• ७ जेठ २०८१, सोमबार

निरन्तर श्रमदानमा धरानवासी

blog

धरान समाचारदाता 

धरान, साउन १० गते ।  धरानमा विकास निर्माणका सन्दर्भमा श्रमदानबाट काम गर्ने अभियान बढिरहेको छ। केही समयअगाडि पकुवा खोलामा दुईवटा खानेपानी ट्याङ्कीको निर्माण कार्य पनि श्रमदानबाट नै गरिएको थियो। 

धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईको नेतृत्वमा निशाने खोलामा इन्टेक र करिब अढाई लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण साथै सर्दु खर्दु खोलाबाट नमुना माइक्रो हाइड्रोपावर बनाउने योजना सुरु गरिएसँगै सयौँको सङ्ख्यामा स्थानीयवासी गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, सिमेन्ट, बालुवा, पाइप बोक्नेलगायतका कामहरूमा निरन्तर श्रमदान गरिरहेका छन्। साथै सर्वसाधारणले नै खाजापानीको व्यवस्था गर्ने र लागेको लागत पनि बेहोरिरहेको नगरप्रमुख राईले बताउनुभयो।  

सर्दु खर्दु खोलाबाट नमुना माइक्रो हाइड्रोपावर बनाउने योजनामा पूर्वाञ्चल इन्जिनियर क्याम्पसका विद्यार्थीहरू संलग्न छन्। विद्यार्थीका अनुसार नमुना देखाउनका लागि एक किलोवाटदेखि तीन किलोवाटसम्म बिजुली उत्पादन गर्न सकिने अध्ययनबाट देखिएको छ। विगतमा बन्द कोठामा मात्र प्रयोगात्मक अभ्यास गरिरहेको भन्दै उनीहरूले पढेको ज्ञानलाई ‘फिल्ड’मा नै आएर व्यवहारमा उतार्न पाउँदा धेरै फाइदा पुगेको पनि बताए।  

विद्यार्थी फिल्डमै आएर काम गर्दा ज्ञानको दायरा फराकिलो हुने नगरप्रमुख राईले बताउनुभयो। विद्यार्थीले हाइड्रोपावरसँगै जोडिएका थुप्रै कुराहरूको अध्ययन पनि भइरहेको र धरानमा बिजुली पनि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत हुने विद्यार्थीले बताएका छन् । 

नगरप्रमुख राईले बिदाको समयमा हरेक शुक्रबार ५ बजे से नो टु ड्रग्स (लागूऔषध लिन्न)को अभियान र हरेक शनिबार खोला क्षेत्रमा वृक्षरोपण र खानेपानीका लागि श्रमदान गर्दै आउनुभएको छ। पकुवा खोला, निशाने डाँडा, पञ्चकन्या डाँडामा हालसम्म सयौँ सर्वसाधारणको सहभागितामा विभिन्न प्रजातिका हजारौँ बिरुवा रोपिएको छ।