• १६ भदौ २०८१, आइतबार

कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्छ : महेश बस्नेत

blog

नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेत । तस्बिर : गोरखापत्र

भक्तपुर, साउन ९ गते । नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताउनुभएको छ । सोमबार भक्तपुरको सुर्यविनायकमा बीउ, बिजन विषादी सम्बन्धी ठूलो एग्रोभेट उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कृषि क्षेत्रमा शिक्षित एवम् युवा पुस्ताले लगानी गर्नुपर्ने बताउनुभएको हो ।

नयाँ उद्यमीहरुले लगानी नगरेसम्म कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न नसक्ने बताउनुहुँदै उहाँले कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ७० प्रतिशत  पुर्‍याउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “म के अनुरोध गर्न चाहन्छु भने नयाँ पुस्ता, पढे, लेखेका युवापुस्ता र लगानी गर्नसक्ने नयाँ उद्यमीहरुले कृषि क्षेत्रमा लगानी नगरेसम्म हामीले कृषिलाई कृषि उद्योगको रुपमा परिणत गर्न सक्दैनौं । कृषि उद्योगलाई प्रोत्साहन नगरेसम्म हामी व्यापार घाटा बढाउन सक्दैनौं । ६० प्रतिशत जनताले काम गर्ने क्षेत्रको जम्मा २५ प्रतिशत मात्रै जिडिपीमा योगदान छ । यो हाम्रो लागि घाटा हो ।”

६० प्रतिशत जनताले त्यसमा मेहनत गरेपछि कमसेकम जिडिपीमा त्यसले ७० देखि ८० प्रतिशत योगदान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले कालिमाटीको तरकारी बजार बिस्थापन गर्ने पूर्ववर्ती सरकारको निर्णय हालसम्म कार्यान्वयन हुन नसकेकोप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । कालिमाटीको तरकारी बजारलाई यथास्थितिमा राख्नका लागि चलखेल भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।