• १७ असार २०८१, सोमबार

भदौ १ देखि ४० माइक्रोनभन्दा पातलाे प्लास्टिक झोला प्रयाेग बन्द

blog

काठमाडाै‌, साउन १० गते । सरकारले २०७९ भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण रुपमा बन्द गर्ने भएको छ । झोलाको उत्पादन, आयात र बिक्री वितरणमा पूर्ण रोक लगाउने र प्रयोग गरेमा समेत कारबाही गर्ने वातावरण विभागले मंगलबार सूचना प्रकाशन गरी जानकारी गराएको छ । 

विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग नगर्न आग्रहसमेत गरेको छ । सरकारले २०७८ साल असोज १९ मा राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर अहिले पनि बजारमा यस्ता प्लास्टिक झोलाको बिक्री तथा प्रयोग हुँदै आएको छ ।

नीतिगत निर्णय भए पनि कार्यान्वयन फितलो हुँदा प्लाष्टिकका झोला प्रयोगको दर झन् बड्दो रहेको पाइएको छ । ४० माइक्रोनभन्दा पातलो झोलाले वातावरणमा प्रतिकूल प्रभाव पार्ने र जथाभाव फाल्दा खोला तथा नदीमा प्रदूषण बढेको छ । ढल तथा पानीको निकासमा समस्या उत्पन्न गरेको छ । विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ ।

विगतमा कोरोना महामारीका कारण अनुगमन हुन नसकेको तर अब भदौ १ गतेदेखि सरकारको निर्णय कार्यान्वयन गरी अटेरी गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ अनुसार कडा कारबाही गर्ने समेतको चेतावनी विभागले दिएको छ ।



Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।