• १३ साउन २०८१, आइतबार

उम्मेदवारको छनोट एक डेढ महिना अघि नै हुन्छ : उपसभापति खड्का

blog

नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस उपसभापति खड्का। तस्बिर : विजयकुमार साह

विजयकुमार साह

ढल्केवर, साउन ८ गते। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका दलबीच प्रदेश र प्रतिनिधि सभाको टिकट समयमै व्यवस्थान गरिने बताउनुभएको छ।

आइतबार महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो धारणा राख्नु भएको हो।

उपसभापति खड्काले प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारको चयन एक डेढ महिनाअघि नै टुङ्गो लगाइने बताउनुभयो। उहाँले स्थानीय तहको चुनावका बेला हतारमा टिकट वितरण गरिएकाले गठबन्धनलाई धेरै ठाउँमा क्षति पुगेको चर्चा गर्नुभयो।

उहाँले भन्नुभयो, स्थानीय तहको निर्वाचन परिणामपछि गठबन्धनभित्रका शीर्ष नेताबीच भएको समीक्षा बैठकमा प्राविधिकरुपमा सिट बाँडफाडको निर्णय समयमा नगर्दा क्षति भएको कुरा शीर्ष नेताहरुले  स्वीकार गर्नुभएको छ।

टिकटका आकांक्षी धेरै हुन्छन् र हतारमा टिकट वितरण गर्दा अर्को बिडम्बना आइपर्छ। तसर्थ उम्मेदवार छनोटमा शीर्ष नेताबीच यस्तो छलफल भएको छ। प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति पनि केही दिनमै टुङ्गो लाग्ने उपसभापति खड्काले भन्नुभयो।

पार्टीलाई सुदृढ तुल्याउन पनि कार्यकर्ताबीच समीक्षा बैठक राख्नुपर्छ। समीक्षा बैठक गर्दा कार्यकर्ताबीचको फाटो घट्ने र सङ्गठन बलियो हुने धारणा उहाँले व्यक्त गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीले गरेका राम्रा-राम्रा कामको चर्चा गर्न पार्टीका कार्यकर्ताले कन्जुस्याइँ गरिरहेको बताउनुभयो।

वषौंदेखि रोकिएको नागरिकता समस्या नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले समाधान गरेको बताउनु हुँदै उहाँले ६८ वर्षको उमेरमै वृद्धभत्ता वितरण, क्यान्सर रोगलगायत विभिन्न पाँच किसिमका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने व्यवस्थालाई कन्जुस्याइँ गरिरहेको बताउनु भयो।

नेपाली कांग्रेस अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले राजनीतिमा अनुशासन हुनुपर्ने बताउनुभयो। बिना अनुशासनको राजनीति अगाडि बढ्न नसक्ने भन्नु हुँदै उहाँले भन्नुभयो, समाज र राष्ट्रले असल मानिसलाई सम्झने हुँदा राजनीतिमा अनुशासन र विचार धेरै महत्वपूर्ण छ।

कार्यक्रममा नेपाली कांग्रेसबाट मधेश प्रदेशको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यलाई सम्मान गरिएको थियो।