माण भए पनि सञ्चालनमा नआउँदा हाल चीनको ताक्लाकोट जाने स्थानीयले भारी बोकेर चिनियाँ कस्टमसम्म जानु परेको छ । पुल सञ्चालनमा आएपछि सिधै नेपालबाट यातायातका साधन चीनको ताक्लाकोटसम्म पुग्न सक्ने छन् ।